Logo

ओलीको एकताको प्रस्ताव आँखामा छारो हाल्ने खालको – खनाल–नेपाल समूह


नेकपा एमालेको खनाल–नेपाल समूहले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको एकताको प्रस्ताव आँखामा छारो हाल्ने खालको भएको निष्कर्ष निकालेको छ ।

आज बसेको स्थायी कमिटीको भर्चुअल छलफलपछि स्थायी कमिटी सदस्य मुकुन्द न्यौपानेले प्रस्तावमा आएका बुँदा अस्पष्ट भएको र एकताको मनसायका साथ नल्याइएको निष्कर्ष निकालिएको सुनाए ।

“एकतकाको लागि भनिएको प्रस्ताव स्पष्ट छैन । हामीले जेठ २ गते अघिको भनेका छौं । जेठ २ भनेको नवौं महाधिवेशन चुनेका पदाधिकारीहरु र नवौं महाधिवेशनले छानेको नेतृत्व हो ।

तर, प्रस्तावमा जेठ ३ भनिएको छ । जेठ ३ भनेको के हो ? अदालतको फैसला मानेको भए त जेठ ३ को कुनै अर्थ रहेन । ३ गते भन्ने हो भने त्यतिबेला देश संसदबिहीन थिएन । तर, एकताको आह्वान हुँदा मुलुक संसद्बिहीन छ,” उनले भने ।

नेता न्यौपानेले फागुन २८ गतेको भेलाबाट थपिएका २७ जना, केन्द्रीय कमिटी भङ्ग गरेर आयोजक कमिटी बनाइएको, विश्वासको मत लिनुपर्नेमा अविश्वास भएर प्रधानमन्त्रीले विश्वासको मत नै नलिई रातारात संसद भङ्ग गर्ने गैरसंवैधानिक काम गरेको र प्रस्तावमा उक्त विषय उल्लेख नै नगरी मिलाएर लैजान्छु भन्नुको अर्थ नरहेको बताए ।

“यो एकताका लागि गरिएको कुरा जुन छ, त्यो एकताका लागि गरिएको होइन । आम जनता, कार्यकर्ताहरु यो पार्टी एकता भइदिए हुन्थ्यो भन्ने जुन चाहना राख्छन् । उनीहरुको आँखामा छारो हाल्न फ्याँकिएको एउटा कार्ड हो,” उनले भने ।

ओली सच्चिएको भन्ने आफूहरुलाई विश्वास नभएको र उनको वक्तव्यमाथि पनि भरोसा नभएको उनको भनाइ छ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्