-निनाम कुलुङ ‘मंगले’

हालसम्म नेपाल सरकारले नेपालका आदिवासी जनजातिहरु यी–यी जातिहरु हुन् भनी ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन–२०५८’ अन्तर्गत सूचीकृत गरेको ५९ जाति रहेका छन् । सो सूचीमा ‘राई !’ जातिको सूची पनि रहेको देखिन्छ । तर, हामीले जत्ति पटक ‘अकबरी सुन !’ ले कसी लगाउन खोजे तापनि सुरुमा ‘राई !’ शब्दले नेपालका कुनै पनि जात वा जाति जनाउँथेन । किनभने, ‘राई !’ शब्दको व्युत्पत्ति ‘राय’ हो भने ‘राय’ शब्दले सुरुमा कर्णाली भेगमा ‘राजा’ भन्ने अर्थ जनाउँथ्यो ।

इतिहास नै हेर्ने हो भने पनि ‘राय’ वा ‘राई’ शब्दको प्रयोग सेन शासनकालभन्दा पर गएको देखिँदैन । हुन पनि सेनकालमा हालको ‘प्रधानमन्त्री’ वा ‘मन्त्री’सरहको ‘राय’ पद पाएका बुद्घिकर्ण ‘राय’ अहिले तेह्रथुम जिल्लामा पर्ने छ–थर भेगका एक थरी लिम्बुहरुको वंश वा भनौं पूर्खा भएको प्रमाणित भएको छ । यसरी इतिहास हेर्दा असलियतमा ‘राई !’ कुनै जात वा जाति नभएर ऊ वेलाका (शाह राजाहरु र श्री ३ महाराज/राणा) शासकहरुले नेपालको भगौलिक एकीकरणपछि पूर्वमा एकै रहेको किरात भूगोललाई समेत फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाए । साथै ती भूगोलका किरातीका सन्तान जो स्थानीयस्तरका पहुँचवाला र हुनेखाने थिए, उनीहरुलाई स्थानीयस्तरका राजा वा शासक बनाउन विभिन्न पदवी र पगरीहरु सिर्जना गरे । जस्तै वल्लो किरातका कोईँच (सुनुवार) लाई ‘मुखिया’, माझ किरातका कुलुङ लगायत १६ खम्बुका सन्तानहरुलाई ‘राय’/‘राई’ र पल्लो किरात (लिम्बुवान) का लिम्बु र लाप्चालाई ‘सुब्बा’ पदवी/पगरी दिईयो । यस्तो पदवी/पगरी पाएका मान्छेहरु वा उनीहरुका सन्तानलाई ‘जिम्मुवाल/जिम्मावाल’ अथवा ‘तालुकदार/तालुकी’ पनि भन्ने गरिन्छ । पछि गएर त बाहुन, क्षेत्री, गुरुङ, मगर, माझी, दनुवार, नेवार लगायत नेपालका विभिन्न जातजातिका हुनेखाने मानिसहरुले पनि यस्तो ‘मुखिया’, ‘राय’/‘राई’, ‘सुब्बा’ पदवी वा भनौं पगरी पाउन थाले । ऊ वेला त्यस्तो पदवी वा पगरी पाएका मानिसहरु र तिनका सन्तान–दर सन्तानहरुलाई अहिले पनि फलानो ‘जिम्मुवाल/गाउँघरमा जिम्मावाल’ अथवा ‘तालुकदार’ भनी सम्बोधन गर्ने प्रचलन हटी सकेको छैन ।

लेखक निनाम कुलुङ ‘मंगले’

स्मरण रहोस्, ‘मुखिया’, ‘राय’/‘राई’, ‘सुब्बा’ पदवी/पगरी पनि धेरै खालका हुन्थे । जस्तै ५ पगरी, ९, पगरी १२, पगरी १६ पगरी, २० पगरी हुँदै ५२ पगरीसम्मको ठूलो ‘पदवी/पगरी’हरु थिए । यस्तोे ‘पदवी/पगरी’ पाएका ‘राई’का सन्तानहरु काठमाण्डौमै पनि प्रशस्तै भेटिन्छन् । ‘सुब्बा’ पनि सानो ‘सुब्बा’ (बडा दसैँको महानवमीको दिन मौलोमा बोका मात्रै मार हान्न पाउने), ठूलो ‘सुब्बा’ (जसलाई मौजे सुब्बा भनिन्थ्यो) मौलोमा राँगा मार हान्न पाउने ‘सुब्बा’ । अमाली ‘सुब्बा’ (कानुन मात्रै हेर्ने ‘सुब्बा’ । यस्तो ‘सुब्बा’को छोरो पूर्व प्रमुख जिल्ला अधिकारी मञ्जुल कुमार याक्थुङ्बा हुनु हुन्छ । त्यस्तै माथि नै एक प्रसंगमा भनियो कि, पछिल्लो समयमा नेपालमा जुनसुकै जात वा जातिका मानिसहरुले पनि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’ पदवी वा पगरी पाएका थिए । त्यसरी जुनसुकै जात वा जातिका मानिसहरु ‘मुखिया’ हुने क्रममा खोटाङ जिल्लामा रोका क्षेत्री पनि ‘मुखिया’ भएका थिए । थप पुस्टिका लागि हेर्नुहोस्, हरि रोकाको २०६० मा हिमाल खबरपत्रिकामा प्रकाशित एक लेख ।

किरातीहरुको वंशावलीको सन्दर्भमा भन्नु पर्दा गोपाल राज वंशावली अनुसार ३२ पुस्ता, डेनियल राइटको वंशावली अनुसार २९ पुस्ता, जीपी सिंहका अनुसार २९ पुस्ता, कर्कपेट्रिकको वंशावली अनुसार २७ पुस्ता, सिल्भँ लेभीका अनुसार २८ पुस्ता, इतिहास प्रकाशन अनुसार २५ पुस्ता, डा. स्वामी प्रपन्नाचार्य उर्फ काले राईका अनुसार २८ पुस्ता र ‘सुब्बा’ प्रेमबहादुर माबोहाङका अनुसार २८ पुस्ता, धरणीधर दाहालका अनुसार ३५ पुस्ता र भुपेन्द्रनाथ शर्मा ढुंगेलका अनुसार ३३ पुस्ता किराती राजाहरुले (काठमाडौ उपत्यकामा) राज्य चलाएका थिए । यसबाहेक एसियाको विभिन्न क्षेत्रहरुमा किरातीहरुले शासन चलाईआएका थिए । हालको भारत र नेपालका भू–भागहरुमा नै पनि किरातहरुको अनेक संंप्रभु सम्पन्न राष्ट्रहरु अस्तित्वमा थिए भन्ने गरिन्छ । तर, आजभोलि भने, किराती महाजातिभित्रका १६ खम्बुका सन्तानहरु धेरै जसो नेपालका अन्य जात वा जातिहरुमाझ ‘राई !’ भनी चिनिन थालेका छन्, जुन कुरो माथि नै पनि उल्लेख भएको छ । लाग्छ अब उनीहरु सबै ! आफ्नो असली जातीय स्वपचिान बुझेरभन्दा पनि भीडको राजनीति गर्न (संख्या देखाएर राजनीतिक फाइदा लिन/दिन) आफूहरु ‘राई !’ भएका छन्, कुलुङ लगायत अरुहरुलाई पनि ‘राई !’ नै बन्न बलजफती गरी रहेका छन् । जस्तै उदाहरणका लागि विसं २०६८ को राष्ट्रिय जनगणनामा अलग्गै जातिका रुपमा तथ्यांकमै आई सकेका कुलुङ जाति लगामयत अन्य १२ जातिलाई पनि कथित् ‘राई !’ जातिमा गाभ्ने असफल प्रयास गर्ने गर्छन्÷गरी रहेका छन् । त्यसैले भीडको जमात देखाएर राजनीतिक नियुक्ति लगायत अन्य फाइदा लिन पल्केका राईवादी कामरेडहरु ‘१० चुला, १० राई !, १० खोला’को अकबरी सुनको कसी पनि लगाउन खोज्छन् । साँच्चै जातीय स्वपहिचान स्थापित गर्ने, भाषा, धर्म, रीतिथिति, संस्कार, संस्कृति, रहनसहन, भेषभुषाको सम्बद्र्धन गर्ने आत्मनिर्णयको अधिकार लागू गर्ने, समतामूलक समाज निर्माण गर्ने चाहना भएको भए, समानुपातिक समावेशीताको चाहना भएको भए राईवादी कामरेडहरुले निश्चय नै कुलुङ लगायत राईकरणको मारमा परेका १६ खम्बुका सन्तानहरुलाई जबरजस्ती ‘राई !’ बन भन्ने थिएनन् होला ! तर, हाम्रो भनाइ (कुलुङ समुदायका अगुवाहरु) का के मात्रै हो भने, अब हामी विगतमा शासकहरुले दिएको ‘राई !’ पदवी वा पगरीलाई होइन, ‘सके कुलुङ आदि भनेरै चिनिऊँ, नभए १६ खम्बुको चिनारीमा जाऔं, त्यसो पनि नभए, उसो पनि नभए जो कोहीले आ–आफ्नो आत्मनिर्णयको अधिकारको प्रयोग गरौं’ भन्ने हो । स्मरणीय के छ भने, आत्मनिर्णयको अधिकार भन्दैमा कुलुङ जातिका अगुवाहरुले ‘हामी कामी हौं, कुलुङ होइनौं !’ भनेका छैनौं । त्यसैले हालसम्म थाहा नभएर, रहरले, वाध्यताले अथवा जोर–जबर जस्तीले हामीले आफ्नो नामको पछाडि ‘राई !’ भन्दै वा लेख्दै आएको भए तापनि अबदेखि जो कोहीले आ–आप्mनो आत्मनिर्णयको अधिकारको प्रयोग गरौं । त्यही भएर ‘राई ! हुने÷लेख्न चाहनेहरु ‘राई !’ नै लेख्नु होस्, राई नै हुनु होस्, त्यसमा हाम्रो विरोध, विरोध वा विमति छैन, थिएन । त्यस्तै राईवादी कामरेडहरुले पनि हामी (कुलुङ) लाई हाम्रो आप्mनो असली जातीय स्वपचिान ‘कुलुङ’ ले चिनिन दिनु होस् भन्ने हो । त्यसैले आगामी १२ औं जनगणनामा हामीलाई ‘कुलुङ’ लेख्न दिनु होस् भन्ने हो । सत्य तीतो नै भए तापनि वाध्यचावश यहाँ एउटा सत्य–तथ्य ओकल्नैपर्ने हुन्छ । त्यसरी तीतो सत्य ओकल्नु पर्दा विसं २०६८ को ११ औं जनगणनामा नेपालका अन्य जातजातिहरु जस्तै कुलुङ लगायत १२ वटा जातिहरु जो जानेर वा नजानेर त्यस अघिको तथ्यांकमा ‘राई !’ जातिमा गाभिएका थिए, उनीहरुको तथ्यांक पनि अन्य जातजातिहरु जस्तै अलग्गै जातिका रुपमा आउँदै थियो । सो कुरो चाल पाएर राईवादी कामरेडहरु (खास गरी कतिथ् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एक एनजिओका हर्ताकर्ताहरु) ले उखर–माउलो गरी वाधा वा विरोध गरेका थए । त्यसका बाबजुद पनि कुलुङ लगायत १२ वटा जातिको तथ्यांक प्रकाशित भएको थियो ।

त्यसो त अहिलेसम्म पनि ‘राई !’ के हो ? जात वा जाति हो कि, पदवी÷पगरी मात्रै हो ? भन्ने बारेमा नेपालका मै हुँ भन्ने ईनेगिनेका बुद्घिजीवी, विश्लेषक, लेखक, प्रा., डा., प्राडा, …विद, …विज्ञ भनिनेहरु समेत प्रस्ट छैनन् । उनीहरुले नै दिन कटनी गरेर ‘एक जाति राई, २८ भाषी राई !’ भनी अन्टसन्ट लेख्दै बसेपछि त हामी जस्तो कुलुङे ढाक्रेहरुको त के नै .. । वास्तविकता यस्तो भएपछि जानाजान ‘मिसइन्फर्मेसन’, ‘डिसइन्फर्मेसन’ र ‘मालइन्फर्मेसन’ दिने नेपालका पत्रकारहरुलाई त के नै भन्नु र ? त्यसैले त उनीहरु ‘सुझो न बुझो टिकी ट्याँस्–ट्याँस !’ भने झै एक जाति ‘राई !’ २८÷२९ भाषी ‘राई !’ भनी उनीहरु पनि ‘सुगा रटाई !’ गरेर समाचार दिई रहेका छन्, लेख रचना र फिचरहरु छापिई रहेका छन्, दिन कटनी गरी रहेका छन् ।

माथि एक प्रसंगमा भनिएकै छ कि, ‘राय’/‘राई !’ शब्द बढीमा सेनकालखेखि मात्रै हालको प्रधानमन्त्री वा मन्त्री जस्तै पद वा पगरीको रुपमा प्रयोगमा आएको हो । साथै शाह–राणाहरुको शासनकालदेखि नेपालमा केही सीमित व्यक्ति (मुख्खेली) हरुले मात्रै आफ्नो नामको अघि नै (हाल प्रधानमन्त्री केपी शर्मा ओली वा भूतपूर्व प्रधानमन्त्री मरिचमान सिंह श्रेष्ठ भने जस्तै) ‘राय’ भुपालसिंह ‘ज्यमी’ भनी लेख्थे । साथै यो ‘राय’/‘राई !’ शब्द पञ्चायती व्यवस्थामा मात्रै ढाक्रे/रैती दुनियाँ ! (सर्वसाधारण जनता) ले आफ्नो नामको पछाडि लेख्न पाएका थिए, भूमिसुधार ऐन–०२१ गाउँगाउँ, टोलटोलमा व्यापक रुपमा लागू भएपछि ।

हुन त यो देशमा ‘राई !’ मात्रै नभएर उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बडागुरु ज्यु, गुरु ज्यु, पण्डित, बैठके, हुक्के, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मान्छेहरु पनि प्रशस्तै थिए । तर, पनि किन ‘राई !’ पदवी वा पगरी बाहेकका यी उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बडागुरु ज्यु, गुरु ज्यु, पण्डित, बैठके, हुक्के, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि पदवी वा पगरी पाएका मानिसका सन्तान, दरसन्तानहरुले चाहिँ आफ्नो ‘जात’ वा ‘जाति’ उमराव, काजी, मुख्तियार, मीर सुब्बा, सुब्बा, मुखिया, चौधरी, दिवान/देवान, डिठ्ठा, बडागुरु ज्यु, गुरु ज्यु, पण्डित, बैठके, हुक्के, खजाञ्जी, मुन्सी, कपरदार, थरी, कारबारी, गौरुङ, माथा, करता, बैदार/बहिदार, तोहले आदि हो भनी लेखेनन् होला ? यस विषयमा पनि नेपालका समाजशास्त्री, मानवशास्त्री, जातिशास्त्रीहरुले खोज–अनुसन्धान गर्नुपर्ने देखिन्छ ।

धेरैले थाहा थाहा पाएर/थाहा भएर पनि केही थाहा छैन भने झै गर्छन् । नत्र भने त ‘सबै जातको फूलबारी’ नामक किताबमा डोरबहादुर विष्टले लेखेका छन् ‘–…तिरो उठाउँदा जग्गाको नापअनुसर नउठाएर घरधुरीको आधारमा उठाइन्थ्यो । जसले गर्दा थोरै जग्गा हुने ‘राई !’ हरुलाई मर्का पथ्र्यो । त्यसैले ‘किपट प्रथा’ र राई पगरी वा पदवी खारेज हँुदा धेरै जसो ‘राई !’ हरु नै खुशी …. ।’ त्यस्तै चाल्र्स म्याकडग्लसले पनि ‘द कुलङे राई’ नामक किताबको ठाउँठाउँमा ‘–… राई … द चिफ एन्ड हेडमेन एप्पोइन्टेड वेर/वेएर गिभन द टाईटल अफ ‘राई !’ (चिफ), ह्विच इभेन्च्युअल्ली केम टु बी एप्लाइड टु द एथ्निक ग्रुप ऐज अ होल । …’, ‘द राई … किपट ओनर/ओवनर…’, इन दोज डेज राई मेन्ट/मिन्ट चिफ एन्ड वाज नट डायग्नोस्टिक अफ ग्रुप मेम्बरशीप …, भनी लेखेका छन् । साथै सन् २००७ को ‘विश्व आदिवासी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा औपचारिक कार्यक्रम सकिएपछिको प्रश्नोत्तर–उत्तरमा यो पंक्तिकारले ‘वास्तवमा राई जात वा जाति होइन, राईलाई जाति मान्दा २२ भन्दा बढी किरातीहरुको जातीय स्वपहिचान र अस्तित्व मेटिन आँटेको छ !’ भनी कुरो राखेको थियो । लगत्तै चलेको दिवा भोजमामा भोजपुर जिल्लाको बोया गाउँका डा. शिवकुमार राई मेरो समीप आएर ‘भाइ, तपाईले साह्रै रामो प्रश्न उठाउनु भयो, किनभने, मेरा बाबु पनि ठूला राई थिए । भूमिसुधार ऐन लागू भएपछि जग्गा–जमीन रैती/ढाक्रेको नाममा गर्नुपर्ने भयो । तर, मेरा असली ‘राई !’ बाबुले म पो ‘राई !’ यी मेरा रैती÷ढाक्रेहरु कसरी ‘राई !’ भनी बबाल गरेका थिए । भनी बताएका थिए ।

नढाँटीकन भन्नु पर्दा कुलुङ जातिका अगुवाहरुले ०५७/५८ देखि नै कुलुङ जाति नेपालका अन्य जातिसरह अलग्गै जाति वा समुदाय हुन्, ‘राई !’ होइनन् भन्दै आएका हुन् । किनभने, कुलुङ जातिको ऐतिहासिक भूमि अर्थात् उत्पत्ति–थलो महाकुलुङ, हामी भन्ने भावना, पूख्र्यौली हाँगाबिँगा, वंश–परम्परा, मौलिक भेषभुषा, मौलिक संस्कार, संस्कृति, परम्परागत कानुन, चाडपर्व, गरगहना, चालचलन आदि छ भने, कुलुङ जातिभित्रै ३८० भन्दा बढी थर, उपथरहरु छन्, त्यसैले कुलुङ–कुलुङबीचमै एकआपस्तमा विवाहवारी चल्ने गरेको छ । स्मरण रहोस्, ०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६१३ र कुलुङ भाषा वक्ता संख्याचाहिँ ३३ हजार १७० जना रहेको छ । सोही आधारमा नै केन्द्रीय तथ्यांक विभागले आगामी १२ औं जनगणनामा पनि कुलुङ जातिलाई अलग्गै जातिगत कोड–६२ र भाषागत कोड–२९ उपलब्ध गराएको छ है, राईवादी कामरेडहरु !

त्यसैले भीड (संख्या) को जमात देखाएर व्यक्तिगत फाइदा लिने र राजनीति गर्नेहरुको कुरोमा ‘हाँ मा हाँ !’ गरेर आफ्नो जातीय स्वपहिचान र स्वअस्तित्व मेट्दै ठूलो संख्या देखाएर राजनीतिक फाइदा लिनका लागि ‘राई !’बन्ने कि ? थोरै संख्या भए पनि जातीय स्वपहिचानसहित राउटे बन्ने ? हामीले वेला छँदै विचार गर्ने क ? वास्तवमै नबुझेर वा नजानेर ‘राई !’ हुनुपर्छ भन्ने अन्जान राईवादी कामरेडहरुलाई त सम्झाई, बुझाई गर्न सकिन्छ । तर, जानाजान निदाएको अभिनय गर्ने राईवादी कामरेडहरुलाई त के नै गर्न/भन्न सकिन्छ र ?
नोटः राई के हो ? भन्ने विषयमा फेरि पनि पो यसो लेखेर पठाएँ है हजुरहरु !

ओलोनुव के, रोबु/रोबुमे !
थप केही बुझ्नु परेमाः ९८४९९८५९९७, ९८६२४३६०४९
E-MAIL-ninamkirat123@gmail.com