Logo

‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन


बागलुङ: तलपट्टि सानो पोखरीमा माछा, माथि तरकारी बाली। खेती गर्न न माटो चाहिने न मल। त्यही पोखरीको पानीले तरकारी सिञ्चित गर्छ फेरि तल खस्छ ।

विद्युतीय प्रणालीमार्फत यो चक्र पूरा हुन्छ। बागलुङ नगरपालिका–३ रात्माटाका अगुवा किसान बैकुण्ठ सापकोटाले यसरी नै ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेती र माछापालन गरिरहेका छन् ।

सापकोटाले गाउँमा पहिलोपटक यो आधुनिक प्रविधिको सफल परीक्षण गरेका हुन्। उनका अनुसार यसलाई ‘माटोविहीन’ खेती पनि भनिन्छ। बिरुवालाई चाहिने सूक्ष्म खाद्यतत्व पानीका माध्यमबाट दिइन्छ। पोखरीको पानीलाई विद्यतुीय मोटरमार्फत तानेर बाली लगाइएको ठाउँमा लगिन्छ। सापकोटाले चार मिटर लामो र साढे दुई मिटर चौडाइसहितको संरचनामा माछापालन र तरकारी खेती गरेको बताए ।

“यो नमूना परीक्षण जस्तो पनि हो, सम्भवतः जिल्लामै यो प्रविधिबाट खेती गरिएको पहिलोपटक हुनुपर्छ”, उनले भने। पोखरीमा तीन सय माउर माछाका भुरा हुर्किरहेका छन् भने माथिपट्टि प्याज। ‘हाइड्रोपोनिक’ प्रविधिबाट सानो जरा हुने तरकारी बाली मात्र लगाउन सकिने उनको भनाइ छ। प्याज, लसुन, धनियाँ, साग जस्ता तरकारी खेती त्यसमा फस्टाउँछ। सापकोटाले तरकारीका बाली लगाउन बाँस, प्लाष्टिक बोतल र गिलास प्रयोग गरेका छन् ।

“पोखरीको पानी मोटरले माथि तान्छ, त्यही पानी एकबाट अर्को हुँदै सबै बोतलमा पुग्छ र फेरि पोखरीमा खस्छ”, उनले भने। हरेक बोतलको बीचमा प्वाल पारेर त्यसमा प्लाष्टिकको गिलास राखी त्यसमै तरकारीको बिरुवा लगाउने गरिएको उनको भनाइ छ। बिरुवा लगाउँदा माटाको खाँचो पर्दैन। आफूलाई चाहिने खाद्यतत्व र पोषण बिरुवाले पानीबाटै लिन्छ। माछाको दिसाले गर्दा पोखरीको पानीमा सूक्ष्म खाद्यतत्व हुने सापकोटाले बताए ।

माछापालन नगरी तरकारी मात्रै लगाउँदा भने पानीमा बिरुवालाई चाहिने खाद्यतत्व मिसाउनुपर्ने हुन्छ। उनले माछापालन पनि गरेको भएर दुई-तीन हप्तामा पोखरीको पानी फेर्दै आएका छन्। तरकारी मात्रै हुँदा त्यो झन्झट पनि हुँदैन। धेरै परिश्रम गर्न पनि नपर्ने र थोरै ठाउँ भए पनि हुने भएकाले पछिल्लो समय यस प्रविधिप्रति किसान आकर्षित हुन थालेका छन्। घरका छत र कौसीमा पनि यो खेती गर्न सकिन्छ ।

माटोमा भन्दा यस प्रविधिबाट गरिएको खेती छिटो र धेरै उब्जाउ हुने कृषि प्राविधिक बताउँछन्। ‘हाइड्रोपोनिक’ प्रविधि अपनाउँदा माटोजन्य रोगको पनि खतरा हुँदैन। विषादी र रसायनिक मल प्रयोग नभएका कारणले किसानले फलाउने तरकारी जैविक हुन्छ। उनि ‘हाइड्रोपोनिक’ प्रविधिबाट तरकारी खेतीको व्यावसायिक विस्तार गर्ने सोचमा छन्। माछापालन र तरकारी खेती दुवै गर्न सकिने भएकाले यसप्रति अन्य किसान पनि आकर्षित हुने देखिन्छ ।

व्यवसायी सापकोटाले माछापालनका लागि नगरपालिकाबाट रु आठ हजार अनुदानसमेत पाएको बताए। उनि विगत केही वर्षदेखि ‘सापकोटा कृषि फार्म’मार्फत व्यावसायिक पन्छीपालन र तरकारी खेतीमा सक्रिय छन्। फार्ममा आठ कुखुरा र दुई चरा प्रजातिका गरी दश थरी पन्छी छन्। दुईवटा ‘टनेल’मा तरकारी छ। कृषिमा श्रम–पसिना बगाउन नहिच्किचाउने उनि घरमै बसीबसी मनग्य कमाइ गर्छन् । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्