महेश राईले गर्दा खुमलटारको सहज जित

सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा खुमलटार युथ क्लबले सहज जित निकालेको छ ।
मंगलबार भएको खेलमा खुमलटारले पुल्चोक स्पोर्ट्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा खुमलटारलाई जित दिलाउन महेश राईले दुई गोल गरे । कप्तान सबिन केसी, आयुष घलान र मनिष शेढाईले एक एक गोल गरे ।
पुल्चोकका मिन बहादुर गुरुङ र किश्मत लिम्बुले एक एक गोल फर्काए । जितसँगै खुमलटारले ६ खेलमा १६ अंक जोडेको छ । पुल्चोकको ६ खेलमा १ अंक रहेको छ ।
यस्तै मंगबार नै भएको अर्को खेलमा नयाँबस्ती युवा क्लबले जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा नयाँबस्तीले मध्यपुर युथ एसोसिएसनलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
नयाँबस्तीको जितमा सचु गुरुङ र अबय धिमालले एक एक गोल गरे । मध्यपुरका भुपाल सिंह गुरुङले एक गोल फर्काए ।
कोरोना भाईरसको महामारीको कारण गत वर्षको चैतबाट रोकिएको बी लिग एन्फाले पुनः सुरु गरेको हो ।
लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ए डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम सी डिभिजनमा घटुवा हुनेछ ।