निशानले गर्दा बाँसबारीको सहज जित
राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा बाँसबारी क्लबले सहज जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा बाँसबारीले झम्सिखेल युथ क्लबलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
बाँसबारीको जितमा निशान सुनारले दुई गोल गरे । कमल खवास र अजय राजवंशीले एक एक गोल गरे ।
जितसँगै बाँसबारीले १० खेलमा २१ अंक जोडेको छ । बाँसबारी लिगको तेस्रो स्थानमा रहेको छ । झम्सिखेल १० खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।
यस्तै आइतबार नै भएको अर्को खेलमा श्रीकुमारी क्लबले जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको खेलमा श्रीकुमारीले नयाँबस्ती युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।
श्रीकुमारीलाई जित दिलाउन आशिष राईले दुई गोल गरे । पम्बा योल्मु र विवेक पुनले एक एक गोल गरे ।
नयाँबस्तीका विवेक गुरुङ, साजन राई र सुमन राईले एक एक गोल फर्काए ।
जितसँगै श्रीकुमारीले १० खेलमा ११ अंक जोडेको छ । नयाँ बस्ती १० खेलमा १२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।



