आगामी आइतबारदेखि आन्तरिक उडान हुने भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले आन्तरिक र अन्तर्राष्ट्रिय उडान खोल्ने निर्णय गरेपछि ढिलोमा आइतबारदेखि आन्तरिक उडान हुने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेका अनुसार कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्नेगरी उडान हुनेछ ।

मन्त्रिपरिषद्ले उडानको प्रक्रिया अगाडि बढाउन पर्यटन मन्त्रालयलाई जिम्मेवारी पनि दिएको छ ।

“मन्त्रिपरिषद्ले आन्तरिक उडान पनि खोल्ने भनेर सैद्धान्तिक सहमति दिएको छ र मन्त्रालयलाई जिम्मेवारी दिएको छ ।

५० प्रतिशत क्षमता उडाउने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ । ५० प्रतिशत भन्दा बढी उडान गर्न मिलेर अब मन्त्रालयले सहजीकरण गर्दै जान्छ” उनले भने, “ढिलोमा आइतबारदेखि आन्तरिक उडान सुरु हुन्छ ।”

यस्तै अन्तर्राष्ट्रियतर्फ सबै गन्तव्य मुलुकमा उडान हुनेछ । मन्त्रिपरिषद्ले १,२ देखि ४ वटा उडानसम्मका लागि अनुमती दिएको छ ।

“सबै श्रम गन्तव्य मुलुक खुला भएको छ । यूरोपतर्फ निकास निकाल्न टर्की खुला गरिएको छ । जापान, कोरिया पनि उडान खुला गरिएको छ,” उनले भने ।

मन्त्रिपरिषदले काठमाडौं–दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने गरी अनुमति दिएको छ ।

मलेसियामा साताको चार, काठमाडौं–इस्तानबुलमा साताको २, काठमाडौं–दुवई रुटमा सातामा चार, काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं–कुवेतमा साताको दुई, काठमाडौं–मस्कट, दक्षिण कोरियामा एक र जापानमा एक उडान खुला गरिएको छ ।

यसैगरी काठमाडौं–छेन्दु र ग्वाङझाओ रुटमा साताको एक–एक उडान हुनेछ ।