Logo

तीस वर्षे पञ्चायत ढालेजस्तै ओलीलाई ढाल्ने विकल्प आन्दोलन मात्र हो – शेखर कोइराला


नेपाली कांग्रेसका नेता शेखर कोइरालाले कामचलाउ भइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्नु गलत भएको बताएका छन्।

प्रधानमन्त्री ओली एकपछि अर्को असंवैधानिक काममा अग्रसर भइरहेको कोइरालाको भनाइ थियो।

कामचलाउ सरकार पुनः विस्तारित हुनु संविधानको बर्खिलाप भएको कोइरालाको भनाइ छ।

विराटनगरस्थित कोइराला निवासमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले निर्वाचनको मिति तोकिसकेपछि सरकार विस्तार गर्नु नै गलत भएको बताए।

‘कुन बाध्यता परेको हो संविधानको विरोध गर्ने समूहलाई सरकारमा ल्याउनु परेको ?,’ कोइरालाले भने, ‘आचारसंहिता लागिसकेको अवस्थामा सरकार विस्तार भएको छ।

गलत संस्कार बसेको छ राजनीतिमा। तत्काल अहिले बनाउनुपर्ने जरुरी के थियो ? ’

निर्वाचन घोषणा भइसकेको अवस्था, संसद् विघटनको मुद्दा अदालतमा विचाराधीन रहेको र त्यो बेला आफूलाई बचाउनको लागि मात्र ओलीले सरकार विस्तार गरेको हो या निर्वाचन नगर्नको लागि प्रष्ट नभएको कोइरालाको आशंका छ ।

‘कांग्रेस मध्यममार्गी शक्ति हो। चुनाव नहुने देखिन्छ। चुनाव भए तीन फोर्सले अघि आउँछ।

एउटा ओली र राजपा, अर्को कांग्रेस हो र अर्को कम्युनिस्ट घटक हुन सक्छन्। माधव–झलनाथ समूह अर्को शक्ति हुन्छ।

संविधान बचाउन र संविधान ट्रयाकमा ल्याउन्जेलसम्म हो, माओवादी अनि कम्युनिस्टसँगको गठबन्धन। तर, कांग्रेस चुनावमा आफ्नै बाटो लागेर जानुपर्छ,’ कोइरालाको भनाइ थियो।

ओलीले सत्ताकब्जाको अभ्यास गरिरहेको भन्दै कोइरालाले कोरोना वा अन्य कारणले चुनाव गराउन नसक्ने अनि सत्ता टिकाउन कम्बोडियन मोडलमा जान खोजेको बताए।

‘कतिपटक त कम्बोडिया नै गएजस्तो लागेको छ। कि विपक्षीलाई सखाप बनाएर जाने बंगलादेशी मोडलमा जान खोजेको हो ?

तीस वर्षे पञ्चायत पनि आन्दोलनले ढलेको थियो। अब ओलीलाई ढाल्ने विकल्प आन्दोलन मात्र हो,’ उनले भने।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्