१६ औं संस्करणको युरोकप फुटबलको उपाधिको लागि आज (आइतबार) राति इटाली र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

यि दुई टोली जारी युरोमा अपराजित रहँदै फाइनलमा पुग्न सफल भएका टोली हुन् ।

वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२:४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो ।

इटाली  तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो  ।

पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको थियो  ।

इंग्ल्यान्डले भने डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो  ।

रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो  ।

इंग्ल्यान्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इटाली हाबी हुँदै आईरहेको छ

।इंग्ल्यान्डविरुद्ध इटालीले ११ खेल जितेको छ । इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ । दुई टिमबीचको ८ खेल बराबरीमा सकिएको छ ।

पछिल्लो ३३ खेलमा अपराजित रहेको इटाली पनि इंग्ल्यान्डलाई उसकै मैदानमा स्तब्ध पार्दै ५३ वर्षपछि युरोको च्याम्पियन बन्न लक्ष्यमा हुनेछ ।

इटाली सन् १९६८ मा घरेलु मैदानमा युगोस्लाभियालाई हराउँदै च्याम्पियन बनेको थियो । त्यतिबेला फाइनल पनि दुई लेगमा भएको थियो । त्यसयता इटाली यो सहित तेस्रोपटक फाइनल खेल्दैछ ।

पछिल्लो दुई खेलमा यि दुई टोलीले बराबरी खेलेका छन् । पछिल्लोपटक सन् २०१८ मार्च २७ मा १–१ गोलको बराबरी खेलेका थिए । त्यसयता यि दुई टोली पहिलोपटक आमने सामने हुन लागेका हुन् ।

इटालीको फाइनल यात्रा:

इटालीविरुद्ध टर्की (३–०)
इटालीविरुद्ध स्वीट्जरल्यान्ड (३–०)
इटालीविरुद्ध वेल्स (१–०)
राउन्ड अफ १६ : इटालीविरुद्ध अष्ट्रिया (२–१) अतिरिक्त समय
क्वाटरफाइनल : इटालीविरुद्ध बेल्जियम (२–१)
सेमिफाइनल: इटालीविरुद्ध स्पेन (१–१) पेनाल्टी सुटआउट (४–२)

इंग्ल्यान्डको फाइनल यात्रा:

इंग्ल्यान्डविरुद्ध क्रोएसिया (१–०)
इंग्ल्यान्डविरुद्ध स्कटल्यान्ड (०–०)
इंग्ल्यान्डविरुद्ध चेक (१–०)
राउन्ड अफ १६ : इंग्ल्यान्डविरुद्ध जर्मनी (२–०)
क्वाटरफाइनल : इंग्ल्यान्डविरुद्ध युक्रेन (४–०)
सेमिफाइनल : इंग्ल्यान्डविरुद्ध डेनमार्क (२–१) अतिरिक्त समय
एजेन्सी