Logo

प्रधानमन्त्रीले विश्वासको मत नलिने : अब नयाँ सरकार गठनसँगै मुलुक निर्वाचनको बाटोमा


काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले ३० दिनभित्र विश्वासको मत नलिने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन् ।

बैठकले संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय समेत गरेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले संविधानको धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री बनेका ओलीले उपधारा ४ बमोजिम एक महिनाभित्र प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त नभएमा उपधारा ५ को प्रक्रिया सुरू हुने बताए। उनले भने, ‘भर्खरै विश्वासको मत प्राप्त नभएर धारा ७३ को उपधारा ३ बमोजिम सरकार बनेकाले उपधारा ४ बमोजिम जाँदा पनि विश्वासको मत प्राप्त हुने आधार नभएकाले मार्ग प्रशस्त गर्न खोजिएको हो ।

गुरुङका अनुसार संसदको अहिलेकै संरचनाबाट विश्वासको मत प्राप्त हुने आधार नभएकाले धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि संवैधानिक मार्ग प्रशस्त्र गर्न प्रधानमन्त्रीले राष्ट्रपति समक्ष आग्रह गर्ने भएका छन् ।

अब संवैधानिक व्यवस्था उपधारा ५ बमोजिमको प्रक्रियामा जाँदा बहुमत सदस्यको समर्थन रहेको आधार पेस गर्ने कुनैपनि सांसदलाई राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्ति गर्नेछिन्। त्यसरी नियुक्त भएको प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत नपाएमा नयाँ सरकार बन्न नसकी प्रतिनिधिसभा स्वतः भंग भइ प्रधानमन्त्री ओलीकै नेतृत्वमा निर्वाचनको मिति घोषणा हुनेछ ।

Key Alternative Media

‘मुन्धुम’ भनेको दर्शन हो भने ‘स्टार’ भनेको बिचार हो ।”

प्रतिक्रिया दिनुहोस्