विराटनगर शीर्षस्थानमा, चितवनलाई हरायो
विराटनगर सिटी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ।
सोमबार दशरथ रंगशालामा भएको खेलमा एफसी चितवनलाई २-० गोलले पराजित गर्दै विराटनगर शीर्ष स्थानमा उक्लिएको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा विराटनगरले दुवै गोल दोस्रो हाफमा गरेको थियो।
उसका लागि पेड्रो मान्जीले ७३ मिनेटमा पहिलो गोल गरे। भारतको आइ लिगको अनुभव बटुलेका मान्जीले जारी लिगमा पहिलो गोल गरेका हुन्।
विराटनगरले खेल सकिन एक मिनेट बाँकी छदा अग्रता दोब्बर पारे। सन्तोष तामाङले ८९ मिनेटमा टिमका लागि दोस्रो गोल गरे।
शीर्ष स्थानमा पुगेको विराटनगरले ४ खेलबाट ७ अंक जोडेको छ। दोस्रो स्थानको धनगढी एफसीको पनि ७ अंक नै छ।
तेस्रो स्थानको बुटवल लुम्बिनी एफसी र चौथो स्थानको पोखरा थन्डर्स समान ५-५ अंक छ।
पाँचौ स्थानको काठमाडौं रेजर्सको ४ अंक छ भने ललितपुर सिटी एफसी ३ अंक जोडेर छैटौं स्थानमा छ।

अंक तालिकाको पुछारमा रहेको एफसी चितवनले २ अंक मात्र जोडेको छ।
लिगको चौथो चरणको खेल जारी रहँदा बुटवल लुम्विनी ३ खेलबाट ५ अंक जोडेर तेस्रो स्थानमा तथा चार खेलबाट ५ अंक जोडेको पोखरा थन्डर्स चौथो स्थानमा रहेको छ ।
४ अंक जोडेको काठमाडौं रेजर्स पाँचौ स्थानमा रहेका छन् । ३ अंक जोडेको ललितपुर छैटौ स्थानमा रहेको छ ।
लिगमा मंगलबार बुटवल लुम्विनी र काठमाडौं रेजर्सबीच साँझ ५ः३० बजे प्रतिस्पर्धा हुदैछ ।
नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ ।
राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ ।

एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।
प्रतियोगिताको विजेताले ३५ लाख रुपैयाँ प्राप्त गर्नेछन् । उपविजेताले १५ लाख रुपैयाँ हात पार्नेछन् ।
व्यक्तिगत विधाका सबै उत्कृष्ट र उत्कृष्ट युवा खेलाडीले जनही १ लाख रुपैया हात पार्नेछन् ।
यस्तै हरेक खेलको प्लेयर अफ दि म्याचले २५ हजार तथा हरेक खेलको इमर्जिङ प्लेयर अफ दि म्याचले १० हजार रुपैयाँ पाउनेछन् ।





