एफसी पोखरा थण्डर्सको जित, एफसी चितवन बाहिरियो
काठमाडौं । एफसी चितवन पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) बाट बाहिरिएको छ ।
शुक्रबार भएको खेलमा पोखरा थण्डर्ससँग २-१ गोल अन्तरले पराजित हुँदै चितवन प्रतियोगिताबाट बाहिरिएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा पराजित चितवन पराजित भएको हो ।
पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठ र राफायल रिमगागोले एक एक गोल गरे ।
१० खेलाडीमा समेटिएको चितवनका शिशिर लेखिले एक गोल फर्काए ।
खेलको ७२ औं मिनेटमा शिशिरले गोल गर्दै चितवनलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ८२ औं मिनेटमा चितवन १० खेलाडीमा समेटियो । गोलकिपर विशाल सुनार रातो कार्ड प्राप्त गर्दै मैदानबाट बाहिरिएका थिए । डिबक्स बाहिर निस्केर हातले बल क्लियर गरेपछि उनलाई रेफ्री प्रज्वल क्षेत्रीले रातो कार्ड दिएका थिए ।
तर, खेलको ८६ औं मिनेटमा नवयुगले फ्रिकिकबाट गोल गर्दै पोखरालाई १-१ गोलको बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा राफायलले गोल गर्दै पोखरालाई २-१ को जित दिलाए ।
जितपछि पोखरा ६ खेलबाट ८ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजित चितवनले ५ खेलबाट २ अंक जोड्यो ।
लिगको अन्तिम खेलमा जित हात पारेपनि चितवनलाई शीर्ष चारमा पुग्न पर्याप्त हुनेछैन ।
पोखरा थण्डर्सका प्लेयर अफ दि म्याच रबी पासवान २५ हजार तथा इमर्जिङ प्लेयर अफ दि म्याच शिसिर लेखीले १० हजार रुपैयाँ पाएकाछन ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।
एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।
व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् ।
यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।




