Logo

अझै सुनसान छ घोडेपानी–पुनहिल


फागुन–चैत–वैशाखको मौसममा म्याग्दीको अन्नपूर्ण–६ घोडेपानीको सन्नी होटलका सञ्चालक सन्नी पुनलाई खाना खाने फुर्सद पनि हुँदैनथ्यो । एक वर्षयता सन्नी मात्र नभएर घोडेपानीका सबै होटल व्यवसायी फुर्सदिलो भएका छन् । “कोरोना र बन्दाबन्दीले बन्द भएको होटल गत माघदेखि खुले पनि अझै तङ्रिन सकेको छैन”, उनले भने, “खाली होटल रुँघेर बसेका छौँ । आन्तरिक पर्यटक फाट्टफुट्ट आएका छन् । त्यकिो भरमा चल्न गाहे छ ।”

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गत वर्षको चैत महीनादेखि गरिएको बन्दाबन्दी खुलेपछि धेरै क्षेत्र पुरानै लयमा फर्किन थालेका छन्। पर्यटन व्यवसाय भने अझै तङ्रिन नसकेको घोडेपानीको स्नोल्याड होटलका सञ्चालक सुशील पुनले बताए। विगतका वर्षमा यतिबेला पर्यटकले भरिभराउ हुने पर्यटकीयस्थल र त्यहाँका होटलमा यसपालि फागुन सकिनै लाग्दा फाट्टफुट्ट आएका स्वदेशी पाहुना मात्र भेटिन्छन्। “विदेशी पर्यटकको आगमन शून्य छ”, पुनले भने, “स्वदेशी पर्यटकको आगमन अपेक्षाकृत हुन सकेको छैन ।” घोडेपानीमा बास बसेर पुनहिल घुम्न जाने पर्यटकको एका बिहानै लाम लाग्दथ्यो ।

फायल फाेटाे: वेब

समुन्द्री सतहदेखि दुई हजार ८०० मिटर उचाइमा अवस्थित घोडेपानीमा २५ वटा सुविधा सम्पन्न होटल छन्। इलाका प्रहरी कार्यालय घोडेपानीका अनुसार यहाँ वार्षिक ५० हजार जना भन्दाबढी विदेशी पर्यटक आउँथे। बन्दाबन्दीका कारण होटल बन्द भएपछि त्यहाँ काम गर्ने १०० जनाभन्दा बढीको रोजगारी गुमेको छ। रु दुई अर्बभन्दा बढीको लगानी भएको घोडेपानीको होटल व्यवसाय सङ्कटमा परेको छ। भूकम्प, हुद्हुद आँधी र नाकाबन्दी हुँदा पनि अहिलेको जस्तो सुनसान थिएन घोडेपानी ।

विगतमा भिडभाड भएर होटलमा कोठासमेत पाउन मुस्किल पर्ने घोडेपानी यसपाली सुनसान र शान्त रहेको पोखराबाट घुम्न आएका मनोज क्षेत्रीले बताए। “लामो समय घर र बजारमा थुनिएर बस्नुपर्दा दिक्क भएकाले घुम्न आएको हो”, उनले भने, “शान्त वातावरणमा प्रकृतिको सौन्दर्यमा रमाउन पाउँदा फूर्तिलो भएको महशुस भयो ।”

यतिबेला घोडेपानी–पुनहिल क्षेत्रको वातावरण बढो मनमोहक छ। जङ्गलमा गुराँस फुल्न थालेको छ। गण्डकी प्रदेशकै ठूलो गुराँसको जङ्गल घोडेपानीमा छ। यहाँको जङ्गलमा रातो, सेतालगायत नेपालमा पाइने ३२ मध्ये १६ प्रजातिका गुराँस पाइन्छ। समुन्द्री सतहदेखि तीन हजार ३१० मिटर उचाइमा अवस्थित पुनहिलबाट सूर्योदय, हिमाल र गुराँसे जङ्गलको अवलोकन गर्न सकिन्छ ।

फायल फाेटाे: वेब

पोखराबाट घोडेपानी घुम्न आएका रमेश श्रेष्ठले पर्यटन र होटल व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर प्याकेज ल्याउनुपर्ने बताए। “नेपालको पर्यटन व्यवसायको भरथेग गर्ने भनेको अब आन्तरिक पर्यटकले नै हो”, उनले भने, “विदेशीलेभन्दा नेपालीले खर्च पनि बढी खर्च गर्छन् तर व्यवसायीले त्यहीअनुसारको व्यवहार गर्न र सुविधा दिन सक्नुपर्‍यो ।”

पर्यटन र होटल व्यवसायलाई पुनःजीवन दिन घोडेपानीका होटल व्यवसायीले आन्तरिक पर्यटकलाई लक्षित गरेर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गरिएको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए। पोखरे बगर हुँदै घोडेपानी जोड्ने सडक निर्माण भएकाले गाडीबाटै घुम्न आउन सकिने उनले बताए।

पर्यटक आगमन ठप्प हुँदा अन्नपूर्ण गाउँपालिकाको चालू आर्थिक वर्षको आन्तरिक आम्दानी प्रभावित भएको छ। पर्यटकीयस्थल घोडेपानी, पुनहिल र तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन नपाएपछि गाउँपालिकाको रु एक करोडभन्दा आम्दानी गुमेको हो। गत आव २०७६–७७ मा घोडेपानी–पुनहिल प्रवेश शुल्क र त्यहाँ चिया पसल सञ्चालनका लागि रु ६५ लाखमा ठेक्का लगाएको थियो। यसैगरी तातोपानी कुण्डको प्रवेश शुल्क उठाउन र त्यहाँ रेष्टुरेन्ट चलाउन रु ५५ लाखमा ठेक्का लगाएको थियो ।

फायल फाेटाे: वेब

घोडेपानी पुनहिल भ्रमण र तातोपानी स्नानका लागि नेपालीलाई प्रतिव्यक्ति रु ५० र विदेशीलाई रु १०० प्रतिव्यक्ति शुल्क तोकिएको छ। यस वर्ष पर्यटक आगमन नभएपछि पर्यटकीयस्थलको प्रवेश शुल्क उठाउने ठेक्का लगाउन नसकिँदा आयस्रोतमा असर परेको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए। गत असारमा भएको गाउँसभाले घोडेपानी पुनहिल र तातोपानीको ठेक्काबाट रु १५–१५ लाख आम्दानी गर्ने लक्ष्य राखेको थियो ।

आर्थिक वर्षको आठ महीनासम्म पर्यटक गतिविधि चलायमान हुन नसकेपछि गत हप्ता भएको गाउँसभाले तातोपानीबाट रु एक लाख र घोडेपानीबाट रु ५० हजार आम्दानी हुने गरी बजेट संशोधन गरेको छ।  रु एक लाख ५० हजार आम्दानी गर्ने लक्ष्य राखिएको रातोपानी र पाउद्वार तातोपानी कुण्डबाट रु १५–१५ हजार र रु ५० हजार आम्दानी हुने अनुमान गरिएको सेकार्कु तातोपानी कुण्डबाट रु पाँच हजार आम्दानी हुने गरी करको दर घटाएको छ। जमानतमा तोकिएको रकम बुझाएर शुल्क बुझाउनेलाई जिम्मेवारी दिने गाउँपालिकाले जनाएको छ। पर्यटकको प्रवेश शुल्क अन्नपूर्ण गाउँपालिकाको मुख्य आन्तरिक आयस्रोत हो। यस वर्ष कोरोनाले आम्दानीसँगै सो परिचालन गरेर हुने विकास गतिविधिसमेत प्रभावित भएको अध्यक्ष पुनले बताए । रासस

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्