बार्सिलोनाका अध्यक्ष भन्छन्- मेस्सी बार्सिलोनालाई माया गर्छन्, बार्सिलोनामै बस्छन्
काठमाडौँ: बार्सिलोनाका नवनिर्वाचित अध्यक्ष जोआन लापोर्टाले कप्तान लिओनेल मेस्सी बार्सिलोनामा नै बस्नेमा विश्वस्त रहेको बताएका छन्।
लापोर्टाले बार्सिलोनाको अध्यक्षमा निर्वाचित भएपछि संचारकर्मीहरुलाई संक्षिप्त रुपमा प्रतिक्रिया दिँदै भने- मेस्सीले बार्सिलोनालाई गर्छन्, उनी बार्सिलोनामा नै बस्छन्।
.jpg)
‘संसारकै सर्वोत्कृष्ट खेलाडी आफू स्वयम् आफ्नो एघार वर्षीय छोरासहित मतदानमा सहभागी हुनुले पनि मेस्सीले क्लबलाई कति माया गर्छन भन्ने स्पष्ट हुन्छ।’ लापोर्टाले भनेका छन्, ‘लिओ बार्सिलोनालाई माया गर्छ, त्यो उनको यो कार्यले पनि पुष्टि गर्छ, संसारकै सर्वोत्कृष्ट खेलाडीले बार्सिलोनालाई प्रेम गर्छ’
कप्तान लिओनेल मेस्सीलाई बार्सिलोनामा नै राख्ने नारा लिएर चुनावमा उत्रिएका उनले कुल मतको ५४ प्रतिशत प्राप्त गर्दै चुनाव जितेका थिए । एघार वर्षपछि क्लबको नेतृत्त्वमा आएका लापोर्टा निर्वाचित भए लगत्तै मेस्सीलाई क्लबमै राख्ने उपायहरुको खोजीमा लागेका छन्।
लापोर्टा यसअघि २००३ देखि २०१० सम्म क्लबको अध्यक्ष रहेका थिए । सन् २०२० को अक्टोबरमा जोसेप मारिया बार्टोमेउले राजिनामा दिएपछि क्लबमा अध्यक्ष पद रिक्त रहेको थियो । चुनावमा भिक्टर फन्ट ३० प्रतिशत मतसहित दोस्रो स्थानमा रहे भने टोनी फ्रेक्सिया तेस्रो बनेका थिए ।
.jpg)
बार्सिलोनाका अनुसार १ लाख ९ हजार मतदातामध्ये ५५ हजार ६ सय जना मतदानमा सहभागिता जनाएका थिए । यसअघि क्लबको चुनाव जनवरीमा हुने भनिएपनि कोरोना संक्रमणका कारण सरेको थियो ।
लापोर्टाले आफ्नो पहिलो कार्यकालमा पेप गुआर्डीओलालाई प्रशिक्षक नियुक्त गरेका थिए । उनकै समयमा क्लबले ब्राजिलियन स्टार रोनाल्डिन्हो र क्यामरुनका फरवार्ड स्यामुएल एटोलाई अनुबन्ध गरेको थियो । त्यसबेला क्लबले २ च्याम्पियन्स लिग र ४-४ पटक लिग उपाधि र कोपा डेल रे जितेको थियो । साथै उनकै कार्यकालमा क्लबले एकै सिजन ६ वटा ट्रफी जितेको रेकर्ड बनाएको थियो।
.jpg)



