ईश्वर (भगवान)ले मान्छे जन्माएको होइन, मान्छेले ईश्वर (भगवान) जन्माएको हो ! – हस्तबहादुर केसी
आजसम्म पनि भौतिक संसारलाई हेर्न, बुझ्ने, व्याख्या–विश्लेषण र संश्लेषण गर्ने दुई भिन्न विश्वदृष्टिकोण रहेका छन् ।
पहिलो विश्वदृष्टिकोण हो – चेतना( आत्म) को जन्म पहिले भएको हो र चेतनाबाट नै पदार्थको जन्म भएको हो । यो विश्वदृष्टिकोण (चिन्तन) राख्नेहरुलाई आदर्शवादी (आध्यात्मवादी ) भनिन्छ ।
दोस्रो पदार्थको जन्म पहिले भएको हो र पदार्थको विशिष्ट उपज नै चेतना हो अर्थात् पदार्थबाट चेतनाको जन्म भएको हो । यो विश्वदृष्टिकोण (चिन्तन) राख्नेलाई भौतिकवादी भनिन्छ ।
यसरी यो भौतिक जगतमा संसारमालाई हेर्ने दुई भिन्न विश्वदृष्टिकोण रहेका छन् ।
यसरी चेतना (आत्म) पहिलो हो र चेतनाबाटै पदार्थको जन्म भएको हो भन्ने विश्वदृष्टिकोण राख्नेहरुले यो संसारलाई जान्नै सकिन्न, बुझ्नै सकिन्न र यो संसार अज्ञेय छ भन्ने दृष्टिकोण राख्दछन् भने यसको ठिक विपरीत पदार्थ पहिलो हो र पदार्थकै विशिष्ट उपज चेतना हो र पदार्थबाटै चेतनाको जन्म भएको हो भन्ने दृष्टिकोण राख्नेहरुले यो भौतिक संसारलाई चिन्न सकिन्न, बुझ्न सकिन्छ, संसार ज्ञेय छ र यसलाई बदल्न सकिन्छ भन्ने दृष्टिकोण ( धारणा ) राख्दछन् ।
यसरी संसारलाई हेर्ने र बुझ्ने तथा व्याख्या गर्ने प्रश्नमा दार्शनिकहरु दुई भिन्न खेमामा बिभाजित रहदै आएका छन् ।
यश आलेखको ज्वलन्त र अत्यन्तै महत्वपूर्ण प्रश्न र यसको जवाफ दिनुमा रहेको छ :
यहाँ आदर्शवादी (आध्यात्मवादी)हरुले ईश्वर (भगवान)ले मान्छे जन्माएको हो र यश संसारको सृष्टि (जन्म) ईश्वरबाट भएको हो भन्ने धारणा (दृष्टिकोण) राख्दछन् । यो अवैज्ञानिक र अज्ञेयवादी रहेको छ ।
भौतिकवादी चिन्तन र विश्वदृष्टिकोण अनुसार ईश्वरले मान्छे जन्माएको होइन कि मान्छेले ईश्वरलाई जन्माएको हो भन्ने जुन धारणा (दृष्टिकोण) रहेेेेको छ यो धारणा नै वैज्ञानिक र ज्ञेयवादी रहेको छ, भौतिकवादी रहेको छ ।
आजसम्म पनि हाम्रो समाजम भौतिक जगतवारे वैज्ञानिक धारणा बन्न सकेको देखिदैन । यो भौतिक जगतको सृष्टिकर्ता कुनै अलौकिक अभौतिक स्वत्व हो भन्ने भनाई समाजमा बग्रेल्ती पाइन्छ । यहाँनीर भन्न सकिन्छ कि यो भौतिक जगत बस्तु स्वयंको ऐतिहासिक विकास प्रक्रियाको उपज हो भनी बुझ्ने मानिस नैै हाम्रो समाजमा कति होलान् ? अध्ययन गर्न जसरी छ ।
हाम्रो समाजमा प्रायः यही नै भनाई सुनिन्छ कि – यो जगत (संसार)को सृष्टिकर्ता ईश्वर हो । र त्यो सर्वशक्तिमान, शाश्वत, सर्वज्ञ, अलौकिक, खधिप्राकृतिक र अधिभौतपक छ ।
साथै त्यो मनुष्य लगायत समस्त ब्रह्माण्डको स्वामी (मालिक) र भाग्यविधाता हो त्यसो भएकोले मनुष्य ईश्वराश्रित छ । ईश्वरको इच्छा बाहेक मनुष्यले केही गर्न सक्तैन भन्ने धारणा र संस्कारले समाज भरिएको पाइन्छ ।
यसमा धर्मको कुरो पनि आउँछ । धर्म र ईश्वर जोडिएका छन् । धर्मले ईश्वरको अस्तित्वलाई स्थापित गर्ने काम गरेको छ । अथवा कुनै न कुनै अभौतिक र सर्वोपरि तत्वको अस्तित्वलाई स्थापना गर्ने क्रममा नै धर्म, धार्मिक ग्रन्थ र धार्मिक स’म्प्रदायहरु पैदा भएका देखिन्छन् ।
यी जे जति धर्म ग्रन्थहरु वा सम्प्रदायहरु छन् यिनीहरूको आधार अलौकिक, अभौतिक र सर्वोपरि सत्ताप्रतिको आस्था भएकाले यी जम्मै अवस्तुवादी र अवैज्ञानिक खालका छन् ।
तसर्थ धर्मले विज्ञानलाई किमार्थ स्वीकार्दैन । किनभने विज्ञान विचारमा आधारित छ । तर्क र प्रमाणमा आधारित छ, जबकि धर्म केवल विश्वासमा आधारित छ । विज्ञानको आधार वस्तुगत यथार्थ हो, जबकि धर्म कपोलकल्पनामा आधारित छ । त्यसो भएकोले ईश्वर वा धर्मको सोंचले मानिसलाई एकांगी, अन्धो कनाई दिन्छ, सन्की हठी र अवैज्ञानिक बनाउँछ, पराश्रित, पंगु र अविवेकी बनाउँछ ।
यश जगतमा हामीले आज जुन धार्मिक उ’न्माद, साम्प्रदायिक दं’गा वा मतवाद वा धार्मिक अखडाहरुका व्यभिचार, भ्रष्टाचार हिं’साका खवरहरु सुन्न र देख्न पाइरहेका छौ वा धर्मको नाममा समाजमा जुन लु’ट देखिरहेका छौ वा धर्म जाति र लिंगको आधारमा जुन खालको मतवाद वा बैमन्यता देखिरहेका छौ यो के को प्रतिफल हो ? यसबारेमा बुझ्न जरुरी छ ।
हाम्रो समाजमा ईश्वरको अस्तित्वलाई प्रमाणिात गर्नका लागि यससित अन्य धेरै कपोल–कल्पनाहरु जोडिएका छन् । जस्तो भनौं –स्वर्ग र नर्कको कल्पना छ । जन्म र पुनर्जन्म, यहलोक र परलोकको कल्पना गरिएको छ ।आत्ममाको अमरत्वको कल्पना छ ।
यश क्रममा वेद, उपनिषद् आदि ग्रन्थहरुलाई दैवीय ग्रन्थ भनी घोषणा गरिएको छ । मानव जीवनका दु:ख सुखलाई भाग्यको खेल वा ईश्वरको लिला भनिएको छ ।
धर्म र यसमा आधारित संहिता वा रुढी नियमहरु, कर्मकाण्डहरु यति धेरै छन् र ती सबैले अलौकिक, अधिभौतिक स्वत्वको कपोल–कल्पना (Conception) लाई मानिसको मन मष्तिष्कमा बसाउने, हुर्काउने काम गरिरहेका छन् ।
त्यसो भएको हुनाले यहाँ के चर्चा गर्न जरुरी भएको छ भने–ईश्वरको सोंच ( Idea Of God ) मानव समाजमा कसरी र कहिले पैदा भयो ? के यो अनादि कालदेखि नै थियो ? आदि प्रश्न र जिज्ञासाकाबारेमा जवाफ दिनुपर्ने हुन्छ ।
ईश्वरको सोंच मानव समाजको विकासको धेरै पछिल्लो चरणमा मात्र देखा परेको हो भन्ने निचोड वैज्ञानिकहरुको छ । जबसम्म समाज वर्गहरुमा विभाजित भएको थिएन , सम्पत्तिको स्थपरता पैदा भएको थिएन, शासक र शासितहरुको नियन्त्रणमा मानव समाज आएको थिएन, त्यस वेलासम्म मानव जातिको मनमा ईश्वर पैदा भएको थिएन ।
जब आदिम समाजको अन्त्य भै दासस्वामी (दासमालिक) समाजको जन्म भयो, त्यही समयदेखि समाजमा ईश्वरको धारणा पैदा भएको भयो । अर्थात् मानव समाजमा वर्गको उदयसंगै ईश्वरको कपोल–कल्पित सोंच र धारणा पैदा भयो ।
शुरुमा मानिसको चेतना कम्जोर र अवैज्ञानिक थियोे । प्रकृतिमा घट्ने कुनै पनि घटनालाई तथ्यमा आधारित भएर सोच्ने र विश्लेषण गर्ने र निचोडमा पुग्ने क्षमता पनि छिपछिपे थियोे ।
आँधी, हुरी, बाढी पैरो, भूकम्प आउँदा, चट्याङ पर्दाका नियमहरुलाई उसले बुझ्न र जान्न सक्तैन्थियो र त्यस प्रकारका त्राषदिपूर्ण परिघटनाहरुलाई उसले प्रकृतिका सामान्य चालक नियमहरु प्रति अनभिज्ञ भएका कारण उसले यसलाई कुनै अदृश्य शक्तिले गराएको ह भन्ने ठहरमा पुगेर यो ईश्वरको लिला हो भन्ने निश्कर्षमा पुग्दथियो ।
यसै कारणका सिलसिलामा शुरुको मानिसले भाग्य, जन्म, पुनर्जन्म, स्वर्ग, नर्क आदिको काल्पनिक रचना गरेर सबैको सृष्टिकर्ता ईश्वर (भगवान) नै भन्ने सोचाइमा पुग्यो र ईश्वरले नै मानिसलाई जन्माएको हो भन्ने अवैज्ञानिक धारणाको विकास भयो ।
यसरी जगतकै सृष्टिकर्ता कुनै दैवी शक्ति छ भन्ने चिन्तनको धारणा मानव समाजमा स्थापित भए पश्चात् मानिसले दैवी शक्तिमा भर पर्न थाल्यो र ईश्वरलाई खुसी पार्नका लागि देवी देवताको पुजा आजा गर्ने, मठ मन्दिर बनाउने र वली पुजा गर्ने जस्ता घृणित र अवैज्ञानिक कार्यको शुरुवात भयो ।
यसै क्रममा मानव समाजमा धनी हुनु , गरीब हुनु पनि भाग्यको फल, ईश्वरको लिला हो, उच्च र निच हुनु , निरोगी र रोगी हुनु, बलियो र नरिबल हुनु पनि भाग्यको फल हो, ईश्वरको लिला हो भन्ने अमानवीय र अवैज्ञानिक तथा घृणित कार्य जस्तो कुरुप संस्कारको स्थापना गरियो ।
त्यस बेलाको मानिसले आफ्नो इच्छा पुरा गर्ने उद्श्येले र ईश्वरलाई खुसी तुल्याउनका लागि ढुंगा पुजा, मूर्ति पुजा गर्ने, त्यस क्रममा आगो पुजा, पानी पुजा, माटो पुजा, ढुंगा पुजा, नाक पुजा, काक पुजा, कुकुर पुजा, गौ पुजा, आकाश पुजा, धर्ती पुजा गर्ने जस्ता कुरुप संस्कृतिको स्थापना गरियो ।
यसैक्रममा मानव समाजमा अलि पराक्रम गरेका प्रसंसक बनेर हिन्दु धर्मशास्त्रमा आधारित रहेर शिव, पार्वती, कृष्ण, महादेव, सिता, राम, गौतम बुध्द जस्ता व्यक्तिहरुलाई ईश्वर, देवताको प्रतीक मानेर पुजा आजा गर्ने र श्राध्दा गर्ने व्यक्तिपुजाको आरम्भ गरेर सन्तुष्टि प्राप्त गर्न थालियो ।
यसरी जे गर्छन् भगवानले गर्छन् भन्ने ईश्वरीय चिन्तनको विकास गरियो । यी सबै कार्यहरु अज्ञानता र चेतनाका अभावले हुने गरेका थिए । त्यसैक्रममा शक्तिपिठको अबधारणा बनाएर मठ–मन्दिर बनाउने, पुजा, पाठ गर्ने र अन्धभक्तहरुको जमात बढाउने कामको थालनी गरियो ।
सामन्ती युगमा आएर यसले झनै विकास भयो । सामन्ती समाजमा त राजा महाराजाहरुलाई शासकका रुपमा स्थापना गरियो र राजा महाराजाहरुलाई ईश्वरको प्रतीकका रुपमा स्थापना गरियो । त्यसरी राजाहरुको नामको पछाडि देव राख्ने चलन बसालियो । नेपालका राजाहरुको नामका पछाडि देव राख्ने चलन बसालियो र उनलाई भगवानको दूत र प्रतीकका रुपमा परिभाषित गरियो ।
यसै क्रममा ठूलो मान्छेले जस्तोसुकै गल्ती गरे पनि विरोध गर्न नपाइने, गरेमा पाप लाग्ने र मरे पछि नर्कको बास हुने कुप्रचारको संस्कृतिको स्थापना गरियो । राजा भएका देशहरुमा यो प्रचलन कायमै छ ।
दास युगमा स्वेच्छाचारी मालिक वर्गबाट भयभीत भएका दासहरुले नै ती मालिकहरु वा शासकहरुले पूजा गरे, तिनको प्रशंसा गरे, तिनको स्तुतिगान गरे, तिनलाई स्वर्गका राजाहरुको दूत ठाने, वंश ठाने वा अवतार ठाने ।
जसरी अज्ञानता र भयको कारणले ईश्वरको सोच पैदा भयो, धर्मवारे पनि यही कुरा लागू हुन्छ । त्यसो भएको हुनाले यी दुबैको पृष्ठभूमि एउटै खालको छ । ईश्वरको अस्तित्वलाई सिध्द गर्नका लागि आध्यात्मवादको साहारामा धर्मले ठूलो भूमिका खेलेको पाइन्छ । त्यसो भएर नै धर्म र ईश्वरको गहिरो सम्बन्ध देखिन्छ ।
यसरी ईश्वरलाई स्थापित गर्ने धूनमा धर्मले नानाभाँतिका जडसूत्रहरुको निर्माण, नानाभाँतिका रुढी नियम र कर्मकाण्डको निर्माण गरेको छ, जसले भयंकर सामाजिक मानसिक जटिलता पैदा गराएको छ । यसै विषयलाई विश्लेषण गरेर वैज्ञानिक साम्यवादका सिध्दान्तकार दार्शनिक कार्ल माक्र्सले सबै प्रकारका धर्महरुलाई ‘अफिम’ हुन् भनेर सार निकाल्नु भएको छ ।
आजको विज्ञान र प्रविधिको युगमा पनि हाम्रो समाजमा आजसम्म पनि आध्यनत्मवादी रुढीबादी चिन्तन र सोच कायमै छ । यसको प्रमुख कारण अज्ञानता हो । यसकै उपजका रुपमा ईश्वरले नै मान्छे जन्माएको हो भन्ने धारणा र सोच बग्रेल्ती पाइन्छ ।
वास्तविकता र वैज्ञानिक कुरामा के हो भने ईश्वरले मान्छे जन्माएका नभई मान्छेले ईश्वर जन्माएका हो, कपोल कल्पित ईश्वरको स्थापना गरेको हो भन्नेमा कुरा आज विज्ञानले समेत प्रमाणित गरिसकेको छ । ( लेखक : नेकपा ( क्रान्तिकारी माओवादी ) केन्द्रीय पार्टी स्कुल विभागका सचिव हुन् ) ।



