मार्क्सवादलाई बुझ्ने र व्यवहार गर्ने सवालवारे – गोपाल किराती
पार्टी पुनर्गठनका दौरान हामीले “मार्क्सवादको रक्षा, प्रयोग र विकास” को परम्परावादी अवधारणाको सट्टा “मार्क्सवादको रक्षा, विकास र प्रयोग” मा जोड दिने प्राथमिकता निर्धारण गर्यौं। अथवा रक्षा आधारभूत दायित्व हो भने रक्षापछिको प्राथमिकतामा स्वत: विकास हुनु पर्दछ, भन्यौं। र, विकासबाट मात्र प्रयोग सम्भव हुन्छ, भन्ने ठहर गर्यौं। यसरी “विकाससहितको प्रयोगमा जोड दिने मार्क्सवाद” नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक एवं वस्तुगत आवश्यकता रहेकोवारे हामीले विज्ञानसम्मत अवधारणा निर्माण गर्यौं।
सोभियत समाजवादको स्थापना र लगत्तै लेनिनको निधनको परिस्थितिमा जोसेफ स्टालिनले मात्र मार्क्सवादको रक्षापछि प्रयोगको प्राथमिकतामा जोड दिने अवसर प्राप्त गरेका हुन। परन्तु, लेनिन र माओको वैचारिक क्रान्तिक्रम रक्षापछि विकासको जोडमा आधारित रहेको तथ्य प्रष्ट देखिन्छ। लेनिनवादको तहमा मार्क्सवादको विकास नगरिएको भए लेनिन नेतृत्वको अक्टोबर क्रान्ति सम्भव हुनै सक्दैनथ्यो। त्यसरी नै चीनमा माओवादको तहमा मार्क्सवाद-लेनिनवादको विकास नगरिएको भए चिनियाँ जनक्रान्ति सम्भव हुँदैनथ्यो।
अत: लेनिन र माओले विकाससहितको प्रयोगमा जोड दिने मार्क्सवादका आधारमा मात्र क्रान्ति सम्पन्न गर्न सकेका हुन, भन्ने तथ्य अन्तर्राष्ट्रीय कम्युनिस्ट आन्दोलनको मौलिक आयाम भएको र यसतर्फ मार्क्सवादीहरु सचेत अग्रसर हुनै पर्ने मार्क्सवाद सम्बन्धी खास बुझाई र अपरिहार्यतावारे नेपाली कम्युनिस्टहरुले योजनाबद्व क्रमभंग गर्नु परेको छ। त्यसमाथि नेपाली कम्युनिस्ट आन्दोलन पटक-पटक संसदवादमा विसर्जन हुने दक्षिणपन्थी नियतिबाट मुक्त रहनु पर्ने वस्तुगत आवश्यकता त्यत्तिकै तड्कारो छ। अन्यथा पश्चिम बंगालको संसदवादी परिणाम हाम्रा सामु स्पष्ट छ।
संसदवादी रणनीतिमा निर्भरताकै कारण ३५ बर्ष लगातार राज्य सरकार नेतृत्व गरेको त्यहाँको नामधारी कम्युनिस्ट पार्टी पछिल्लो समय शुन्यमा परिणत भएको स्थिति नेपाली कम्युनिस्टका निम्ति गतिलो सबक अवश्य बन्नु पर्दछ। अर्कोतिर जडसुत्रवादका अवस्तुवादी-उग्रवामपन्थी भड्कावबाट पनि पार्टी र आन्दोलनलाई सुरक्षित गर्दै अघि बढ्नु परेको छ। निर्वाचन उपयोगको संदर्भमा “जबसम्म संसदीय राज्यसत्ता भंग गर्ने तागत हुँदैन, तबसम्म त्यसको उपयोग जरुरी हुन्छ” भन्ने लेनिनको विचार यहाँ विशेष स्मरणीय रहन्छ। संसद उपयोगको कार्यनीति लिनु र संसदवादी नै बन्नु फरक कुरा हुन, भनेर बुझ्न पनि त्यत्तिकै जरुरी छ। भेनेजुयलामा ह्युगो चाभेजद्वारा निर्वाचन मार्फत समाजवादको अभ्यासलाई दृष्टिगत गर्दा नेपाली कम्युनिस्टहरुले महान जनविद्रोह सम्पन्न गर्न निर्वाचन उपयोगको सुविधा लिन सकिने देखिन्छ।
यसरी पार्टी पुनर्गठनका दौरान मार्क्सवादको सही बुझाई र ब्यवहारवारे लेनिन एवं माओद्वारा विकाससहितको प्रयोगमा जोड दिने मार्क्सवादमा प्राथमिकताको गहिरो अध्ययन गरियो। जसले, स्थानीय संसदवादी विसर्जनबाट पनि स्वत: पृथक गर्दछ। र, शान्तिपूर्ण सडक आन्दोलन हुँदै निर्वाचन उपयोगको कार्यनीति र महान जनविद्रोहको रणनीतिमा आधारित सामरिक कार्यदिशाको वैज्ञनिकता सिद्वान्तत: स्पष्ट गर्दछ।
नेपाली क्रान्तिमा मार्क्सवादको विकासका तीन सैद्वान्तिक आधारहरु:
१) सिद्वान्तहरु प्रकृति र मानव समाजमाथि थोपर्ने होइन, बरु त्यसबाट झिकिन्छ। – फ्रेडरिक एङ्गेल्स
२) बेलायतले एक किसिमले क्रान्ति गर्छ भने फ्रान्सले अर्को किसिमले, फ्रान्सले एक किसिमले क्रान्ति गर्छ भने जर्मनीले अर्को किसिमले एवं जर्मनीले एक किसिमले क्रान्ति गर्छ भने रुसले अर्को किसिमले। -लेनिन
३) यूरोपको ईतिहास पनि पढ्नु पर्छ, मुख्यत: चीनको ईतिहास पढ्नु पर्छ। किनभने, हामी चीनमा क्रान्ति गरिरहेका छौं। -माओ त्सेतुङ
एङ्गेल्सको तात्पर्य नेपालको प्रकृति र समाजबाट क्रान्तिका सिद्वान्त, नीति तथा कार्यक्रम, योजना र उपायहरु झिकियोस्, भन्ने हो। लेनिनको तात्पर्य क्रान्तिको नेपाली किसिम निर्माण र माओको तात्पर्य मुख्यत: नेपाल पढ्ने सिद्वान्तमा जोड गरियोस्, भन्ने हो। साथै, क्रान्तिको विचारधारा र कार्यदिशा निर्धारण सम्बन्धी कार्यहरु विध्यमान अन्तर्राष्ट्रीय अर्थ-राजनीतिक एवं सामरिक शक्ति सन्तुलनका आधारमा गरिनु पर्ने स्वत: स्पष्ट छ।
अन्त्यमा, उपरोक्त आधारमा नेपाली विशिष्टताको मार्क्सवाद भन्दै, यसै क्रममा मार्क्सवादको चौथो आयामको तहमा प्रस्तावित ब्रम्हाण्डीय विचारधारा र एघार विशेषताको समाजवादी कार्यक्रम विकसित गरिएकोवारे सर्वत्र वहश नितान्त आवश्यक छ।



