Logo

प्रदेश २ को नाम ‘मिथिला-भोजपुरा’ र राजधानी जनकपुरधाम दर्ता गराउने तयारी


प्रदेश २ को प्रदेशसभामा नाम र राजधानीको प्रस्ताव दर्ता गराउन बाँकी रहेको नेकपा एमाले र नेपाली कांग्रेसले अलग-अलग प्रस्ताव दर्ता गराउने तयारी गरेको छ।

प्रदेशसभा सचिवालयले दिएको समयसीमाभित्रै प्रस्ताव दर्ता गराउनका लागि दुवै दल आन्तरिक छलफलमा जुटेको हो।

बुधबार दलको बैठक बसेर प्रस्ताव दर्ता गराउने आफूहरूको तयारी रहेको नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए।

‘यद्यपि हामीहरूको अहिले पनि पुरानो स्ट्याण्ड कायमै छ, प्रदेशको नाम ‘मिथिला-भोजपुरा’ र प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै प्रस्तावमा दर्ता गराउने हाम्रो तयारी छ,’ उनले भने।

यता नेकपा एमाले माधव नेपाल समूहका नेता शत्रुधन महतोले प्रदेशको नामाकरणका लागि ३ नाममाथि छलफल चलिरहेको प्रतिक्रिया दिए।

उनका अनुसार जानकी, जनक र मिथिला भोजपुरा मधेशमध्ये कुनै एक नाम दर्ता गराउने तयारी रहेको छ। यद्यपि स्थायी राजधानी भने जनकपुरधाम नै दर्ता गराइने छ।

माओवादी केन्द्रले जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्रलाई राजधानीको रूपमा प्रस्ताव गरेको थियो।

प्रदेश २ को प्रदेशसभामा १ सय ७ जना सांसद रहेकोमा ४ जना कारबाहीमा परेका छन्।

हाल सत्तारूढ दल जसपासँग ५६ जना प्रदेशसभा सदस्य रहेका छन्। त्यस्तै, नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९ र नेकपा माओवादी केन्द्रसँग ७ जना प्रदेशसभा सदस्य रहेका छन्।

प्रदेशको स्थायी राजधानी र नामको लागि दुई तिहाइ बहुमतको आवश्यकता रहेकोमा कुनै पार्टीसँग बहुमत छैन।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्