Logo

मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा भरिएको पानी सुन्दरी जल आइपुगो,बैशाखको दोस्रो सातादेखि घरघरमा पानी वितरण हुने


बहुप्रतीक्षित मेलम्ची खानेपानीको साढे २६ किलोमिटर सुरुङमा भरिएको पानी सुन्दरी जल आइपुगेको छ ।

शनिबार काठमाडौंको सुन्दरीजलमा आयोजित विशेष कार्यक्रमका साथ प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच थिचेर सुन्दरीजलमा पानी खसालिएको हो ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर सुरुङमा पानी परीक्षण गरेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले केही दिनभित्रै काठमाडौंवासीका घर घरका धारामा मेलम्चीको पानी झर्ने बताउनुभयो । लामो समयदेखि जारी वाग्मती सफाइ अभियानमा पनि मेलम्चीको पानीले सहयोग पुग्‍ने प्रधानमन्त्री ओलीको विश्‍वास थियो ।

पहिलो चरणमा काठमाडौंमा १५ हजार घरधुरीमा टेस्ट भइसकेको भन्दै प्रधानमन्त्री ओलीले दोस्रो चरणमा यांग्री र लार्केबाट पानी थपेपछि काठमाडौंलाई खानेपानी पुग्ने बताउनुभयो । सुन्दरीजलमा पानी आउनु नयाँ उचाइको सफलता भन्दै ओलीले काठमाडौंवासीलाई बधाई तथा शुभकामना दिनुभयो ।

त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले लोकप्रिय काम गर्न थालेपछि आफ्नै पार्टीका साथीहरुले प्रधानमन्त्रीबाट हटाउन लागेको आरोप लगाउनुभयो । २३ सिट जितेको कांग्रेससँग प्रधानमन्त्री बन्दिनुपर्यो भनेर एक हल बुढानिलकण्ठतिर लागेको उहाँको भनाइ छ ।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।

गत फागुन १० गते सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौँको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङमा पानी पठाइएको थियो ।

सुन्दरीजलम आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ । बैशाखको दोस्रो सातादेखि घरघरमा पानी वितरण हुने बताइएको छ । निर्माण सुरु भएको १२ वर्षपछि मेलम्चीको सुरुङबाट ल्याइएको पानी सुन्दरीजलमा आइपुगेको हो ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्