हारेको चेक रिपब्लिक पनि उत्कृष्ट तेस्रो बन्दै ‘नक-आउट’ चरणमा
युरोकप फुटबल अन्तर्गत समूह ‘डी’ समूह चरणको अन्तिम खेलमा इंग्ल्यान्ड चेक रिपब्लिकलाई पराजित गर्दै समूह विजेता बनेको छ ।
मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बनेको हो ।
वेम्बली स्टेडियममा भएको खेलको १२ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेका हुन् । ज्याक ग्रेलिसको पासमा उनले गोल गरेका हुन् ।
जारी युरोमा स्ट्रर्लिङको यो दोस्रो गोल हो ।
यस जितसँगै समूह ‘डी’ को इंग्ल्यान्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ ।
शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो । इंग्ल्यान्डले समूह चरणमा कुनैपनि गोल व्यहोर्नु परेको छैन ।
समूह चरणको पहिलो खेलमा क्रोएसियालाई १-० गोल अन्तरले गरेको इंग्ल्यान्ड दोस्रो खेलमा स्कटल्याण्डसँग गोल रहित बराबरीमा रोकिएको थियो ।
चेक रिपब्लिकले ३ खेलमा ४ अंक जोड्यो । चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्यो ।
क्रोएसियाले स्कटल्यान्डलाई ३-१ ले हराएपछि चेक गोलअन्तरका आधारमा तेस्रो स्थानमा पुगेको हो ।
तेस्रो स्थानमा रहे पनि चेक रिपब्लिक समेत ‘नक-आउट’ चरणमा प्रवेश गरेको छ । चेक रिपब्लिक उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा पुगेको हो ।
समूह चरणको पहिलो खेलमा स्कटल्याण्डलाई २-० ले हराएको चेक रिपब्लिक दोस्रो खेलमा क्रोएसियासँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।



