Logo

युरोप नेपालीको सपनाको देश तर यसरी ठगिन्छन् युवाहरु


युरोप धेरै नेपालीको सपनाको देश हो । पढेलेखेका युवाहरुमा स्वदेशमै उद्यम गर्नेमा भन्दा विदेश गएर मनग्गे कमाउने र धनी बन्ने सपना पाल्नु स्वभाविकै हो । आफ्ना सपना पूरा गर्न धेरै युवा ग’लत बाटोमार्फत विदेशिने गरेका छन् । विदेश जना गलत बाटो रोज्दा धेरै युवा द’लालको फन्दामा परेर घरबारविहीन समेत बन्‍न बाध्य छन् । दलाललाई लाखौं पैसा बुझाउँदा पनि आफूले भनेको देश जान नपाएपछि बल्ल उनीहरु ठगिएको मेसो पाउँछन् ।

यस्तै भएको छ मोरङ उर्लाबारीका ज्ञानेन्द्र तामाङलाई । उनले पोर्चुगल जान सन्त लामा घिसिङलाई चार लाख २० हजार बुझाए । सन्त लामा काठमाडौंमा ‘तामाङ फिल्म डेभलप्मेन्ट एन्ड रिसर्च सेन्टर’का सञ्‍चालक पनि हुन् । ज्ञानेन्द्रले मात्र होइन, ज्ञानेन्द्रसँगै अन्य नौजनाले पनि सन्त लामालाई चार लाख २० हजार रुपैयाँ बुझाए । ‘‘पैसा बुझाएको दुई वर्ष हुन लाग्यो,’’ ज्ञानेन्द्र भन्छन्, ‘‘नत विदेश जान नै पाइयो न आफूले बुझाएको पैसा फिर्ता ।’’

ज्ञानेन्द्रले पैसा बुझाउनुभन्दा पहिले सन्तसँग चिनजान थिएन । एक आफन्तलाई विदेश पठाएको थाहा पाएपछि उनी सन्तकोमा पुगेका हुन् । ‘‘प्रोसेस गर्नुअघि नै पैसा र पासपोर्ट चाहिन्छ भने, पठाउलान् नि त भनेर उनले भनेजसरी नै पैसा बुझाइयो,’’ उनले सुनाए । सन्तले वैदेशिक रोजगारी खुल्ने गरी पैसा बैंकमा नहाल्न भने । खुरुक्क मानेर उनले भने जसरी नै ज्ञानेन्द्रले पैसा बैंकमा जम्मा गरिदिए । पैसा बुझाएपछि सन्तले भेट्न त के फोन नै नउठाएको गुनासो गर्छन ज्ञानेन्द्र ।

बुझ्‍न खोज्दा पनि छिटो प्रोसेस गर्नुपर्ने नत्र कामको अवसर गुम्ने भनेपछि आफूहरुले केही नबुझी पैसा बुझाएको भन्दै उनी थप्छन्, ‘मैले त राम्रोसँग नै बुझ्न खोजेको थिएँ तर साथीहरुले तपाईंका कारण हाम्रो काम पनि ढिला भयो भनेर गुनासो गरेपछि हतारमै पैसा बुझाएँ ।’’ साउदी र दुबई जाँदा सोचेजस्तो कमाइ नभएका कारण आफूलाई युरोप जान मन लागेको ज्ञानेन्द्र बताउँछन् । नेपालमा कृषि  गरेको र पोर्चुगलमा पनि कृषि नै गर्न पाइने भनेकाले काम पनि सजिलो र पैसा पनि राम्रो कमाइ हुने भएकाले पोर्चुगल रोजाइमा परेको उनी बताउँछन् ।

यस्तै मोरङ उर्लाबारीकै तिलककुमार तामाङले आठ वर्ष कतारमा पसिना चुहाए । आठ वर्ष कतार बस्दा उनको खासै कमाइ भएन । नेपाल फर्किएर आफूसँग भएको थोरै पैसा लगानीमा उर्लाबारीमै व्यावसाय थाले । तर उनले सोचेजस्तो व्यवसाय चलेन । त्यसपछि उनलाई फेरि विदेश जाने लहड चलेको बताउँछन् । ‘‘कतारबाट नेपाल फर्किएपछि नेपालमा सानो व्यावसाय सुरु गरें तर सोचेजस्तो प्रतिफल भएन,’’ उनी भन्छन् ‘‘नेपालमा सोचेजस्तो नभएपछि भिजिट भिसामा पोर्चुगल जान पैसा बुझाएँ ।’’ पोर्चुगलमा तिलकका साथीहरु पनि छन् । उनीहरुले नै तिलकलाई पोर्चुगल पुगेपछिको बन्दोबस्त मिलाउने बताएका थिए । त्यसैले उनी पोर्चुगल जसरी पनि पुग्न पाए हुने भनेर भिजिट भिसामै जान लागेको बताउँछन् ।

‘‘हामीले अरु एजेन्टहरुसँग पनि कुरा गर्‍यौं । तर अरुले त्यतिमा नलैजाने बताए । त्यही भएरै सन्त लामालाई चार लाख २० हजार बुझाइयो,’’ उनले भने । पैसा बुझाएको दुई वर्ष हुँदा पनि न विदेश जान पाएको न त आफूले बुझाएको पैसा नै पाएको सुनासो गर्छन् । उनीसँगै पोर्चुगल जानका लागि इटहरीका देवराज अधिकारीले पनि पैसा बुझाएका छन् । उनी पनि भिजिट भिसामै पोर्चुगल जान सन्त तामाङलाई रकम बुझाएको बताउँछन् । नेपालबाट भिजिटमा जाँदा सजिलो हुन्छ भनेर पैसा बुझाएको उनी बताउँछन् ।

उनीहरु सँगै पैसा बुझाउने अन्य नौजनाले पनि बुझाएको पैसा पाएका छैनन् । न त विदेश जान पाएका छन् । आफूहरुसँग विदेश जान भनेर लाखौं ठगी भएको थाहा पाएपछि उनीहरुले वेदेशिक रोजगार विभागमा पुस ९ गते संयुक्त रुपमा मुद्दा दर्ता गराएका छन् । विभागका महानिर्देशक कुमार दहाल भने पछिल्लो समय भिजिट भिसाको नाममा धेरै नेपालीहरु ठगिएको बताउँछन् । वैदेशिक रोजगारीको लागि भनेर नखुल्ने गरी पैसा बुझाउँदा पीडितलाई कानुनी रुपमा न्याय दिन नसकिएको बताउँछन् ।

पछिल्लो समय म्यानपावर कम्पनीहरुले भन्दा व्यक्तिहरुले नै वैदेशिक रोजगारीका पठाउन भनेर ठगी बढेको उनी बताउँछन् । पछिल्लो समय भिजिट भिसाको नाममा धेरै नेपाली वैदेशिक रोजगारीमा जाने क्रम बढेको तथ्यांकले देखाउँछ । कोरोनाका कारण बन्द भएको उडान सञ्‍चालन भएपछि मात्रै २७ हजारको हाराहारीमा नेपालबाट भिजिट भिसामा विदेश गएको अध्यागमन विभागले जनाएको छ । धेरै नेपालीहरु भिजिट भिसामा विदेशिएर उतै बस्ने क्रम बढेपछि सरकारले भिजिट भिसामा विदेश जान कडाइ गर्न नयाँ नियम बनाउन तयारी सुरु गरेको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्