ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता आयोजना हुने
पहिलो संस्करणको ललितपुर मेयर कप महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले ललितपुर महानगरपालिकासँगको सहकार्यमा मेयर कप महिला क्रिकेट आयोजना गर्ने भएको हो ।
क्यानले प्रतियोगिता आयोजनाका लागि मंगलबार ललितपुर महानगरसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ ।
सम्झौतासँगै प्रतियोगिता आयोजनाका लागि ललितपुर महानगरपालिकाले क्यानलाई २० लाख उपलब्ध गराउने छ ।
सम्झौता कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महिला क्रिकेट खेलाडीको प्रवर्द्धन र विकासमा टेवा दिने उदेश्यले सहकार्य गरिएको बताउनुभयो ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले नेपाली क्रिकेटमा सहयोगी हातको अभाव भईरहेको बताउदै ललितपुरको सहयोगलाई धन्यवाद दिनुभयो ।
प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छ । सहभागी टिम मध्ये एक टिम ललितपुर मेयर्स–११ रहने छ ।
राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिता टी–ट्वान्टी फर्म्याटको हुनेछ । टियु क्रिकेट मैदानमा हुने प्रतियोगिता चैतमा हुने बताईएको छ ।



