एजेन्सी: युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको ‘राउन्ड अफ-१६’ चरणको सबै खेल समाप्त भएसँगै क्वाटरफाइनल समीकरण पूरा भएको छ ।

‘राउन्ड अफ-१६’ अन्तर्गत मंगलबार राति स्विडेन र युक्रेनबीचको खेलसँगै अन्तिम आठमा पुग्ने टोलीको टुंगो लागेको हो । उक्त खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेन क्वाटरफाइनलमा पुग्न सफल भयो ।

यस पटक बेल्जियम, इटाली, स्पेन, स्विट्जरल्यान्ड, डेनमार्क, इंग्ल्यान्ड, चेक रिपब्लिक र युक्रेनले अन्तिम आठमा स्थान बनाएका छन्  ।

तर, साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, जर्मनी, नेदरल्यान्ड्स जस्ता ठुला टिम ‘राउन्ड अफ-१६’ बाटै रित्तो हात घर फर्किए ।

‘राउन्ड अफ-१६’बाट डेनमार्कले वेल्समाथि ४-० को फराकिलो जित दर्ता गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । समूह ‘ए’ को विजेता इटालीले अतिरिक्त समयमा लम्बिएको खेलमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै अन्तिम ८ मा स्थान पक्का गर्न सफल रहयो ।

समूह चरणमा शतप्रतिशत नतिजा निकालेको नेदरल्यान्ड्स भने चेक रिपब्लिकसँग २-० स्तब्ध हुँदै बाहिरियो। त्यस्तै युरोकै सर्वकालीन महान खेलाडी क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगल बेल्जियमसँग पराजित भएसंगै अन्तिम ८ मा असफल भयो ।

स्पेनले विश्वकपको उपविजेता क्रोएसियालाई अतिरिक्त समयमा पराजित गर्दै ९ वर्षपछि क्वाटरफाइनल यात्रा गरेको थियो । क्रोएसियाले ३-३ को बराबरी गरेपनि अतिरिक्त समयमा २ गोल खाँदै बाहिरिएको थियो ।

विश्वकप विजेता फ्रान्सको यात्रामा स्विट्जरल्यान्डले पूर्णविराम लगाइ दिएको थियो । खेलको दोस्रो हफमा ३-१ को अग्रता लिएको फ्रान्सले अन्तिम समयमा सम्हालिन नसक्दा टाइब्रेकरमा हार बेहोर्यो । फ्रान्सका युवा फरवार्ड किलीयन एमबाप्पेले पेनाल्टीमा चुकेका थिए ।

मंगलबार भएको खेलमा इंग्ल्यान्डले पहिलो पटक युरोको नकआउट चरणमा जर्मनीलाई हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो । इंग्ल्यान्डको २-० को जितमा कप्तान ह्यारी केन र रहिम स्टर्लिङले गोल गरेका थिए । राउन्ड अफ १६ को अन्तिम खेलमा युक्रेनले स्वीडेनलाई पराजित गर्दै पहिलो पटक क्वाटरफाइनलमा स्थान बनायो ।

अब दुई दिनको विश्रामपछि क्वाटरफाइनल चरण खेलहरु शुक्रबारबाट सुरु हुनेछन् ।