सभामुख संविधानविद्हरूसँग संसद् विघटनबारे छलफल गर्दै

काठमाडौँ- सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधिसभा विघटनबारे संविधानविद्हरूसँग परामर्श गर्ने भएका छन् ।
सभामुखको सचिवालयका अनुसार बानेश्वरस्थित संसद भवनमा बिहीबार (आज) दिउँसो १ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनबारे छलफल गर्न सभामुखले संविधानविद्हरूलाई डाकेका हुन् ।
सभामुखकका प्रेस संयोजक श्रीधर न्यौपानले प्रतिनिधिसभा विघटनबारे परामर्श गर्न कानुन तथा न्यायिक क्षेत्रका विज्ञहरूलाई सभामुखले डाकेको बताए।
बुधबार (हिजो) सापकोटाले पूर्वसभामुखहरूसँग समेत छलफल गरेका थिए।
छलफलमा उनले संसद्को रक्षाका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताएका थिए ।
सभामुख सापकोटाले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको टिप्पणी गर्दै आएका छन् ।