Logo

प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ ढङ्गले जान खोजे पनि अहिलेको वातावरणले अझै राम्रो सङ्केत नगरेका : ज्ञवाली


परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ ढङ्गले जान खोजे पनि अहिलेको वातावरणले अझै राम्रो सङ्केत नगरेका बताउनुभएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा दलीयरुपमा भाग लिँदै मन्त्री ज्ञवालीले यस्तो बताउनुभएको हो ।

सर्वोच्च अदालतको फैसलापछि यही संसद्बाट नै राजनीतिक स्थायित्व खोज्ने बाध्यात्मक स्थिति आएको भन्दै उहाँले सरकारले अदालतलाई कुनै आक्षेप नलगाएको बताउनुभयो ।

उहाँले विसं २०७२ मा संविधान जारी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै अहिले संविधान सबैको सर्वस्वीकार्य दस्तावेज बनेको उल्लेख गर्नुभयो ।

मन्त्री ज्ञवालीले सरकारले तीन वर्षमा महत्वपूर्ण काम गरेको स्पष्ट पार्दै नेपालको निधारमा लागेको अल्पविकसितको टीका निकट भविष्यमै हट्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले तराईमा चलेको पृथकतावादी र हिंसात्मक गतिविधि चलाउने समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आएसँगै नेपाल द्वन्द्वमुक्त भएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले नेपालले बाह्य मुलुकसितको सम्बन्धमा उल्लेख्य उपलब्धि हासिल गरेको बताउनुभयो ।

बैठकमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले सर्वोच्च अदालतको फैसाल पछि नैतिकताका आधारमा सरकारले मार्ग प्रसस्त गर्नुपर्ने भए पनि त्यसो नगरेको भन्दै सरकारको आलोचना गर्नुभयो ।

सरकारले सार्वजनिक ठाउँमा कार्यक्रम गर्न बन्देज लागएर पनि प्रतिगमन गरेको उहाको आरोप थियो ।

प्रतिनिधिसभा पुनर्स्थापना पछि पनि सरकारले प्रतिनिधिसभालाई काम नदिएको उहाको भनाई छ ।

त्यस्तै माओवादी केन्द्रकी सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर राजनीति नै विकृत गराएको आरोप लगाउनुभयो ।

जिब्रो चिप्लिएकै आधारमा कानुन मन्त्रीको राजीनामा गराउने प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको मुद्दामा पराजित हुँदासमेत राजीनामा नदिएको भन्दै उहाले राजनीतिलाई विकृत र बदनाम गराएको आरोप लगाउनुभयो ।

बैठकमा लोकसेवा आयोग र राष्ट्रिय मानवअधिकार आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।यसअघि सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गर्नुभएको विभिन्न मितिमा सम्पन्न भएका बैठकमा सांसद अनुपस्थित भएको सूचनालाई बैठकले स्वीकृत गरेको थियो ।

त्यस्तै बैठकले पूर्वसांसद एवं संविधानसभा सदस्य अशोक कोइरालाको निधनप्रति राखिएको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

प्रतिनिधिसभाको अर्को बैठक यही चैत १० गते मङ्गलबार दिनको १ बजे बस्नेछ ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्