इंग्ल्याण्डविरूद्धको टी-२० सिरिजको पहिलो खेलमा पाकिस्तानले ३१ रनको कीर्तिमानी जित निकालेको छ।

गएराति नोटिन्‍घममा भएको खेलमा पाकिस्तानले दिएको २ सय ३३ रनको लक्ष्य पछ्याएको घरेलु टोली इंग्ल्याण्ड १९.२ ओभरमा सबै विकेट गुमाएर २ सय १ रनमा समेटियो।

एकै म्याचमा बनेको कुल ४३३ रन पाकिस्तानले खेलेको खेलमा इतिहासकै सर्वाधिक हो। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा पाकिस्तानी टोलीले पहिलो पटक कुनै पनि टोलीलाई २३३ रनको लक्ष्य पहिलो पटक दिएको हो।

आठौँ पटक पाकिस्तानले २ सयमाथिको योगफल बनाउन सफल भए पनि २३३ रनको लक्ष्य भने पहिलो पटक दिएको हो ।

यस्तै २०१ रन पाकिस्तानविरूद्ध इंग्ल्याण्डको पनि सर्वाधिक योगफल हो।

उसका लागि लियाम लिभिङस्टोनले शतकीय पारी खेले पनि  टोलीलाई जिताउन सकेनन्। उनले मात्र ४३ बलमा ९ छक्का र ६ चौकासहित १०३ रन बनाएका थिए।

उनले इंग्ल्याण्डको तर्फबाट टि ट्वान्टीमा सर्वाधिक छिटो शतक बनाउने कीर्तिमानसमेत बनाएका छन् ।

४२ बलमा शतक पूरा गरेका उनी इंग्ल्यान्ड ब्याट्सम्यानको सबैभन्दा छिटो शतक प्रहार गर्ने खेलाडी बने।

त्यस्तै, जेसन रोय ३२, डेविड विली र कप्तान इयोन मोर्गनले समान १६/१६ र जोनी बेयरिस्टो ११ र लईस ग्रेगोरी १० रनमा आउट भएका थिए।

अन्य खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्।

बलिङमा पाकिस्तानका लागि शाहीनसाह अफ्रिदी, सादव खानले समान तीन/तीन, हरिस रौफ, मोहम्मद हसनैन र इमाद वसीमलेसमान  एक/एक विकेट लिए।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ३२ रन बनायो ।

उसका लागि कप्तान बाबर आजम र उपकप्तान मोहम्मद रिजवानले उत्कृष्ट ब्याटिङ गर्दै अर्धसतकीय पारी खेले।

बाबरले ४९ बलमा आठ चौका र तीन छक्कासहित ८५ र रिजवानले ४१ बलमा एक छक्का र आठ चौकासहित ६३ रन बनाए।

त्यस्तै, फखर जमानले २६, मोहम्मद हफीजले २४ र सोहीब मकसूदले १९ रन बनाए ।

बलिङमा टम करनले दुई, डेविड विली, लईस ग्रेगोरी र शाकीब महमूदले एक/एक विकेट लिए ।

यो जितसँगै पाहुना टोली पाकिस्तानले तीन खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पाकिस्तान र इंग्ल्याण्डबीचको दोस्रो टी-२० म्याच भोलि हुनेछ ।

गएराति भएको खेलमा इंग्ल्याण्ड टोलीका अलराउन्डर लियाम लिभिङस्टोनले पनि कीर्तिमान बनाए ।

एजेन्सी