वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठलाई
एपीएफ क्लबका गोपीचन्द्र पार्की र धादिङकी सन्तोषी श्रेष्ठले दोस्रो संस्करणको वीर गणेशमान सिंह टेन–के रोड रेस प्रतियोगिताको उपाधि जितेका छन् ।
शनिबार आयोजना भएको प्रतियोगितामा पुरुषतर्फ गोपी र महिलातर्फ सन्तोषीले उपाधि जितेका हुन् ।
गोपी र सन्तोषी लगातार दोस्रो पटक उपाधि जितेका हुन् । दुवै खेलाडीले पहिलो संस्करणको उपाधि पनि जितेका थिए ।
१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता गोपीले निर्धारित दूरी ३१ मिनेट ४४.४९ सेकेन्डमा पूरा गरे ।
गोपीले अघिल्लो संस्करणमा आफैले बनाएको ३२ मिनेट ०१.२ सेकेन्डको कीर्तिमान तोडेका थिए । नयाँ कोर्स रेकर्ड बनाएका उनले थप १० हजार रुपैयाँ प्राप्त गरे ।
उपाधिसँगै गोपीले ६० हजार नगद पुरस्कार पाए । पुरुषतर्फ अनिष थापामगर ३१ मिनेट ५०.४९ सेकेन्डकाका दोस्रो भए ।
तीर्थ पुनले ३१ मिनेट ५६.३८ सेकेन्डको समय निकाल्दै तेस्रो स्थान हासिल गरे । यस्तै गजेन्द्र थापा चौंथो र नरेन्द्र रावत पाँचौं भए ।
दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुने खेलाडीले पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।
यसैगरी १३औं सागकी स्वर्णधारी सन्तोषीले निर्धारित दूरी ३७ मिनेट ५३ः४४ सेकेन्डमा पूरा गरिन् । उपाधिसँगै सन्तोषीले ६० हजार नगद प्राप्त गरिन् ।
सन्तोषीले अघिल्लो संस्करणमा निर्धारित दूरी ३९ मिनेट १०.९८ सेकेन्डमा पूरा गरेकी थिइन् । अघिल्लो संस्करणको भंग गरेकी सन्तोषीले थप १० हजार रुपैयाँ प्राप्त गरिन् ।
महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई ३९ मिनेट ३०.० सेकेन्डका दोस्रो भइन् । एपीएफकी फुलमती राना ४० मिनेट ५६.० सेकेन्डका साथ तेस्रो भइन् ।
यस्तै पूर्णलक्ष्मी न्यौपाने चौथो र बिर्सना कुमालले पाँचौं स्थान हात पारे । दोस्रोले ३० हजार, तेस्रोले १५ हजार, चौथोले १० हजार र पाँचौं हुनेले पाँच हजार नगद पुरस्कार प्राप्त गरे ।
वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजना र रुट्स फेसनको मुख्य प्रायोजनमा भएको रोड रेस शेर्पा मल दरबारमार्गबाट सुरु भएर महेन्द्र शालिक, रत्नपार्क लगाएत बिभिन्न स्थान हुदै पुनः शेर्पा मल दरबारमार्गमा पुगेर समापन भएको थियो ।



