इराकसँग नेपालको फराकिलो हार

इराकविरुद्धको मैत्रीपूर्ण खेलमा नेपाल ६-२ गोलले पराजित भएको छ।
इराकको बसरामा शनिबार मध्यरातमा भएको खेलको सातौं मिनेटमा घरेलु टोलीले अग्रता लिएको थियो। उसका लागि कप्तान अली अब्दुल जहर खासिनले फ्रिकिकमा उत्कृष्ट गोल गरे।
एक मिनेट नबित्दै नेपालले बराबरी गोल फर्कायो। आठौं मिनेटमा अन्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका अब्राहम खलाफलेआफ्नै पोस्टमा गोल गरेका थिए।
३० औं मिनेटमा डेब्यू खेलाडी मनिष डाँगीको गोलमा नेपालले खेलमा अग्रता लियो। सन्तोष तामाङको पासलाई डाँगीले इराकका गोलरक्षक अघि बढेको अवस्थामा गोल गरेका थिए।
४० मिनेटसम्म २-१ ले अग्रता लिएको नेपालले त्यसपछि पहिलो हाफमा तीन गोल खान पुग्यो।
४० मिनेटमा इराकले बराबरी गोल फर्कायो। कर्नरमा मोहमद अब्दुल्जारा हेडमार्फत बराबरी गोल गरेका थिए।
अर्को मिनेटमा इराकले तेस्रो गोल गर्यो। अयमन हुसेनले तेस्रो गोल गरेका थिए।
यस्तै पहिलो हाफको इन्जुरी समयमा हुसेनले व्यक्तिगत दोस्रो गोल गर्दै इराकको अग्रता दोब्बर पारे।
दोस्रो हाफमा इराकले थप दुई गोल गर्यो। ६८ मिनेटमा सुमन अर्यालको ब्याक पास मिस हुँदा अली अलसम्मारीले इराकका लागि पाँचौ गोल गरे।
७४ मिनेटमा सज्जदा जसमिले पेनाल्टी बक्सबाट उत्कृष्ट गोल गर्दै इराकको अग्रता ६-२ मा पुर्याएका थिए।
नेपालले आगामी साता कुवेत हुने फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो।
अब नेपाल इराकबाट छनोट प्रतियोगिता खेल्ने कुवेत प्रस्थान गर्नेछ।
विश्वकप छनोटको तयारीमा रहेको नेपालले फिफा वरीयतामा माथिल्लो स्तरको इराकविरुद्ध खेलेको हो ।
नेपालको सुरुवाती(११
गोलकिपर – किरण चेम्जोङ
डिफेन्डर – रोहित चन्द, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल
मिडफिल्डर – मनिस डाँगी, पुजन उपरकोटी,सन्तोष तामाङ
फरवार्ड – अन्जन विष्ट, नवयुग श्रेष्ठ,सुमन लामा