मुन्धुम ट्रेलमा नयाँ पर्यटन अवधारणा ‘गोठ स्टे’
-टंक राई
सन्दर्भ विविध
म खासै लेखिरहने मान्छे होईन । बेला बेलामा लेख्छु । थालनीमा यस ब्लग (हाम्रोजाल्पा)मा गाउँघरको चिनारी, गाउँको जीवन, समाचार, बिचार लगायत विविध सामग्रीहरु नियमित प्रकाशित गर्ने लक्ष्य रहेको थियो । त्यसलाई निरन्तरता दिन सकिएन । अब सबै खाले सामग्री प्रकाशन गर्ने बिचार छ । सबैले सहयोग गर्नु हुनेछ भन्ने पूर्ण विश्वास छ ।
पृष्ठभुमि : किराँत धर्मशास्त्र मुद्धुममा सालपा र शिलीचुङलाई अत्यन्त महत्त्व दिइएको छ । पवित्र र करिब करिब सर्वोच्च स्थान छ, सालपा र शिलीचुङको । यसै मुद्धुमी पवित्र गन्तव्यलाई पर्यटकीय गन्तव्य बनाउने उदेश्यले शुरुआत गरिएको छ, मुद्धुम ट्रेल । चखेवादेखी शुरु हुने यो ट्रेल शिलीचुङ् मा सकिन्छ । मध्य पहाडी भूभागमा अवस्थित यो पदमार्ग लगभग ३००० मिटर उचाई देखि शुरु भइ ४१५३ मिटर मा टुंगिन्छ ।
डाडै डाडा हिड्नु पर्ने, प्रायः हिमाल देखिने र प्राकृतिक विविधताले भरिपुर्ण यो पदमार्ग नेपालको मध्य पहाडी पदमार्गहरुम सबैभन्दा लोकपि्रय पदमार्ग हुने सम्भावना बोकेको गन्तव्य हो, मुन्धुम पदमार्ग । तर, यसलाई बचाउने, ब्यवस्थित गर्ने काम चुनौतीपूर्ण छ ।
सामान्यतया पहाडी भूभागमा २५०० मिटर माथि वस्ती बस्ने गरिन्न । तेस्तै यो पदमार्गमा कुनै गाउँ भेटिन्न । मनव बस्ती नभएकोले कुनै नौलो मान्छे त्यस ठाउँमा जादा बस्ने ठाउँ र पानीको मुहान थाहा नपाउदा अलपत्र पर्ने सम्भावना हुन्छ ।
राम्रो घासे मैदान प्रशस्त भएकोले पशुपालनको उत्त्म ठाउँ हो, यो । चखेवादेखी नै धेरै गोठहरु यो मार्गमा पाइन्छ । गाउँ घर नभेटिए पनि गोठहरुले मानवीय उपस्थिति गराएको छ ।
हाल नेपालमा होम स्टे लोकप्रिय बनिसकेको छ । होम स्टे भनेको घरमै पाहुना राख्ने ब्यवस्था हो । नेपालको ग्रामीण पर्यटनको एक हिस्सा बनेको छ, यो । प्रोडकट पनि र पर्यटकका लागि पुर्वाधार पनि । तर मुख्य मुन्धुम ट्रेलमा कुनै गाउँ छैन । त्यसैले यो पदमार्गमा होम स्टे सम्भव छैन । (हाँस पोखरीको होम स्टे वास्तविक होम स्टे होइन । सिर्फ पाहुना घर हो ।) पर्यटकको मनोरञ्जन र बसोबासको ब्यवस्था यो पदमार्गको चुनौती रहेको यो बेला गोठ स्टे उपयुक्त विकल्प हुन सक्छ ।
गोठ स्टे : जसरी घरमा पाहुना राख्ने होम स्टे हो, तेस्तै गोठमा पाहुना राख्ने गोठ स्टे । अहिले भएको गोठहरुमा पनि मानिस बस्छन । यसलाई अलिकति सुधार गरेर पाहुना बस्न सक्ने बनायो भने काइदाको गोठ स्टे हुन्छ । नयाँ प्रोडक्ट पनि, पर्यटकको सुबिधा पनि।
यो पदमार्गमा रहेका गाई, चौरी र भेडाको धेरै गोठहरु पर्यटकको हाल पनि आश्रय बनेका छन् । यीनै गोठहरुलाई ब्यवस्थित गरेर गोठ स्टे संचालन गर्न सकिन्छ ।
१. गोठ्हरुलाइ अलिकति फराकिलो बनाउने,
२. लिपपोत गरेर सफा सुग्घर बनाउने,
३. चर्पी (सके नुहाउने ठाँउ पनि) को ब्यवस्था गर्ने,
४. ओढ्ने, ओछ्याउनेको ब्यवस्था गर्ने,
५. चुल्हो सुधार गर्ने ।
यति ब्यवस्था गर्न सके यो पर्यटकको आवश बनाउन सकिन्छ । यसमा मनोरञ्जन समेत जोड्न सकिन्छ ।
किन गोठ स्टे ?
१. पर्यटन भनेको आफ्नै पना अर्थात युनिक हुनु पर्छ । सबै तिर भएको वस्तु वा गतिविधि हेर्न कोहि आउदैन । यो ट्रेलमा गोठ स्टे शुरु गर्न सकिए यो आफैमा नौलो हुनेछ ।
२. अहिलेको समाजमा गोठ संस्कृति हराउँदै गएको छ । केहि दशक अघिसम्म यो हाम्रो पहाडी र हिमाली जीवनको अभिन्न अंग थियो । गोठ स्टेले हाम्रो इतिहास र पुरानो संस्कृति जोगाउन मद्दत गर्छ ।
३. कतिपय मानिस त यसैको लागि मात्र पनि आउछन् ।गाई, चौंरी, भेडा आदि जनावर नदेख्ने बालबालिका, किशोर र युवा जमात अहिले थुप्रै छ्न । उनीहरुको लागि यो आफैमा प्रदर्शनी हुनेछ ।
४. सहरमा उपलब्ध सुविधा सहर मै उपभोग गर्न सक्छन्, मानिसले । त्योभन्दा फरक स्वाद गोठले दिन्छ ।
५. सुविधा सम्पन्न होटेल लज जहाँ पनि खोल्न सकिन्छ । तर, जीवन्त गोठ चाहेर पनि अन्यत्र गर्न सकिन्न । त्यसैले यो आफैमा अनौठो प्रडक्ट हुन्छ ।
६. आफुसङ्ग भएको कुरालाई ब्यवस्थापन गर्न सजिलो र कम खर्चिलो हुन्छ ।
बसोबास र अन्य :
१. राति क्याम्प फायर,
२. चौरी, भेडा तथा गाई हरु सङ सङ्गै मानिस, तर निस्चित दुरी काय्म गरेर,
३. दुध धोएर ताजा दूध, घिउ, मोहि खुवाउने,
४. अर्गानिक खाना खुवाउने,
५. जंगली खानेकुरा खुवाउने, जस्तो कि च्याउ, निगुरो, सिस्नु, झ्याउ, कुकुर दाइने आदि,
६. जंगली फलफूल , जस्तै काफल, ऐसेलु, चुथ्रो आदि,
७. खास गरि शेर्पा र किरात राईको परम्परागत खाना खुवाउने,
८. यसका साथै नाचगानको समेर ब्यवस्था गर्न सकिन्छ ।
कठिनाइ :
१. यस क्षेत्रका गोठहरु मौसमी छन । वर्खा याममा मात्र माथि आउने । यसलाई सधैं कसरी संचालन गर्ने ?
२. गोठको प्रकृति घुमन्ते हुन्छ । त्यसलाई कसरी ब्यवस्थापन गर्ने ?
३. यसका अलावा सुरक्षा, संचार, उपचार र उद्दार कसरी ब्यवस्थित गर्ने
अन्तमा :
१. मुन्धुम ट्रेल ध्वस्त हुनबाट जोगाउन, वन बिनास रोक्नु, मोटर बाटो बाट बचाउनु जरुरी छ ।
२. केहि समय पछि नै मोटरको धुवाँ र आवाज नसुनिने गन्तव्य मानिसको सबैभन्दा पृय गन्तव्य हुनेछ । सालपा शीलीचुङ बाच्यो भने यसले त्यो अवशर र गौरव पाउने छ । यसका लागि माथिल्लो भेगकाजनतालाई स्थानीय सरकारले ढुवानीमा अनुदान दिएर भएपनी भर्जिन ल्याण्डका रुप्मा यश क्षेत्रलाई बचाउनु पर्छ ।
३.गुराँस यस क्षेत्रको अर्को आकर्षण हो । दाउराका रुपमा यसैको धेरै विनाश भइरहेको छ । यसलाई तुरुन्त रोक्नु जरुरी छ ।
त्यसैले यो गोठ स्टे संचालन गर्न ढिला गर्न हुदैन । आवस्यक तालीम र संयोजन गरि छिटोभन्दा छिटो संचालन गर्न सके सबैलाई फाइदा हुनेछ । (टंक राईको हाम्रोजाल्पा ब्लगस्पोर्टबाट लिएको हो ।)
केहि फोटोहरु :





