मुन्धुमस्टार डतकम​- चितवन मेडिकल कलेजमा एक महिलाले श्रीमानलाई कलेजो दान गरेकी छन्। जाजरकोटको कुशे गाउँपालिका-९ की ४८ वर्षीया कमलादेवी शाहीले ४७ वर्षीय श्रीमान भरतविक्रम शाहीलाई कलेजो दिएकी हुन्। असार १८ गते श्रीमतीको ६० प्रतिशत कलेजो काटेर श्रीमानको शरीरमा प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ। एक दर्जन बढी चिकित्सक, स्वास्थ्यकर्मीको समूहले करिब १५ घन्टा लगाएर कलेजो प्रत्यारोपण गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिनुभयो। चितवन मेडिकल कलेजले दोस्रो पटक कलेजो प्रत्यारोपण गरेको हो। यसअघि गत चैत ८ गते धनकुमारी लामालाई उनकी छोरी उषा तामाङले कलेजो दिएकी थीन्। आमालाई कलेजो दिने उषा नियमित काममा फर्किसकेकी छन भने धनकुमारी स्वास्थ्यलाभ गर्दैछिन्।

पछिल्लो प्रत्यारोपणमा श्रीमानलाई कलेजो दान गरेकी कमलादेवी असार २७ गते अस्पतालबाट डिस्चार्ज भइसकेकी छन्।‘भरतविक्रमको अवस्थामा पनि सुधार भइरहेको छ, अहिलेकै गतिमा सुधार भए आगामी साता उहाँलाई पनि डिस्चार्ज गर्न सकिन्छ,’ प्रत्यारोपणमा सहभागी प्रमुख कलेजो प्रत्यारोपण शल्य चिकित्सक डाक्टर सञ्जयकुमार यादवले भन्न्नुभयो।उहाँका अनुसार कलेजो दिने र लिने दुबै जनाको कलेजो २ देखि ३ महिनासम्ममा ९० देखि ९५ प्रतिशतसम्म पलाउँछ।‘त्यसपछि त उहाँहरू सामान्य रूपमै जीवन बिताउन सकिहाल्नुहुन्छ,’ उहाँले भन्नुभयो।डाक्टर यादवका अनुसार भरतविक्रम अस्पताल आइपुग्दा उनको अवस्था गम्भीर थियो। सिरोसिस अफ लिभर (कलजोको अवस्थाको ए, बी, सी तीन चरण हुनेमा) सी चरणमा थियो।‘गत फागुनमै कलेजोको अवस्था सी चरणमा पुगेका कारण प्रत्यारोपण गर्नुपर्ने थियो,’ डाक्टर यादवले भन्नुभयो, ‘पेटमा पानी भरिएर ठूलो भएको थियो, अल्कोहलका कारण कलेजो बिग्रिएको थियो, हेपटाइटिस बी पनि थियो।’

शाहीको कलेजोमा रगत पास हुनै नसक्नेगरी नसामा ‘ब्लकेज’ थियो। नसाबाट कलेजोमा रगत पास हुन बन्द हुने समस्यालाई चिकित्सकीय भाषामा पिभिटी भनिन्छ। डाक्टर यादवले यस्तो अवस्थाका बिरामीको सफल प्रत्यारोपण नेपालमै पहिलो पटक भएको दाबी गर्नुभयो।‘कलेजोको अन्य समस्या भएपछि गरिने प्रत्यारोपणमा भन्दा यस्तो समस्यामा प्रत्यारोपण गराउनु निकै जटिल हुन्छ,’ यादवले भन्नुभयो, ‘नेपालमा नै पहिलो पटक चितवन मेडिकल कलेजमा पिभिटी भएको बिरामीमा कलेजो प्रत्यारोपण गरियो।’ प्रत्यारोपणका क्रममा झन्डै १३ युनिट रगत खर्च भएको थियो। अघिल्लो प्रत्यारोपणमा १.२ युनिट रगतले नै पुगेको थियो। जाजरकोटका भरतविक्रम शाहीको स्वस्थ्यमा समस्या आएको एक दशक बढी भयो।

केही वर्ष अघि कलेजोमा समस्या रहेको पत्ता लागेपछि शाहीलाई उपचारका लागि काठामाडौंदेखि भारतसम्म लगियो। काठमाडौंका विभिन्न अस्पताल चहारेपछि उनी राम्रो उपचारको खोजीमा लखनऊको चरक अस्पतालसम्म पुगेका थिए। त्यहाँका चिकित्सकले शाहीलाई औषधी दिएर पठाए। तर त्यसले उनलाई निको भएन। ‘दुई महिना अघि स्वास्थ्यमा थप समस्या आएपछि नेपालगञ्जमा उपचार गर्दा बुबाको कलेजो प्रत्यारोपण नै गर्नुपर्ने जानकारी डाक्टरले गराउनुभयो,’ छोरा गणेश शाहीले भन्नुभयो, ‘त्यसपछि हामी तयारीमा लाग्यौं।’नेपालमा काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्र र चितवन मेडिकल कलेजमा कलेजो प्रत्यारोपण हुन्छ भन्ने जानकारी पाएपछि उनीहरू सुरुमा काठमाडौं नै पुगे।