ऐजेरु !

माझ गाउँले काकाले

६ सालमा रोपेको श्रीखण्डको बिरुवा

बढिरहेकै थियो क्रमश तर

त्यहाँ पनि हेर्दाहेर्दै मौलायो

सनातनी ऐजेरु,

अरुको त कुरै छाडौं न

खुर्पाको बिँड पनि नहोला जस्तो छ

 

त्यसलाई उप्काएर फाल्ने हो भनी

अलगअलग माहाराजहरुबाट हुकुम

बक्स्यो

अनि मुखिया, जेठाबुढा, माथा,

सिङगवारे, ढ्टवारे, कारबारी समेतले

उर्दी गरेका हरेक मौसमी झार्लाङी पनि

धाएकै हो

र चढाएकै हो रैतीले हरेक पल्ट

शिसार, मेक्चन र कुत तालुकदारलाई

 

त्यसरी त्यसले तयार पार्यो आफ्नो

स्टार्च,

र त झन्झन् फैलिँदै आयो !

 

र पनि निराशा भने रत्तिभर छैन

किनकि, बिज्ञानको नियम शाश्वत छ

 

अरुको शरीरमा टाँसिएर अर्काकै गाँसमा

बाँच्नु उसको चारित्रीक विशेषता हो

त्यसको सिधा नाता भूमिसँग छैन

तर म र माटोको प्रेम सम्बन्ध अगाध छ

र त आत्मनिर्भरका साथ यात्रामा छु

भूमि मेरो वास्तविक धरातल हो

त्यसैले मेरो गति स्वभाविक छ

र मेरो लक्ष्यमा पुग्ने मार्ग

त्यही मात्र एक हो जसले दुनियाँ बदल्छ

 

अखण्ड राष्ट्रको ढोँगी नारा चिच्याउँदै

खण्डित राष्ट्रिय झन्डा फहराउनु

अर्थात,

राष्ट्रियताको आवरणमा लुकेर

अराष्ट्रिय धन्दा चलाउनु

उसको नानी देखिको बानी नै हो

र त्यही हो

त्यो ऐजेरुको मुल जरा