काठमाडौं प्लेअफमा, विराटनगरलाई हराउँदै
काठमाडौं । काठमाडौं रेजर्स पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) को प्लेअफमा प्रवेश गरेको छ ।
बिहीबार भएको रोमान्चक खेलमा विराटनगर सिटी एफसीलाई ५-४ गोल अन्तरले पराजित गर्दै काठमाडौंले प्लेअफमा स्थान पक्का गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा काठमाडौंलाई जित दिलाउन मेसौके ओलोमोउले ह्याट्रिक गोल गरे । यस्तै स्टेफेन बिनोङ र छिरिङ गुरुङले एक एक गोल गरे ।
विराटनगरका पेड्रो मान्जीले दुई गोल फर्काए । यस्तै एडिलाजा सोमिडे र रन्जित धिमालको नाममा एक एक गोल रह्यो ।
काठमाडौं रेजर्सका क्यामरुनी फरवार्ड मेसौके ओलुमोउले खुकरी नेपाल सुपर लिग (एनएसएल) मा विराटनगर सिटी एफसी ह्याट्रिक पुरा गरेका छन् ।
उनले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल गर्दै एनएसएलमै पहिलो ह्याट्रिक पुरा गरेका हुन् । उनले खेलको ३५औं, ३६औं र ६८औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका हुन् ।
दोस्रो हाफमा खेल जारी रहँदा काठमाडौंले ५–४ को अग्रता लिएको छ । काठमाडौंले २–० ले पछि परेको अवस्थामा उत्कृष्ट पूनरागमन गर्दै अग्रता लिन सफल भएका हुन् ।
जितसँगै काठमाडौंले ५ खेलमा १० अंक जोडेको छ ।
यससँगै काठमाडौं प्लेअफमा पुग्ने दोस्रो टिम बनेको छ ।
विराटनगरले ५ खेलमा ७ अंक जोडेको छ । विराटनगरको पनि प्लेअफ सम्भावना रहेको छ ।
काठमाडौं रेजर्सका प्लेयर अफ दि म्याच मेस्सोउके ओलोउमोउ २५ हजार तथा इमर्जिङ प्लेयर अफ दि म्याच बिश्ववास श्रेष्ठले १० हजार रुपैयाँ पाएकाछन ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।
एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।
व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् ।
यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।




