Logo

असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह- प्रधानमन्त्री ओली


बिश्व राई

काठमाण्डौ-प्रधानमन्त्री केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई संवादका माध्यमबाट मूलधारमा आउन आग्रह गर्नुभएको छ ।

७१ औँ प्रजातन्त्र दिवसका अवसरमा शुक्रबार सैनिक मञ्च टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शान्तिपूर्ण लोकतान्त्रिक प्रणालीप्रतिको आफ्नो आस्था एवं विश्वास बढाउन र त्यस अभ्यासलाई आत्मसात गरी इमान्दारिताका साथ अगाडि बढ्न आग्रह गर्नुभयो ।

लोकतन्त्र आइसकेपछि पनि अन्य बाटोबाट अघि बढ्न सकिन्छ भन्ने तथा रोज्ने प्रवृत्ति कायम रहेको उल्लेख गर्दै उहाँले नेपाली जनता त्यस्ता कुराबाट सतर्क हुनुपर्ने बताउनुभयो । बृहत्तर राष्ट्रिय हित र लोकतन्त्रको पक्षमा एक भएर अगाडि बढ्नुको बिकल्प नभएको उल्लेख गर्दै उहाँले कुनै पनि अलमलमा नपरी विगतका बलिदानलाई सम्झेर अगाडि बढ्न अपिल गर्नुभयो ।

प्रधानमन्त्री ओलीले जनसङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्दै नेपाललाई एकजुट बनाएर आगामी दिनमा सुन्दर भविश्य रचना गर्ने साझा प्रयास अगाडि बढाउनुपर्ने र त्यसका लागि हाम्रा चिन्तन र व्यवहार राष्ट्रिय हितमा केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।

संविधानको परिपालनामा सरकारको पूर्ण प्रतिबद्धता रहेको उल्लेख गर्दै उहाँले सरकारबाट लोकतन्त्रमा कुनै खतरा नरहेको प्रष्ट पार्नुभयो ।प्रधानमन्त्री ओलीले मुलुकलाई समृद्धिको मार्गमा अगाडि बढाउने, लोकतन्त्रको मूल्य र मान्यता स्थापित गराउने सन्दर्भमा असाधारण उपलब्धि हासिल गरिएको बताउनुभयो ।

समारोहमा नेपाली सेनाको हेलिकोप्टबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस–२०७७’ अंकित व्यानर र पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको अगुवाईमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नगर प्रहरीले मार्चपास गरेका थिए । त्यस्तै कलाकारहरूले राष्ट्रिय गीत प्रस्तुत गरेका थिए ।

समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश, उपप्रधानमन्त्री, सरकारका मन्त्री, संवैधानिक निकायका पदाधिकारी, नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिलगायतको उपस्थिति थियो ।

 

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्