स्काइपलाई सदाका लागि बिदा गर्न लागेको हो त विन्डोज ११ ले ?
माइक्रोसफ्टले सार्वजनिक रुपमा आफ्नो नयाँ अपरेटिङ सिस्टम ‘विन्डोज ११’ को घोषणा गरिसकेको छ । यो सिस्टमले अहिलेका भर्जनलाई आगामी केही वर्षसम्म प्रतिस्थापन गर्नेछ ।
यसका नयाँ फिचरहरुमध्ये एक परम्परागत सेवामा वर्षौँपछि बदलाव ल्याउन लागिएको छ । त्यो हो, भिडियो कलिङ एप माइक्रोसफ्ट टिम्स । यो सन् २०२० मा अचानक लोकप्रियताको उचाइमा पुग्यो । यसलाई विन्डोज ११ मा पहिले नै स्थायी रुपमा राखिएको हुनेछ । जसको अर्थ वर्षौँपछि पहिलोपटक नयाँ विन्डोजमा भिडियो कलिङ एप स्काइप हुने छैन ।
यसले के स्पष्ट पार्दछ भने अहिलेको समयमा टिम्स नै सबैको मनपर्ने टुल बनेको छ, जसले कुनै बेला ‘एपहरुको राजा’ नाम पाएको स्काइपको अन्त्यलाई संकेत गर्दछ ।
‘आइरिस एन्ड सन्डे इन्डिपेन्डेन्ट’का प्राविधिक एडिटर एड्रियन रेक्लरले लेखेका छन्, “माइक्रोसफ्टले अन्ततः स्काइपलाई सदाका लागि बिदा गर्न लागेजस्तो देखिन्छ । बाई बाई स्काइप ।” उनको सो भनाइको तत्काल प्रतिक्रिया दिँदै भर्जका टम वारेनले ‘आरआईपी स्काइप’ लेखेका हुन् ।
तर, स्काइपको आधिकारिक अन्त्य अहिले भइरहेजस्तो देखिए पनि यसले लामो समयअगाडि नै आफ्नो सबै लोकप्रियता गुमाइसकेको मानिन्छ ।
माइक्रोसफ्टले १० वर्षअगाडि स्काइपलाई ८.५ अर्ब डलरमा खरिद गरेको थियो । त्यस समय यो माइक्रोसफ्ट कम्पनीको सबैभन्दा मूल्यवान् खरिद बनेको थियो र धेरैले यसका लागि आवश्यकभन्दा बढी नै खर्च गरिएको सम्बन्धी कम्पनीमाथि प्रश्न पनि उठाएका थिए । तर, माइक्रोसफ्टले एक अर्बपटक डाउनलोड भएको त्यस समयको वास्तवमै लोकप्रिय एप खरिद गरिरहेको थियो, जसका करोडौँ प्रयोगकर्ता थिए ।
तत्कालीन माइक्रोसफ्ट प्रमुखले यसबारे प्रक्षेपण गर्दै भनेका थिए, “स्काइपसँग मिलेर हामीले प्रत्यक्ष अन्तरक्रियाको नयाँ भविष्य सिर्जना गर्नेछौँ ।” केही समय उनको भनाइमाथि कसैले शंका गर्ने अवस्था पनि थिएन । किनकि, हरेक नयाँ कम्प्युटरमा स्काइप हुन्थ्यो, जसले प्रयोगकर्ताको संख्या बलियो कायम राख्यो ।
तर, दशकको मध्यतर्फ आइपुग्दा इन्टरनेट फोरमभरि ‘स्काइप किन यति धेरै खराब छ ?’ भन्नेजस्ता प्रश्न र गुनासो व्याप्त हुन थाल्यो ।
धेरैलाई यसको अपडेटसँग समस्या थियो । अधिकांश प्रयोगकर्ताले यसको कमजोर प्रस्तुति र डिजाइनका छनोटबारे प्रश्न उठाइरहेका थिए । यस्तै, ‘मोबाइल मेसेजिङ एप’जस्तै वाट्सएप, फेसबुक मेसेन्जर अचानक लोकप्रियताको चुलीमा पुगिरहेका थिए र यिनीहरुले केही समयमै भिडियो कलको सेवा पनि सुरु गरे, जुन स्काइपको सबैभन्दा मुख्य र एक मात्र आकर्षण थियो ।
स्काइपको पहिलो भर्जन २००३ मा लन्च भएको थियो र निरन्तर अपडेटका बाबजुद यसले पुरानो भइसकेको संकेत देखाउँदै आएको छ । अर्कोतर्फ, माइक्रोसफ्ट अहिलेको आधुनिक प्रविधिमा आधारित व्यावसायिक च्याट एप, टिम्सको निर्माणमा लागिरहेको थियो, जसलाई २०१७ मा लन्च गरिएको हो ।
सीसीएस इन्साइटकी विश्लेषक एन्जेला एसेनडेनले व्याख्या गर्दै भनिन्, “माइक्रोसफ्टले स्काइपलाई पछि छाडेको धेरै वर्ष भयो । अहिले यसले टिम्सलाई नै नयाँ युगको रणनीतिक भोइस र भिडियो प्रविधि बनाएको छ ।”
उनका अनुसार गुपचुप रुपमा टिम्सले पहिले स्काइपकै प्रविधि प्रयोग गरेको थियो । यसलाई वास्तवमा बिजनेस एप, स्ल्याकसँग प्रतिस्पर्धा गर्नका लागि भनेर डिजाइन गरिएको थियो । तर, त्यतिकैमा विश्व महामारी सुरु भयो, जसले पहिले कमैलाई थाहा भएको नाम जुम अहिले सबैको घरमा साझा बन्न पुग्यो । यसको एक मात्र प्रतिस्पर्धी भनेको टिम्स नै थियो ।
यसरी गत वर्ष टिम्सको प्रयोग आकाशियो, जसले माइक्रोसफ्टको सबैभन्दा साझा प्रविधिको स्थानबाट स्काइपलाई हटाइदियो । यस किसिमको अचानकको ठूलो सफलताले आगामी विन्डोजमा टिम्सको स्थायी उपस्थिति अपरिहार्य बनाइदियो ।
माइक्रोसफ्टको ‘प्रि–इन्स्टल्ड’ एपका रुपमा स्काइपलाई हटाएर टिमलाई राख्नु माइक्रोसफ्टको धारणामा ठूलो समाधान हो, जसले लगानी कताबाट कता केन्द्रित गर्ने भन्नेमा विचार गरिरहेको थियो ।
गएको सेप्टेम्बरमा मात्र माइक्रोसफ्टको स्वामित्वमा रहेको लिंक्डइन एपले पनि भिडियो मिटिङ ल्याउने घोषणा गर्यो, जसमा फेरि पनि स्काइप नभएर जुम, ब्लुजिन्स, टिम्सलगायत अन्य लोकप्रिय सिस्टमहरुको च्याट फिचर प्रयोग गरिने बताइएको छ ।
गएको अक्टोबरमा माइक्रोसफ्टका कार्यकारी जिम गेनोरले सीएनबीसीसँग कुरा गर्दै भनेका थिए, “यदि स्काइप साँच्चै ठूलो हुन सक्थ्यो भने यो वर्ष सबैभन्दा उत्तम समय थियो । तर, यस्तो बेला पनि यसमा कुनै उल्लेखनीय वृद्धि देखा परेन र उत्पादन प्रयोगमा ल्याउन धेरै ढिला भइसक्यो, जसको अर्थ यसले फस्टाउने मौका गुमाएकै हो ।”
तर, यी सबैका बाबजुद महामारीमा स्काइपको वृद्धि शून्य रह्यो भन्नेचाहिँ होइन । गत वर्ष यसको प्रयोग ७० प्रतिशतले बढेर दैनिक चार करोड प्रयोगकर्ता पुगेको थियो ।
तर, यसका अन्य प्रतिस्पर्धीलाई हेरेर यसलाई धेरै ठूलो उपलब्धि मान्न नसकिने बताइएको छ । पूरै दुनियाँलाई कलिङ एपको आवश्यकता परेका बेलामा धेरैले स्काइप नभइ अरु नै विकल्प चुनेका हुन् । यति हुँदा हुँदै पनि स्काइप पूर्ण रुपमा हटिसकेको चाहिँ छैन । माइक्रोसफ्ट स्टोरमा हामीले कुनै पनि बेला यसलाई डाउनलोड गरेर चलाउन सक्छौँ ।
एजेन्सी



