Logo

अमेरिकी गुप्तचर निकायलाई कोरोना भाइरसको उत्पत्तिबारे ९० दिनभित्र अनुसन्धान गरी रिपोर्ट पेस गर्न अमेरिकी राष्ट्रपतिको आदेश


काठमाडौँ — अमेरिकी राष्ट्रपति जो बाइडेनले गुप्तचर निकायलाई कोरोना भाइरसको उत्पत्तिबारे अनुसन्धान गरी ९० दिनभित्र रिपोर्ट पेस गर्न आदेश दिएका छन् ।

कोरोना भाइरसको उत्पत्तिका बारेमा विवाद बढिरहेका बेला राष्ट्रपति बाइडेनले गुप्तचर निकायलाई कोरोना भाइरसको उत्पत्ति कहाँबाट भयो भन्ने कुरा पत्ता लगाई ९० दिनभित्र रिपोर्ट पेस गर्न आदेश दिएका हुन् ।

बाइडेनले बुधबार एक वक्तव्य जारी गर्दै अमेरिकी गुप्तचर निकायलाई आदेश दिएका हुन् । उनले भनेका छन्, ‘आफ्ना प्रयासलाई अझै बढाउनुहोस् र ९० दिनभित्र यसको रिपोर्ट पेस गर्नुहोस् ।’ राष्ट्रपति बाइडेनले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको हो वा प्रयोगशालामा भएको दुर्घटनाले फैलिएको हो भन्ने कुरा पत्ता लगाउन पनि आदेश दिएका छन् ।

कोरोना भाइरसको संक्रमणको पहिलो घटना सन् २०१९ को डिसेम्बरको अन्त्यमा चीनको हुबेई प्रान्तको राजधानी वुहानमा देखिएको थियो । कोरोना भाइरसबाट अहिलेसम्म विश्वभर १६ करोड ८० लाखभन्दा बढी संक्रमित भएका छन् भने करिब ३५ लाखको ज्यान गएको छ । चिनियाँ प्रशासनले वुहानको सीफूड मार्केटमा पहिलो पटक संक्रमण देखिएको दाबी गर्दै आएका छन् । वैज्ञानिकहरुले कोरोना भाइरस चमेरो हुँदै कुनै जनावरमार्फत मानिसमा सरेको प्रबल सम्भावना रहेको बताउँदै आएका छन् ।

तर केही दिन पहिले अमेरिकी सञ्चारमाध्यममा छापिएको रिपोर्टमा भने वुहानस्थित एक प्रयोगशालाका कर्मचारी बिरामी भएको बताइएको थियो । अमेरिकी गुप्तचर निकायको रिपोर्टलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलमा प्रकाशित एक रिपोर्टमा वुहानमा कोरोना भाइरसको संक्रमित भेटिनुअघि नै वुहानस्थित एक प्रयोगशालाका कर्मचारी बिरामी भएको दाबी गरिएको छ । तर उक्त रिपोर्टको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्