Logo

राजन थापा निर्देशित ‘जीवाक’ सर्वोत्कृष्ट मगर लघु चलचित्र बन्यो


काठमाडौं, साउन ४ : अनलाइन मगर लघु चलचित्र प्रतियोगिता-२०७७ मा चलचित्र राजन थापा निर्देशित ‘जीवाक’ सर्वोत्कृष्ट बन्न सफल भएको छ।

मगर चलचित्रकर्मी संघद्वारा आयोजित उक्त प्रतियोगितामा सुमन थापा निर्देशित ‘आश्वासन’ले दोस्रो र अशोक आले निर्देशित ‘इमसार’ले तेस्रो स्थान हासिल गरे।

सर्वोकृष्ट चलचित्र ‘जीवाक’ लाई नगद २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । उनका अनुसार ‘आश्वासन’ २० हजार र ‘इमसार’ले १५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

कोभिड १९ को महामारी र लकडाउनको विषम अवस्थामा पनि चलचित्रकर्मीहरुको अध्ययन र सृजनालाई सकृयताका साथ निरन्तरता दिने उदेश्यका साथ अनलाईनबाट भए पनि मगर चलचित्रकर्मी संघले अनलाईन लघु चलचित्र प्रतियोगिता २०७७ आयोजना गरेको मगर चलचित्रकर्मी संघका अध्यक्ष युवराज मास्की मगरले बताए ।

‘जीवाक’ले स्क्रिनप्ले र सम्पादन तथा ‘आश्वासन’ले सिनेमाटोग्राफीमा थप ५/५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको अध्यक्ष मास्कीले जानकारी दिए।

प्रतियोगितामा नेपालबाट राजन थापामगर निर्देशित जीवाक, सुमन थापामगर निर्देशित आश्वासन, अशोक आलेमगर निर्देशित ईमसार, मैत्या घर्तीमगर निर्देशित कुलपुजा, मरिचमान घर्तिमगर निर्देशित पिडा, ज्ञान बहादुर थापामगर निर्देशित साली त भेना कै हो, रमेश राना निर्देशित वाचावन्धन, बसन्त कुमार सिंजालीमगर निर्देशित (के) जापानबाट मिन थापा वाहाली निर्देशित रा, बेलायतबाट विश्वजित थापा निर्देशित अलिखित सहित जम्मा १० वटा चलचित्रहरु सहभागी रहेको थियो ।

कार्यक्रममा विशिष्ठ अतिथि चलचित्र बिकास बोर्डका चलचित्र उत्पादन अधिकृत हरिसिंह रैखोलाले डेढ वर्षयता चलचित्र विकास बोर्ड र आदिवासी चलचित्रसम्बद्ध संघसंस्थाहरूबीच सहकार्य तथा समन्वय हुन नसकेको बताए। मगर संघ भारतका महासचिव विष्णु राना, आदिवासी जनजाति चलचित्र महासंघका अध्यक्ष अमृत सुनुवारले आदिवासी मातृभाषी चलचित्रहरुको महत्व, यसको स्तर र बजार सुधार गर्नुपर्ने आवश्यकताबारे प्रकाश पारे।

महासंघ अध्यक्ष सुनुवारले मगर चलचित्र निर्माण निकै पहिला सुरु भए पनि यसले संख्यात्मक गति लिन नसकेको भन्दै चिन्ता प्रकट गरे। नेपाल मगर संघका महासचिव ज्ञानेन्द्र पुनमगरले चलचित्रकर्मीहरुलाई सिर्जनामा लाग्न र राम्राराम्रा स्क्रिनप्ले लेख्न अनुरोध गर्दै लगानीकर्ताको अभाव भएमा नेपाल मगर संघको तर्फबाट पनि निर्माता खोज्न र बजार प्रवर्धनमा सहयोग गरिने बताए।

नतिजा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रतियोगिताका संयोजकसमेत रहेका मगर चलचित्रकर्मी संघ केन्द्रीय सदस्य तिलबहादुर थापामगर, मगर चलचित्रकी अध्येता अस्मिता श्रीस, मगर चलचित्रका प्रथम नायक राज थापा र वरिष्ठ चलचित्रकर्मी तथा लेखक बिजयरत्न तुलाधर, चलचित्रकर्मी प्रतिमाया पुनमगरले मातृभाषी लघु चलचित्रको महत्वबारे प्रकाश पारेका थिए।

अध्यक्ष मास्कीले कार्यक्रम समापन गर्दै पुरस्कार प्रायोजक छवि थापामगर, लक्ष्मी थापामगर, रीत थापामगर, उज्वल थापामगर, मदन थापामगर, दिलिपकुमार माझी (स्क्रिनप्ले), म्यामराज राई विशेष धन्यवाद दिए। उनले युवाहरुलाई नयाँ प्रविधि प्रयोग गरी आफ्ना चलचित्रमा खासगरी मौलिक कथालाई समेट्न सुझाव दिए।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्