Logo

चुरे क्षेत्रमा उत्खनन् नगर्न स्थानीयवासीको माग


जिल्लाको चुरे आसपासका बासिन्दाले ढुंगा, गिट्टी, बालुवाका लागि चुरे क्षेत्रमा उत्खनन् नगर्न आग्रह गरेका छन् ।

जिल्लाको आधाभन्दा बढी वन क्षेत्र ओगटेको चुरेमा कमजोर भू–बनोटका कारण हुने भू–क्षयले वर्सेनी सयौँ बिगहा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको र खानेपानीको समस्या उस्तै विकराल भइरहेको उनीहरूले बताएका छन् ।

त्यसमा पनि उत्खनन् बढाए आफूहरूको विचल्ली हुने उनीहरूको भनाइ छ। चुरे क्षेत्रको माटो अत्यन्तै कमजोर प्रकृतिको हुने भएकाले त्यसलाई चलाउनासाथ सबै बग्ने गरेको इश्वरपुर नगरपालिका १२ का स्थानियबासी विनोद कुमार तामाङले बताए ।

वन पैदावार र ढुंगा, बालुवा र गिट्टीका लागि चुरे क्षेत्र उपयोग गर्दा जिल्लाको चुरेफेदीका बस्तीहरु र खेतीयोग्य जमिन बगर बन्दै गएको तामाङले बताए। ‘‘ढलापडा सुक्खा खडाका नाममा चुरे क्षेत्रको वन मास्दै लाने क्रम अझै रोकिएको छैन, त्यसमाथि चुरे दोहन गरी ढुंगा, बालुवा र गिट्टी निकासी भन्दै क्रसर उद्योगहरू ठडिन थालेका छन्,’’ उनले बताए ।

जिल्लाको चुरे खहरेबाट दशकअघि अवैध ढुंगा सङ्कलन गरी भारत निकासी गरेको मार स्थानीयले अहिलेसम्म व्यहोरिरहेको उनले बताए। चुरे खहरेबाट ढुंगा उत्खनन् गरी जिल्लाको इश्वरपुर नगरपालिका ५, लालबन्दी नगरपालिका १७,९,१,११,हरिवन नगरपालिकाका विभिन्न स्थानमा सङ्कलन गरेर दशकअघि भारत निकासी भएको थियो ।

स्थानीयको ठूलो विरोधपछि त्यो क्रम रोकिएको थियो । बाँके र लखनदेहीको बगर उक्सिएर फाँट खेतहरू बगर बन्ने र हिउँदको मौसममा पानीको हाहाकार भई काकाकुल बन्नुपर्ने अवस्था आएको फँडानी र दोहनले गर्दा नै भएको उनीहरूको ठम्याइ छ ।

डिभिजन वन कार्यालय सर्लाहीका अनुसार २९ हजार ७ सय ३६ दशमलव १३ हेक्टर वन क्षेत्रमध्ये १३ हजार ८ सय ६८ हेक्टर अर्थात १३ दशमलव ९ प्रतिशत चुरे क्षेत्रमा पर्छ। कार्यालयका वन अधिकृत तथा सूचना अधिकारी राकेश रन्जन दासले चुरे क्षेत्रको माटो पानी अडिन नसक्ने खालको भएकाले त्यसलाई चलाउँदा बगिहाल्ने बताए ।

‘‘चुरेलाई अलिकती पनि चलाए त्यसबाट विपत्ति शुरु भइहाल्छ, ठूलठूला खहरे बन्छ, खेतीयोग्य जमिन बगर नै बनाउँछ,’’ उनले भने। पछिल्लो पटक चुरे क्षेत्रमा एकातिर खहरे बढेका छन् भने अर्कोतर्फ खेतीयोग्य जमिन बगर बनेको छ ।

यससँगै सुक्खा मौसममा खानेपानीको हाहाकार हुने गरेको जनज्योति मावि लालबन्दीका पूर्व अध्यक्ष मनिष माझीले बताए। ‘‘हामीले देखेका बेला चुरे क्षेत्रबाट एकाधबाहेक खहरे निस्किएका थिएनन्, वन कटानी र ढुंगा, बालुवा निकाल्ने गरेपछि अहिले दर्जनौँ नयाँ खहरे बनेका छन्,’ उनले बताए ।

चुरे क्षेत्र जिल्लाको इश्वरपुर नगरपालिकादेखि बागमती नगरपालिकासम्म पर्छ । जिल्लामा पर्ने चुरेको ६० किलोमिटर क्षेत्रमा पूर्वपश्चिम लोकमार्ग पर्दछ। सडक बिस्तार, नदी दोहनले चुरे क्षेत्र कमजोर भएकाले उत्खनन् भन्दा संरक्षणमा जोड दिनुपर्ने सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीकी अध्यक्ष कृष्णा पौडेलले बताए ।

जिल्लाका सामुदायिक वन व्यावस्थापन गरेर चुरे क्षेत्र संरक्षणको जिम्मा उपभोक्तालाई दिनुपर्ने उनले बताए। ‘‘यतिखेर त्यही चुरेमा सबैका आँखा गडेका छन्। चुरेमा दोहन शुरु हुनासाथ अर्को प्राकृतिक विपत्ति आइलाग्छ ’’ उनले भने ।

पूर्व पश्चिम लोकमार्गलाई लक्षित गरेर चुरे क्षेत्रमा खुलेका क्रसरहरूले यतिखेर जरा गाड्न थालेका छन्। डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख माधवप्रसाद देवका अनुसार जिल्लामा सागरनाथ वन विकास परियोजना छ हजार छ सय ६९ दशमलव १५ हेक्टर, सामुदायिक वन १३ हजार ७ सय ३८ हेक्टर, धार्मिक वन ६ दशमलव ६४ हेक्टर, कवुलियती वन ६४ दशमलव १४ हेक्टर, साझेदारी वन ५ हजार ४ सय ३१ दशमलव ४२ हेक्टर र राष्ट्रिय वन ३ हजार ८ सय २७ दशमलव ३५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।

यता राष्ट्रिय गौरवको आयोजना पूर्व पश्चिम रेल मार्गको ट्रयाक निर्माणको काम गरिरहेको गजुरमुखी निर्माण सेवा प्रालीले पनि रेल्वेको ट्रयाक बनाउने बाहनामा ठेक्का लिएर नदीजन्य पदार्थ अन्यन्त्र बिक्री गर्ने गरेको पाइएको छ । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्