Logo

सभापतिको उम्मेदवार बन्न देउवाद्वारा गृहकार्य सुरुः निधिले पनि सभापतिका लागि दाबि पेस गरे


मुन्धुमस्टार डटकम – पार्टी राजनीति र संसद्मा विपक्षीको भूमिकामा कमजोर देखिएको भन्दै आलोचित कांग्रेस सभापति देउवाले १४औँ महाधिवेशनमा पुनः सभापतिको उम्मेदवार बन्ने आकांक्षा नेताहरूबीचको अनौपचारिक बैठकमा व्यक्त गरेका छन् । उनले पछिल्लोपटक महाधिवेशनको मिति हेरफेर गरेलगत्तै आफ्नो समूहबाट सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने कसरत थालेका हुन् ।

शुक्रबार केन्द्रीय कार्यसमिति बैठकले संवैधानिक संकटको अवस्था भन्दै आगामी १६ देखि १९ भदौसम्म महाधिवेशनको मिति तोकेको थियो । अर्को दिन शनिबार देउवाले प्रदेशगत रूपमा निकट नेताहरूलाई बोलाएर पार्टीको सभापतिमा पुनः आफ्नो उम्मेदवारीबारे छलफल गरेका छन् । तल्ला तहमा आफ्नो समूहको अवस्था र महाधिवेशन तयारीबारे जानकारी लिँदै देउवाले सभापतिमा लड्ने आंकक्षा व्यक्त गरेका हुन् ।

शनिबार देउवाले उपसभापतिद्वय निधि र विजयकुमार गच्छदार, सहमहामन्त्री सुनीलबहादुर थापा र प्रदेश १ र २ का केन्द्रीय सदस्यसँग छुट्टाछुट्टै छलफल गरेका थिए । छलफलमा प्रदेश १ बाट ज्ञानेन्द्रबहादुर कार्की, भीष्मराज आङदेम्बे, मीन विश्वकर्मा, सीता गुरुङ, सुजाता परियार, डा. डिला संग्रौला, बाबुराम बस्नेतलगायत थिए भने प्रदेश २ बाट जंगीलाल राय र शम्भुलाल श्रेष्ठ सहभागी थिए ।
सो क्रममा नेताहरूसमक्ष देउवाले आफू पुनः पार्टीको सभापति बन्ने चाहना व्यक्त गरेको छलफलमा सहभागी नेताहरूले बताएका छन् । देउवाले गुटबाट आफू सर्वसम्मत सभापतिको उम्मेदवार बन्ने वातावरण बनाउन नेताहरूसँग छलफल थालेको सहभागी एक नेताले बताए ।

उक्त छ्लफलमा देउबाले भने, कांग्रेसले संविधान जारी गरेपछि मेरो नेतृत्वमा संविधान कार्यान्वयनका काम सुरु भए । मैले तीन तहको चुनाव गराएँ । हामीले कम सिट जित्यौँ । तर, पहिलेभन्दा लोकप्रिय मत पाएका थियौँ । अब पार्टीलाई मुलुकको पहिलो पार्टी बनाउनुपर्नेछ । मुलुकलाई संविधान र लोकतन्त्रको बाटोमा हिँडाउनुपर्नेछ । त्यसैले एकपटक मैले नै सभापतिमा उम्मेदवारी दिने सोचेको छु । तपाईंहरूको राय के छ ? मलाई सहयोग गर्नुपर्‍यो ।

उपसभापति विमलेन्द्र निधिले डेढ वर्षअघि नै देउवालाई भेटेर यसपटक आफूलाई सभापतिमा सघाउन आग्रह गरेका थिए । आफ्नै गुटबाट उपसभापति निधिले सभापतिमै इच्छा देखाएपछि देउवामाथि दबाब छ । देउवाले भने उपसभापति निधिसँग यसपटक आफूलाई सहयोग गर्न आग्रह गरेका छन् ।

तर, जवाफमा निधिले पनि यसपटक आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । ‘हामीले तपाईंलाई सहयोग गर्दै आएकै छौँ । अब मेरो पनि उमेर भयो । भोलि १५औँ महाधिवेशनमा अरू साथी पनि आउँछन् । त्यो वेला अर्को परिस्थिति बनिसक्छ । त्यसैले अब मलाई मौका दिनुहोस् । म तपाईंको सहयोगमा सभापति बन्न चाहन्छु,’ निधिले भनेको उद्धृत गर्दै केन्द्रीय सदस्य जंगीलाल रायले भने ।

त्यसपछि देउवाले पुनः सहयोगका लागि आग्रह गरे । ‘अझै छलफल गराैँ । अहिले तपाईं मलाई सघाउनुस् । होइन, त्यस्तो विचार छ भने मैले केही भन्नु छैन, तपाईं पनि लड्नुस्,’ देउवाले जवाफमा भनेका थिए । त्यसपछि निधिले पार्टीका अन्य नेताहरू पनि नेतृत्व हस्तान्तरणको पक्षमा रहेको भन्दै सम्भव भएसम्म आफूलाई सघाउन, नभए यसपटक आफूले पनि नछाड्ने भनेका थिए । ‘मैले पहिले पनि तपाईंलाई भेटेर भनेको हुँ । म सभापति उठ्ने हो, सहयोग गर्नुस् । यतिन्जेल मैले तपाईंसँग रहेर सहयोग गरेकै हुँ । अब मैले तपाईंको सहयोग लिने वेला हो । नभए तपाईं पनि लड्नुस्, म पनि लड्छु,’ निधिले भनेका थिए । निधिले देउवालाई भावी प्रधानमन्त्रीका लागि प्रस्ताव गरेका छन् । ‘पार्टीको सभापतिमा मलाई मौका दिनुस् । म पार्टी चलाउँछु । बरु तपाईं प्रधानमन्त्री बन्नुस्,’ निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

त्यसपछि देउवाले पार्टीको सभापति जो पनि उठ्न पाउने बताएका थिए । ‘मैले गराएको चुनावमा पार्टीले हा¥यो । कोरोना र अन्य कारणले पार्टीलाई पनि वेलामा महाधिवेशनदेखि अरू काम राम्रोसँग गर्न पाइनँ,’ देउवालाई उद्धृत गर्दै अर्का नेताले भने, ‘पार्टीको सभापति त जो पनि उठ्न पाउँछ, मैले नउठ्नुस भन्दिनँ । तर, मैले पनि तयारी गरिसकेँ, मलाई सघाउनुस भन्ने मेरो कुरा हो ।’

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्