कोपा अमेरिकाको उद्घाटन खेलमा ब्राजिल र भेनेजुएला भिड्दै
एजेन्सी । कोपा अमेरिका खेल्न ब्राजिल पुगेका भेनेजुएलाका खेलाडी र स्टाफ गरि १२ जनामा कोरोना संक्रमण देखिएको छ ।
मिनी विश्वकप मानिने युरोकप सुरु भएको दुई दिनपछि विश्वकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका सोमबारदेखि ब्राजलिमा सुरु हुँदैछ ।
४७ औं संस्करणको कोपा अमेरिका यसअघि कोलम्बिया र अर्जेन्टिनामा हुने भनिए पनि अन्तिम समयमा आएर आयोजकको भूमिका ब्राजिलले पाएको हो ।
कोलम्बियामा विरोध प्रदर्शन भएपछि अर्जेन्टिनाले एकल रुपमा प्रतियोगिता गर्ने तयारी गरेको थियो । तर कोरोना महामारीका कारण अर्जेन्टिनाबाट ब्राजिलमा सारिएको हो ।
उद्घाटन खेल अघि गरिएको परिक्षणमा खेलाडी र स्टाफ गरि १२ जनामा कोरोना देखिएको हो ।
कोरोना देखिएपछि उनीहरु होटलमा आईसोलेसनमा बसेको बताईएको छ ।
भेनेजुएलाका टिम शुक्रबार ब्राजिल आईपुगेका थिए ।
कोरोना संक्रमणकै कारण डिफेन्डर विलकर एन्जल र रोल्फ फेल्ट्सचर ब्राजिल आएका थिएनन् ।
कोपाको उद्घाटनमा सोमबार ब्राजिल र भेनेजुएला खेल्ने तालिका रहेको छ ।
तर, भेनेजुएलाका १२ खेलाडी र स्टाफमा कोरोना देखिएपछि खेल हुनेमा अन्योलता देखिएको छ ।



