Logo

बाढीपहिरोले क्षति पुर्‍याएपछि फेरि मेलम्ची खानेपानि अनिश्चित बन्यो


मुन्धुमस्टार डटकम — सुरुङमार्ग मर्मतका लागि पानी निकालेर सुरुङ खाली गरिएकै दिन बाढीपहिरोले क्षति पुर्‍याएपछि मेलम्ची आयोजनाको पानी काठमाडौंमा पुनः वितरणको मिति अब अनिश्चित बनेको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा रहेको मेलम्ची आयोजनाको बाँध, सुरुङ, सडक, मोटरेबल पुल तथा मुहानको संरचना गत मंगलबारको बाढीपहिरोले क्षतविक्षत पारेको छ ।

बाढिपहिरो पछि मेलम्ची आयोजनाको बाँधसँगको सम्पर्कविच्छेद भएको छ । आयोजनाको बाँध जोड्ने प्रवेश मार्गको अन्तिम खण्ड करिब ६ किमि सडक भत्किएर मेलम्ची खोलामा खसेको छ । निर्माण सुरु भएको २२ वर्षपछि आयोजनाले सुन्दरीजलको रिजर्भ ट्यांकी हुँदै गत फागुन १० देखि काठमाडौं उपत्यकामा पानीको वितरण परीक्षण गरेको थियो । लामो प्रतीक्षापछि अब धारामा पर्याप्त पानी आउनेमा आश्वस्त पारेको आयोजनाले सुरुङ मर्मतका लागि गत सोमबारदेखि वितरण बन्द गरेको थियो ।

स्थलगत अवलोकनका लागि यातायात सञ्जाल टुटेकाले घटनाको चार दिनसम्म पनि आयोजनाको वास्तविक क्षतिको पूर्ण विवरण तयार हुन सकेको छैन​। मुख्य सुरुङमा भने क्षति नपुगेको अनुमान आयोजनाको छ । आयोजनाका डिभिजन इन्जिनियर तथा प्रवक्ता राजेन्द्रप्रसाद पन्त क्षतिको अवस्था हेर्न जान सजिलो नभएको बताउँछन् । करिब चार मिटर उचाइको बाँध मुहानको माथिल्लो भाग सेमेसिदाङ हिमालमुनिको भेमाथाङ चौरबाट आएको पहिरो मेलम्ची खोलामा मिसिएर आएको बाढीले पुरेको छ । पानी ओभर–फ्लो भएर बाँध ढुंगामाटोले भरिएको अनुमान गरिएको छ । पक्की बाँध निर्माणकै चरणमा रहेकाले मेलम्चीको पानी हेडवर्क्समा निर्माण गरिएको अस्थायी सुरुङबाट मुख्य सुरुङमा पठाउने गरिएको थियो । ‘अस्थायी सुरुङको मुख नै टालिएको छ । प्रारम्भिक रिपोर्टका आधारमा आयोजनाको हेडवर्क्सको सुरुङको मुखबाट कति टाढा (लम्बाइ) सम्म ढुंगामाटो भरिएर बन्द भएको छ भन्ने यकिन भएको छैन,’ पन्तले भने । निर्माणाधीन बाँधलाई बाढीले छोपेको छ । बाँध निर्माणका लागि बनाइएको मुहान क्षेत्रको सडक र अम्बाथानका दुइटा बेलिब्रिज बगाएकाले अडिट सुरुङमा प्राविधिक पुग्नै समस्या छ । मुहान पुग्न ६ किमि टाढा प्रवेशमार्ग बाट हिँडेर जाने गारेटो पनि छैन ।

आयोजनाका कार्यकारी निर्देशक रामकुमार श्रेष्ठका अनुसार बाँध ढुंगामाटोले भरिए पनि नभत्काएको अनुमान छ । तर बाँध पुरिएपछि पानीको सतह माथि आउने भएकाले कसरी मर्मत गर्ने भन्ने फेरि अध्ययन जरुरी देखिएको छ । वर्षा नरोकिएको र सडक सञ्जाल जोड्न अस्थायी प्रकृतिका काम गर्नसमेत प्राविधिक डराएका छन् । ‘अहिले पनि बाढी रोकिएको छैन,’ उनले भने ‘कुन तहको क्षति भयो यकिन गर्नै नसकिने अवस्था छ ।’ आफूले खानेपानी मन्त्री अनिल झालाई मेलम्चीको पछिल्लो अवस्थाबारे जानकारी गराएको उनले बताए । ‘माथिल्लो निकायबाटै प्रयास नगरे आयोजनाले मात्र केही गर्न सक्दैन,’ उनले भने । मेलम्ची बजारदेखि मुहानसम्मको १८ किमि सडक सञ्चालन गरेपछि मात्र वास्तविक अवस्था पत्ता लाग्ने उनको भनाइ छ । भन्छन्, ‘सकेसम्म बेलिब्रिज राखेर भए पनि यातायात सञ्चालन गर्नुपर्छ भन्ने मान्यतामा छौं ।’

क्षति के–के भयो ?

मुहानभन्दा करिब ८ किमि पश्चिम (काठमाडौं) तर्फको सडक तथा पुल बाढीले बगाएको छ । आयोजनाले वर्षौं लगाएर बनाएको प्रवेशमार्ग हुँदै बाँध जोड्ने तिम्बु र हल्देको दुइटा मोटरेबल पुल बगाएको छ । बाँधस्थलको दुइटा बेलिब्रिज, मुहाननजिकैको इन्जिनियरिङ क्याम्प र सुरक्षा पोस्ट बाढीले बगाएको छ । क्याम्प बगाउँदा आयोजना निर्माणमा संलग्न ठेकेदार कम्पनीका एक जना चिनियाँ र दुई जना भारतीयको मृत्यु भएको छ । दुई नेपालीसहित ५ जना विदेशी अझै बेपत्ता छन् ।

मुहान पुग्ने अन्तिम खण्ड चनौटेसम्मको करिब ६ किमि क्षेत्र सडक क्षतविक्षत भएको छ । आयोजनाको प्रवेशमार्गअन्तर्गत १८ किमि क्षेत्रको तालामाराङ, चनौटे, हल्दे, चिप्लेढुंगा, तिम्बुलगायतका स्थानमा ६ वटा मोटरेबल पुल बनाएकोमा दुइटा बगाएको छ । तीमध्ये हेलम्बु क्षेत्रको प्रवेशमार्गको ठाडो खोलामा निर्माण गरेको दुइटा पुल पनि भत्कने अवस्थामा पुगेको छ । बाँधको माथिल्लो मागमा रहेको नाकोतेस्थित मेलम्ची घ्याङ जाने पक्की पुल बगाएको छ । उक्त पुल वाग्मती प्रदेश सरकारको सहयोगमा भर्खरै निर्माण भएको थियो ।

दुइटा अडिट सुरुङको सुरुको खण्डमा माटो र बालुवा भरिएको छ । कामदार तथा ठेकेदार बस्ने क्याम्प, क्यान्टिन तथा मेसिनहरू बगाएको छ । मुहानभन्दा १८ किमि काठमाडौंतर्फ मेलम्ची बजारमा रहेको आयोजनाको मुख्य क्याम्पको आवास र कार्यालय भवनहरू पानीमा डुबेको छ । उक्त स्थानमा राखिएका मेसिनहरू बगाएको छ । मेलम्ची बजारदेखि मुहानसम्मको क्षेत्रको सडक सबैभन्दा धेरै क्षति भएको छ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्