पहिलो पटक विदेशी खेलाडी नेपालको महिला लिग फुटबलमा
राष्ट्रिय महिला लिग फुटबल बुधबारदेखि सुरू हुँदैछ। लिगको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब दशरथ रंगशालामा भिड्दैछन्।
नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन्। जसमा तीन विभागीय टिम र चार स्थानीय तहका टिम प्रतिस्पर्धामा उत्रनेछन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला लिगमा पहिलो पटक विदेशी खेलाडी आबद्ध गर्न पाइने नियम बनाएपछि विराटनगरले चार जना विदेशी खेलाडी भित्र्याएको छ।
चारै जना भारतीय खेलाडी हुन्। जसमा तीन जना झारखण्डका हुन् भने एक जना सिक्किमकी हुन्।
एन्फा कोरोनाकै कारण गत वर्ष महिला लिगको आयोजना गर्न पाएको थिएन। प्रतियोगिताको विजेताले रु १० लाख, दोस्रोले रु आठ लाख, तेस्रोले रु पाँच लाख तथा चौथो हुनेले रु तीन लाख प्राप्त गर्ने एन्फाले जनाएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान स्कुटर तथा विधागत उत्कृष्ट खेलाडीले जनही रु ५० हजार पुरस्कार प्राप्त गर्नेछन्।



