उभौली चाड किरातीले भूमेस्थानमा पूजा आराधना गर्दै मनाए [फोटो फिचर]
काठमाडौँ: प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन किराँत राई समुदायले मनाउने उँभौली चाड हिजो देशभरका भूमेस्थानमा पूजा आराधना गरी मनाइएको छ ।
नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका कारण भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर सीमित व्यक्तिले भूमेस्थानमा पूजा आराधना गरेका छन् ।
बाली लगाउनुअघि गाउँ-गाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा किराँत समुदायमा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गी लगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाई छ । यो पर्व प्रकृतिपूजक भएको यस विषयका अनुसन्धाताको भनाई छ ।
मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस हिजोदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेती पाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने पनि रहेको किराँत समुदायको चाडपर्वका विषयमा अनुसन्धातरत समाजशासत्री कीर्तिकुमार दुमी राईले बताए । यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ ।
किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ । यस वर्ष डेढ महीनादेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण निश्चित मानिस मात्र बसेर पूजाको विधिमात्र पूरा गरिएको किराँत राई यायोक्खाले जनाएको छ ।
ललितपुरको सानो हात्तीवनमा रहेको साकेलास्थान जसलाई किराँत समुदायले पितृको पूजा स्थलका रुपमा मान्छन् त्यहाँ समेत पूजारीले विधिपूर्वक पूजा आराधना गरिएको छ । विगत वर्षमा हजारौँ मानिस हात्तीवनमा जम्मा भई चण्डी र साकेला नाचका साथमा प्रकृति र पितृको पूजा आराधना गरिन्थ्यो । विगत वर्ष र यस वर्ष पनि कोरोना महामारीका कारण त्यसो गर्न नसके पनि पूजा विधि भने पूरा भएको यायोक्खाले जनाएको छ ।
खोटाङको ऐँसेलुखर्क गाउँपालिकाका मानिसले भने यो पर्व जेठ २२ गतेपछि मनाउने तयारी गरेका छन् । ऐँसेलुखर्कका मानिसले प्रत्येक वर्ष जेठ २२ पछि यो पर्व मनाउने परम्परा छ । किराँत समुदायमा पनि एकथरीले उँभौली पर्व उत्तरायण शुरु हुने दिन माघ १ गते नै मनाउने गर्छन् । उँधौली भने दक्षिणायन शुरु हुने दिन पारेर साउन १ गते मनाउने गरेको किराँत धर्मगुरु चन्द्रकुमार शेर्माले बताए। रासस
फोटो : किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका अध्यक्ष दिवस राईको फेसबुकबाट।