Logo

नेप्सेले इतिहास रच्दै उच्च विन्दुमा


सेयर बजारमा यो साता नेप्सेले इतिहास रचेको छ । बजार परिसूचकले इतिहास रचे पनि यो साता कारोबार रकम भने घटेको छ । यो साता बजार परिसूचक नेप्से ४८.६५ अंक (२.३९ प्रतिशत) ले वृद्धि हुँदा हालसम्मकै उच्च विन्दु २०८७.२८ अंकमा बन्द भएको छ । तर, यो साता कारोबार रकम भने घटेको छ ।

चार करोड ५१ लाख २८ हजार कित्ता सेयर किनबेच हुँदा २२ अर्ब ७६ करोड १६ लाख रुपैयाँबराबरको कारोबार भएको छ । यो साता कारोबार रकम ३४.४४५ प्रतिशतले घटेको हो । गता साता सेयर बजारमा ३४ अर्ब ७१ करोड ९० लाखको कारोबार भएको थियो ।

एक महिनाअगाडि ५३ महिना पुरानो रेकर्ड तोड्दै मंसिर १७ गते नेप्से २०७१.०३ अंकसम्म पुगेको थियो । त्यसपछि केही उतारचढाव कायम भए पनि नेप्सेले उक्त विन्दु पार गर्न सकेको थिएन । तर, सातको अन्तिम कारोबार दिन बिहीबार नेप्से २५ अंकमाथिले वृद्धि हुँदा ऐतिहासिक उचाइमा पुगेर बन्द भएको थियो ।

२०७३ असार १२ गते १८८१.४५ अंकसम्म पुगेको नेप्से गत आर्थिक वर्षमा ११०० अंकसम्म झरेको थियो ।

गत चैत ११ गतेबाट कोरोना नियन्त्रणको लागि भन्दै चार महिना लामो लकडाउनमा नेप्से पनि तीन महिनाभन्दा धेरै समय बन्द हुन पुग्यो । तर, लकडाउनकै बीच असारको मध्यपछि पने सेयर बजार खुल्यो । लकडाउनले गर्दा बैंकहरुबाट कर्जा माग नहुँदा बढेको तरलता र जसले गर्दा घटेको ब्याजदर तथा अन्य लगानीको अवसर नहुँदा लगानीको विकल्पको रुपमा पुँजीबजार मात्रै हुँदा अर्थतन्त्र प्रतिकूल हुँदा पनि सेयर बजार भने लगातार बढ्दै गयो ।

यही क्रममा गत मंसिर ११ गते नेप्सेले ५३ महिना पुरानो १८८१ अंकको विन्दु पार गर्दै अगाडि बढ्यो भने मंसिर १७ मा २०७१.०३ अंकसम्म पुग्यो । त्यसपछि उक्त विन्दुभन्दा तल नै एक महिनासम्म घुमेको नेप्सेले बिहीबार (हिजो) उक्त विन्दु पार गर्दै अगाडि बढ्यो ।

बजारलाई लिड गर्ने बैंकिङ र अन्य समूहमा देखिएको वृद्धिको सकारात्मक प्रभाव नेप्सेमा परेको हो । जसले गर्दा यो नेप्सेले ऐतिहासिक विन्दु कायम गर्न सफल भएको छ ।

यो साता नेप्सेमा व्यापार समूहको सूचक सर्वाधिक १६ प्रतिशतभन्दा माथि र उत्पादन समूहको सूचक १२ प्रतिशतभन्दा माथिले बढेको छ । त्यस्तै, अन्य समूहको सूचक साढे ६ प्रतिशतमाथिले वृद्धि हुँदा बैंकिङ सूचक पनि २.४४ प्रतिशतले बढेको छ । यसबाहेक लघुवित्तको सूचक करिब २ प्रतिशतले वृद्धि हुँदा हाइड्रोपावर र विकास बैंकसँगै होटेल र बिमा समूहका सूचक पनि घटेका छन् ।

सातामा ५ कारोबार दिनमा पाँच दिन नै कारोबार भएको बजारमा आइतबारबाहेक चारदिने बजार परिसूचक नेप्से बढेको थियो । गत साता ५१ प्रतिशत लाभांश घोषणा गरेको नेपाल लाइफले यो साता बजारमा कारोबार रकममा लिड गरेको छ ।

कम्पनीको एक अर्ब ८६ करोड ९३ लाख रुपैयाँको कारोबार हुँदा गत साता नै ३५ प्रतिशतभन्दा माथि लाभांश प्रस्ताव गरेको नबिल बैंकको १ अर्ब ५८ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै, एनआईसी एशिया बैंकको एक अर्ब ३१ करोड, शिवम् सिमेन्टको एक अर्ब २४ करोड, हिमालयन डिस्टिलरीको एक अर्ब १५ करोडको सेयर कारोबार भएको छ ।

यो साता नेप्सेमा ६ वटा कम्पनीको बजार पुँजीकरण एक खर्ब नाघेको छ । अघिल्लो साता बजार पुँजीकरण एक खर्ब नभएको नागरिक लगानी कोष र एनआईसी एशिया बैंक पनि यो साता बजार पुँजीकरणमा खर्बमाथि भएका कम्पनी बनेका छन् । यो साता बजार पुँजीकरणमा शीर्ष १० कम्पनीमा शिवम् सिमेन्ट आउँदा एनएमबी बैंक भने बाहिरिएको छ ।

नेपाल दूरसञ्चार कम्पनीको बजार पुँजीकरण सर्वाधिक एक खर्ब ८१ अर्ब २० करोड छ । त्यस्तै, नबिल बैंकको एक खर्ब ४८ अर्ब २८ करोड, नेपाल पुनर्बिमा कम्पनीको एक खर्ब, ३४ अर्ब ४० करोड, नेपाल लाइफको एक खर्ब २६ अर्ब १४ करोड, नागरिक लगानी कोषको एक खर्ब दुई अर्ब ९० करोड र एनआईसी एशिया बैंकको एक खर्ब एक अर्ब ९९ करोड बजार पुँजीकरण पुगेको छ ।

बजार पुँजीकरणको शीर्ष १० मा रहेका अन्य कम्पनीमा क्रमशः नेपाल इन्भेष्टमेन्ट बैंक, एभरेष्ट बैंक, शिवम् सिमेन्ट र ग्लोबल आईएमई बैंक रहेका छन् । यस्तै, यो साता नेप्सेमा गुराँस लाइफ इन्स्यारेन्सको नौ लाख ८५ हजार ४४६ कित्ता सेयर सूचीकृत भएको छ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्