Logo

दासहरूलाई दास बन्न नपाउँदा ठूलो पीडा हुन्छ जस्तो कि एमालेको दोस्रो पुस्ता – खगेन्द्र संग्राैला


तालतालका ट्वीटहरूको जङ्गलमा विनु सुवेदीको एउटा घतलाग्दो ट्वीट पढेँ । छोटो, सारभूत र कठोर कटाक्षकारी ट्वीट । ट्वीट भन्छ– ‘दासहरूलाई दास बन्न नपाउँदा ठूलो पीडा हुन्छ । जस्तो कि एमालेको दोस्रो पुस्ता ।’

विनुको मर्मान्तक कटाक्षको बयलगाडामा सवार भई मेरोसामु एमालेको दोस्रो पुस्ताका केही नाम उपस्थित भए । बरा दास बनिरहन नपाउँदा पीडाले रन्थनिएका नामहरू । यथा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई आदि । एमालेकै राजेन्द्र राईले ट्वीटमा यी दुःखी नामहरूलाई यसरी गिज्याएका छन्– ‘हस्ताक्षर फिर्ता लिएर ओलीसँग जानुभन्दा कमण्डलु बोकेर हिँड्नु बेस ।’

हरि रोकाको अलि लामो ट्वीटले हस्ताक्षर फिर्ताको सन्दर्भ र अर्थ खोल्छ । जस्तो कि– ‘दुई दिनअघि अर्को पार्टीको अध्यक्षलाई प्रम बनाउन सही र ल्याप्चे ठोकेर सर्वोच्चमा मुद्दा ठोक्ने एमाले दोस्रो पुस्ताको मसी नसुक्दै अर्को पक्षसँग पार्टी एकता जोगाउने नाटक मञ्चन गरेछन् । यो आफैँभित्र नैतिक पतनको दलाल पुँजीवादी प्राक्टिसको अन्तिम किस्ताको रिहर्सल हो या अनन्त पारी बाँकी छ ?’

हरि रोकाको अठाह्र घनमिटरको यो प्रहारको ठाडो अर्थ हो– दुई दिनअघि घनश्यामादि कणले देउवालाई प्रम बनाउन ल्याप्चे ठोके । उक्त ल्याप्चेयुक्त पुर्जा सर्वोच्चमा दाखिला भयो । पुर्जाले भन्यो– श्रीमान्, खड्गप्रसाद शर्मा ओलीलाई प्रधानमन्त्रीबाट फालिपाऊँ, र रिक्त स्थानमा शेरबहादुर देउवालाई बहाल गरिपाऊँ । तर विचित्र, पुर्जाको मसी नसुक्दै घनश्यामादि कण लिट्टी कसेर एकता जोगाउने धामामा लागे ।

यो एकता जोगाउनुको तात्पर्य हो– खड्गप्रसाद शर्मा ओलीको दम्भी एकाधिकारको निष्कण्ट निरन्तरता, र निजहजुरको छत्रछायाँमा घनश्यामादि कणलाई कृपापूर्ण आश्रय । घनश्यामादि कणको यो अस्थिर, पीपलपाते एवं लाजमर्नु क्रीडा हरि रोकाका दृष्टिमा नैतिक पतनको द्योतक हो । र, हो यो– दलाल पुँजीवादी अभ्यासको ज्यलन्त दृष्टान्त पनि । हरिको जिज्ञासा छ– घनश्यामादि कणको वैचारिक–नैतिक पतनको यो अन्तिम किस्ताको रिहर्सल हो कि पतनका अनन्त चक्रहरू बाँकी छन् ? यो प्रश्नको उत्तर समयको गर्तमा छ ।

आश्रयका दीनदुःखी याचकहरूलाई खड्गप्रसाद शर्मा ओलीले थर्काउँदै भनेछन्– पहिले रिटमा धस्काएका नाम खुरुक्क फिर्ता गर, आश्रयबारे अनि गरुँला विचार । तत्पश्चात्, घनश्यामादि कणहरू सर्वशक्तिमान् प्रभुको कठोर चित्त पगाल्ने हेतुले निजहजुरका चरणमा बफादारीको प्रमाणपत्र अर्पण गर्न र मौसुफतुल्य प्रभुको छत्रछायाँमा मुन्टो लुकाउने दुलो प्राप्त गर्न रातोदिन सास नबिसाई पापड बेलिरहेका छन् ।

घनश्यामादि कणहरूको दुःखको जड निजहरूको अस्तित्वको त्रास हो । क्रा’न्तिकारिताको स्वाँगे अभिनय गर्ने रुढ एवं यथास्थितिमुखी चिन्तनका आडम्बरी पथिकहरू अग्रगामी परिवर्तनको कल्पनासम्मले पनि भयातुर हुन्छन् । आफू बसिआएको घर जतिसुकै जर्जर, फुकिढल र दुर्गन्धित किन नहोस्, त्यो थोत्रो घर छाडेर नयाँ घर बनाउने उद्यम र जोखिमको कल्पना यिनका लागि सर्वथा असम्भव हो ।

एमाले नामको थोत्रो घरमा घनश्यामादि कणका यथास्थितिप्रेमी चित्त टेकाउने केही मूर्त कुराहरू छन् । त्यहाँ दलको संगठनात्मक संरचना छ । दललाई चिनाउने केही महिमामण्डित नामहरू छन् । दलको चुनाव चिह्न छ । र, विचारशून्य झल्ला नै सही, त्यहाँ दोपाया जीवहरूको ठूलै भीड छ । यो संरचना, यी नाम, यो चुनाव चिह्न र यो भिडको बीचमा हुनुको अर्थ सत्ताको नजिक हुनु हो । सत्ताको नजिक हुनुको अर्थ लटालट लाभका पदको आकांक्षी हुनु हो । तर, क्रा’न्तिकारी राजनीतिक र नैतिक मूल्यको ध्वजा बोकेर यो थोत्रो घर परित्याग गरी नयाँ घरको सिर्जनामा लाग्नुको अर्थ शून्यबाट राजनीतिक अस्तित्वको थालनी गर्नु हो ।

यस्तै नूतन थालनीको कल्पनाले घनश्यामादि कणहरूलाई झस्काउँदो हो– राजनीतिको यो भयावह जँघारमा हाम फाल्दा सीपी मैनाली पो भइएला कि ! आखिर जोगी हुन राजनीतिमा लागिया त होइन ! बस्, सिद्धान्तलाई गोली मार ! आदर्शलाई कान्लामुनि फाल ! नैतिकलाई दलाल पुँजीवादको बजारमा बिक्रीमा राख ! लाज–घिनलाई बिर्स ! र, अभ्यस्त, सुरक्षित, सजिलो र लाभदायक बाटो रोज ।

त्यो हो– विनु सुवेदीले सङ्केत गरेझैँ ख्वामित् खड्गप्रसाद शर्मा ओलीको दासताको निरन्तरतालाई स्वीकार गर्नु । बस्, दिगमिगलाग्दो यो चर्चामा योभन्दा धेरै शब्द खर्च गर्नु उदात्त अर्थवाहक शब्दहरूकै अपमान हो ।राजनीतिको दशगजामा उभिएर दक्षिणपन्थतिर फर्केका घनश्यामादि कणहरूले मलाई धेरै अघि चालीस सालमा लेखेको एउटा कथाको स्मरण गराए ।

कथाको विषय राजनीतिको घर हो । आस्थाको घर पनि । र, कथाको विषय गद्दारी पनि हो । वैचारिक छल, नैतिक विकार र भ्रान्तिकारी ढोङप्रति गद्दारी । म यो कथा यहाँ कणहरू घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, योगेश भट्टराई आदिलाई समर्पण गर्छु । राजनीतिक जीवनमा कलङ्कित अनुहारलाई आदर्श र नैतिकताको घोडे साबुनले धुन विलम्ब हुन सक्ला, व्यर्थ कहिल्यै हुँदैन ।

साभारः सिलापत्रबाट

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्