नेकपा (एमाले)को स्थायी कमिटी बैठक अहिले बालुवाटारमा बसिरहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू बैठकमा एमालेभित्रको विवादबारे छलफल हुँदैछ।

बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षका नेतासँग सोमबार भएको वार्ताबारे समेत छलफल हुँदैछ।

अघिल्लो स्थायी कमिटी बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका थप १२ नेतालाई स्पष्टीकरण सोधेको थियो ।

आजको बैठकमा उनीहरुलाई कारबाही गर्नेबारे निर्णय नहुने एमालेका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

“हामी पार्टीबाट कसैलाई कारबाही गर्ने पक्षमा छैनौँ । सकेसम्म पार्टी एकता जोगाउनुपर्छ भन्ने पक्षमा छौँ ।

आजको बैठकमा स्पष्टीकरण सोधिएका १२ नेतालाई कारबाही गर्ने तयारी छैन,” उनले भने ।

यसअघि ओलीले वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, मुकुन्द न्यौपाने, भीम रावलसहितका ११ जना नेतालाई पार्टीबाट निष्कासन गरिसकेका छन्।

अघिल्लो बैठकले नेताहरू सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोधेको थियो ।