नहकुल सुवेदीको न्यायाधीश हुन योग्यता नपुगेको सर्वोच्च अदालतको ठहर
सर्वोच्च अदालत बार एशोसियशनले सर्वोच्च अदालतको न्यायाधीश पदमा नहकुल सुवेदीको नियुक्तिका लागि गरिएको सिफारिस संविधानको भावना र मर्मविपरित रहेको जनाएको छ ।
सर्वोच्च बारले शुक्रबार पत्रकार सम्मेलन गरी सुवेदीको नियुक्ति र छनोट प्रकृया गलत रहेको जनाएको हो ।
पत्रकार सम्मेलनमा सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले न्यायाधीश सुवेदीको सर्वोच्चको न्यायाधीश हुन योग्यता नपुगेको बताउनुभयो ।
उहाले सुवेदीको हकमा उच्च अदालतमा न्यायाधीशको रुपमा ५ वर्ष काम नगरेको तथा राजनीतिक रुपमा नियुक्त गरिएको भन्दै आपत्ति जनाउनुभयो ।
संविधानको धारा १२९ (५) मा कानूनमा स्नातक उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा ५ वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तीको लागि योग्य मानिने छ भन्ने व्यवस्था गरिएको शाक्यले बताउनुभयो ।
शाक्यले यसबारे न्यायपरिषद र संसदीय सुनुवाइका सभापतिको ध्यानकर्षण गरिसकेको समेत जानकारी दिनुभयो ।
शाक्यले न्याय तथा कानूनको क्षेत्रमा निरन्तर काम गरि आएका विवादरहित र योग्य व्यक्तिहरुको उचित मूल्याङ्कन नगरी गलत ढंगले गरिने नियुक्ति प्रक्रिया रोकिनुपर्ने बताउनुभयो ।
त्यस्तै सर्वोच्च बारले न्यापालिको पवित्रतामाथि हुने असंवैधानिक कार्यले असल, इमान्दार र लामो समयसम्म सेवारत न्यायधीश, न्यायकर्मी र कानूनविद्हरको मनोवल खस्कन गएको जनाएको छ ।
केहि दिन अघि न्यायपरिषद्ले सर्वोच्च अदालतको न्यायधीश पदका लागि सुवेदीको नाम सिफारिस गरेको थियो ।



