नेपालसहित एसियाली मुलुकलाई करिब ७० लाख डोज कोरोना खोप दिने अमेरिकाको घोषणा
काठमाडौँ — अमेरिकी राष्ट्रपति जोन बाइडेनले नेपाललगायत विभिन्न एसियाली मुलुकलाई करिब ७० लाख डोज खोप उपलब्ध गराउने घोषणा गरेका छन् । उक्त सूचीमा कोरोना महामारीबाट निकै प्रभावित मुलुक भारत पनि छ ।
७० लाख खोप नेपाल, भारतसहित बंगलादेश, पाकिस्तान, श्रीलंका, अफगानिस्तान, मालदिभ्स, मलेसिया, फिलिपिन्स, भियतनाम, इन्डोनेसिया, थाइल्यान्ड, लाओस, पपुवा न्यु गिनी, ताइवान र प्यासिफिक आइल्यान्डलाई बाँडिनेछ । यी मुलुकलाई कति-कति डोज खोप उपलब्ध गराउने भन्ने कुराचाहिँ खुलाइएको छैन ।
नेपाललाई खोप उपलब्ध गराउने घोषणा गरेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद व्यक्त गरेका छन् । साथै उनले यसले नेपाल-अमेरिका सम्बन्ध अझ मजबुत हुने पनि बताएका छन् ।
अमेरिकाले फाइजर-बायोएनटेक, मोडर्ना र जोन्सन एन्ड जोन्सनले उत्पादन गरेको कोरोना खोप दिन लागेको हो ।



