एमाले र माओवादीको एकीकरणका सन्दर्भमा किरातीको विश्लेषण सही ठहरियो – डा. धनप्रसाद सुबेदी

आजको शनिबार साहिँला दाइ अर्थात् गोपाल किराती बारे केही लेख्न मन लाग्यो । ऊ कस्तो पार्टीको कुन तहको नेता हो र उसका पछि ताली बजाउने कति छन् भन्ने आधारमा नेताको कुरा पत्याउने हाम्रो प्रवृत्ति छ ।
समयानुकूल अग्रगामी नीति बनाउन नसक्ने र विचार निर्माण गर्न नसक्ने मानिस नेता होइन तर हामीकहाँ विचार निर्माणलाई पर राखेर अझ विचार निषेध गर्दै कमिसन, भ्रष्टाचार, गु’टबन्दी, जा’लझेल, ष’ड्यन्त्र गर्न सक्नेलाई ‘राजनेता’को पगरी भिडाएर त्यसकै दास बन्न पाउँदा मख्ख पर्ने संस्कृति बनिसकेको छ । यस्तो प्रवृत्ति हावी भएको समयमा विचार निर्माण गर्ने काममा निरन्तर लागिरहने नेताहरू पाउन मुस्किल रहेछ । त्यस्तै मुस्किलले पाइने नेता हुन् कमरेड गोपाल किराती ।
हामी औपचारिक डिग्रीका भ्रममा छौँ । मानिसको विद्वता औपचारिक शैक्षिक प्रमाणपत्रमा होइन, उसको स्वाध्ययन, चिन्तन, मनन, इमान, त्याग र सङ्घर्षमा निर्भर हुन्छ भन्ने कुरालाई नबुझ्ने र बुझ्न नचाहने हाम्रो परिवेश छ । त्यसैले हामी गोपाल किराती जस्ता नेताका कुरालाई हत्तपत्त सुन्न चाहँदैनौं, सुने पनि पत्याउँदैनौँ ।
संस्कृति मन्त्री हुँदा पशुपतिमा नेपाली पुजारी राख्न खोजे, त्यो अलिक हतारको निर्णय थियो, त्यसै एकेडेमी गठनमा पनि थोरै ढङ्ग नपुगेको जस्तो देखियो, यी स्वाभाविक र अनुभवजन्य कमजोरी थिए तर तिनमा निहित राष्ट्रियता र परिवर्तनको उच्च चेतनालाई हामीले देख्न सकेनौं, हामी सांस्कृतिक दास हुन चाहिरह्यौँ। यथास्थितिमै रमाइरह्यौँ ।
गोपाल किरातीले ८०० जिल्लाको अवधारणा ल्याइरहँदा हामीले उनलाई उडाउनसम्म उडाऔँ । आखिर अहिले हाम्रा स्थानीय तहको सङ्ख्या गोपाल किरातीले भनेकै सेरोफेरोमा छन् , खालि ‘जिल्ला’ नाम मात्रै नभएको हो ।
एमाले र माओवादीको एकीकरणका सन्दर्भमा किरातीको असहमतिलाई अव्यावहारिक भन्यौँ र उपेक्षा गर्यौँ, आखिर किरातीको विश्लेषण सही ठहरियो ।
हाल किरातीबाट प्रस्तुत विचारहरू पढ्दै छु, मलाई चाहि मन परेका छन् । विचार निर्माणको खडेरी परिरहेको अवस्थामा गोपाल किरातीको प्रयास र मिहिनेत सराहना गर्नलायक छ । लालसलाम छ, साहिँला दाइ ।
(डा. धनप्रसाद सुबेदीको सामाजिक सन्जालबाट)