Logo

महान जनयुद्व र संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल-जिन्दावाद!


 

सर्वत्र स्थापित छ कि दस बर्षको महान जनयुद्वले राजनीतिक क्षेत्रमा संघीय लोकतान्त्रीक गणतन्त्रसम्म र साँस्कृतिक क्षेत्रमा देशको सबै समुदाय र तहमा राष्ट्रीय चेतना जागरण ल्यायो। यो एक प्रकारले चौधौं शताब्दीमा यूरोपको पुनर्जागण सरह हो। यूरोपेली पुनर्जागरणले समानता, स्वतन्त्रता र बन्धुभावको तीन माग अघि सारेको थियो। जनयुद्वको माध्यमले एक्काइशौं शताब्दीको नेपालमा वस्तुतस् तिनै माग गरिएको थियो। सामान्यतस् राष्ट्रीयता, जनवाद र जनजीविका एवं विशेषतस् श्रमिकवर्ग, जाति, क्षेत्र, महिला र देशभक्तहरुको संयुक्त राज्यसत्ता निर्माणको माग थियो, महान जनयुद्वको। यसर्थमा तत्कालीन नेकपा (माओवादी)ले नयाँ शताब्दीको नयाँ राजनीतिक माग अघि सारेको थियो।

भन्नै पर्छ, माओवादी जनयुद्वको उभार नउठाइएको भए देशका मजदुर-किसान तथा सुकुम्वासी श्रमिकहरु जनआन्दोलनमा जसरी जागे, त्यो सम्भव थिएन। दलित, जनजाति, मधेसी-मुस्लिम र महिलाहरु जसरी जागरुक बने, त्यो सम्भव थिएन। जनयुद्व र गणतन्त्र नै हो, जसले सुकदैया थारु, माया चेपाङ तथा असर्फी सदालाई संविधानसभाको माननीय सदस्य तुल्यायो। अतस् राजनीतिक एवं साँस्कृतिक दृष्टिले महान जनयुद्व सफल रह्यो।

त्यत्ति मात्र होइन, जनयुद्व र गणतन्त्रको अभावमा आजका केही अधिकार सम्पन्न ७५३ स्थानीय सरकार, हिमाली गाउँपालिकासम्म ट्राक्टर दौडने कच्ची सडक अनि ८० प्रतिशत नेपालीको हाह-हातमा मोबाइल फोन सम्भव थिएन। परन्तु, माओवादीले भने जस्तो स्वाधीन राष्ट्रीय अर्थतन्त्र चाहिँ बन्न सकेको छैन। परिणाम, स्वदेशी उत्पादन र निर्माणमा आधारित आत्मनिर्भर अर्थप्रणाली, विपन्न तथा मजदुर-किसान प्राथमिकताको वितरण प्रणाली, भष्टाचार निवारण, वैदेशिक ॠण खारेजी र स्वाधीन अर्थतन्त्र निर्माणको मार्ग प्रशस्त हुन सकिरहेको छैन। यो नै वर्तमान नेपालको दु:खको कारण हो।

दु:खको कारणको पृष्ठभूमिमा नेपाली क्रान्तिले पूर्णता प्राप्त गरिसकेको छैन। जनयुद्व र जनआन्दोलनको उभारलाई क्रान्तिकारी ढंगले ब्यवस्थापन गर्न सकिएन। यसो हुनुका पछाडी मुख्य जिम्मेवार माओवादी नै हो, जसले जनयुद्व समान गणतन्त्र नेपालमा “जसको विचार, उसको नेतृत्व” स्थापित गर्न सकिएन। बाह्य कारणहरु सहायक हुन।

जहाँसम्म “जनयुद्वले क्ष्यति गर्यो” भन्ने प्रश्न छ, यो वर्गदृष्टिकोणको प्रश्न हो। नेपाली जनयुद्व वस्तुत: वर्गयुद्व थियो। त्यसैले त्यसले शोषक र शोसित दुवै वर्गको बराबरी सेवा गर्न सम्भव हुँदैनथ्यो। जनयुद्वले मजदुर-किसान तथा सुकुम्वासी श्रमिक, उत्पीडित जाति समुदाय, महिला र देशभक्तजनको प्रत्यक्ष सेवा गर्दथ्यो भने जाली फटाहा, शोषक सामन्त र सुराकीमाथि अधिनायकत्व कायम गर्दथ्यो। प्रथम संविधानसभासम्म अग्रगामी शक्तिको हैसियतमा रहेको माओवादी, पार्टीभित्रै उत्पन्न वाम विसर्जनवादका कारण अधिकतम् प्रगतिशील संविधान निर्माणको ऐतिहासिक अवसरबाट चुक्यो। दोस्रो संविधानसभामा हदैसम्म कम्जोर बनेको माओवादीले धन्न न्युनतम् प्रगतिशील संविधान मार्फत गणतन्त्रलाई संस्थागतसम्म गरियो।

ईतिहास साक्षी छ, विश्वको जुन जुन मुलुक आज विकसित देखिन्छन, ती मुलुकहरुमा भीषण युद्वहरु भएका थिए। कोही न्यायपूर्ण भए होलान, कोही अन्यायपूर्ण। परन्तु, समाज विकासका निम्ति वर्गयुद्व एक अनिवार्य नियम हो। त्यसैले कार्ल मार्क्सले भनेका छन- “आजसम्म अस्तित्वमा रहेका समाजहरुको ईतिहास वर्गसंघर्षको ईतिहास हो।” त्यसैले सामन्तवाद विरोधी कवि लिङ्ती मिङ्लाई उधृत गर्दै माओ त्सेतुङले भनेका छन- “रोगी समाज फष्टाउन मानिसको रगतको मल लगाउनु पर्छ।” प्रख्यात साहित्यकार लू शुनले भनेका छन- “चीन ढिलो छ, चीन अल्छी छ। त्यसैले यो विश्वमा धेरै पछि परेको छ। तर, अब एक बादसाह जन्मने छन, जसले चीनलाई हजार कोर्रा हान्ने छन र द्रूत गतिमा दौडाउने छन।”

सायद त्यो क्रान्तिकारी बादसाहको स्थान माओले लिन पुगे।

हामीलाई गहिरो अनुभव छ, द्वन्दवादको नियम अनुसार नै युद्वका दुई पक्षहरु हुन्छन। नकारात्मक पक्षमा युद्वले असल प्रतिभाहरुको वलिदान अर्थात हत्या गर्छ, सकारात्मक पक्षमा युद्वले मानिसको अन्तस्करण जगाउँछ। त्यही जागेको अन्तस्करणले मानिसको समाजलाई अग्रगति दिलाउने हुन्छ। तपाइँ-हामीले विचार गरौं, जनयुद्व अघिका नानीहरु निकै सोझासिधा हुन्थे, तर जनयुद्वयताका नानीहरुलाई हेर्नुस, यी कति चतुर छन! सुगौली सन्धिदेखि नेपालीहरु विदेशी युद्वमा त लाखौं होमिए, तर स्वदेश निर्माणका युद्वहरुमा माओवादी जनयुद्व नै सर्वोच्च सँश्लेष्ण हो। अत: महान जनयुद्वलाई हेर्ने दृष्टिकोण श्रमिकवर्गीय हुन जरुरी छ, अभिजातवर्गीय होइन।

“क्रान्तिकारी ब्यवस्थापन” कसरी गर्ने? शान्तिपूर्ण सडक आन्दोलनको कार्यनीति र महान जनविद्रोहको रणनीतिमा देशभक्त जनक्रान्ति उठान गर्नु पर्छ। आफ्नो स्थापनाकालदेखि नै कम्युनिस्ट पार्टीले नेपालमा राष्ट्रीय स्वाधीनता, जनवाद र जनजीविकाको तीन कार्यभार उठाउदै आयो। परन्तु, अनुभवले शिक्षा दियो कि राष्ट्रीय स्वाधीनता केन्द्रीत आन्दोलन सफल नगरिएसम्म नेपाली जनताको क्रान्तिकारी ब्यवस्थापन सम्भव हुँदैन। कानूनत: इतिहासमा सदा स्वाधीन रहँदै आएको नेपालमा एमसीसी मार्फत इण्डो-अमेरिकी सेना उतार्ने देशद्रोही अपराधतर्फ एमाले गुट जसरी तल्लीन बनेको छ, त्यसले निश्चय नै देशभक्तिपूर्ण महान जनविद्रोह श्रीष्टि गर्नेछ। सबल नेतृत्व निर्माणका लागि सर्वप्रथम माओवादी ध्रूवीकरणमा जोड गरौं!

चौधौं गणतन्त्र दिवश्को उपलक्षमा सह-देशवासीजनमा यही शुभकामना!

(गोपाल किरातीको फेसबुकबाट)

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्