प्रतिनिधिसभा पुनःस्थापना गर्न असम्भब छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमनलाई रोक्न संसद् विघटन गरेर स्टेरिङ सोझ्याएको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आफू पक्षका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसद्भित्रको प्रतिगमनलाई रोक्न संसद् विघटन गरेर स्टेरिङ सोझ्याएको बताएका हुन् ।
पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले प्रतिगमनको तयारी गरिरहेकोले त्यसलाई रोक्न प्रतिनिधिसभा विघटन गरेको उनको जिकिर छ । ‘उहाँहरु प्रतिगमनकारी क्रियाकलाप गरिरहनुभएको थियो र प्रतिगमनतर्फको यात्रा गरिरहनुभएको थियो । खास प्रतिगमनको तयारी गरिरहनुभएको थियो । हामीले प्रतिगमन रोक्नु थियो । त्यसलाई ब्रेक लगाउनु थियो ।
आ’न्दोलनलाई भिरबाट तल खसाल्न खोज्नुभएको थियो । त्यसलाई रोक्नु थियो । हामीले स्टेरिङ सोझ्याउनु थियो । हामीले स्टेरिङ सोझ्याएका हौँ,’’ उनले भने । दुईतिहाइको सरकार ढाल्ने, पार्टी एकता भताभुङ्ग पार्ने र अस्थिरता निम्त्याउने प्रयासमा दाहाल–नेपाल पक्ष लागेको आरोप उनले लगाए ।
देशमा जनताको इच्छाअनुसारको काम गर्ने र जनतालाई माया गर्ने सरकार चाहिएको हुनाले संसद् विघटन गरिएको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले सभामुखले तीनओटा अधिवेशनअगाडि सरकारले राखेका प्रस्ताव प्रस्तुत नगरिदिएको र तीन वर्षदेखिका विधेयक समितिमा अड्काउने काम गरेको समेत बताए ।‘‘संसद्मा सरकारले निर्णयका लागि पेस गरेका प्रस्तावहरु प्रस्तुत हुँदैनन् । तीनओटा अधिवेशनअगाडि सरकारले राखेका प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदैनन् ।
तीन वर्षअगाडि देखि विधेयक समितिमा लगेर अल्झाइदिएको छ । समितिबाट अगाडि बढ्दैन । किनभने, सरकारलाई असफल देखाउन,’’ उनले भने, ‘‘यस प्रकारको स्थितिबाट देशलाई अगाडि बढाउनका लागि, लोकतान्त्रिक विधिबाट देशलाई अगाडि बढाउनका लागि, अस्वस्थ षड्यन्त्रको चक्रव्यूहमा देशलाई फस्न नदिनका लागि प्रतिनिधिसभा विघटन र नयाँ निर्वाचनको घोषणा गर्नुपरेको हो ।’’
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्न सम्भव नभएको जिकिर पनि गरे । बहुमतप्राप्त सरकार प्रमुखलाई संसद् विघटन गर्ने अधिकार संविधानले दिएको उनको दाबी छ ।