Logo

विज्ञान प्रविधिको विकास र आजको मार्क्सवाद


-रमेश सुनुवार

अक्टोबर समाजवादी क्रान्ति मानवजातिको इतिहासमा एउटा महान घटना थियो । जुन आज भन्दा  करिब १०० अगाडि सन १९१७ को अक्टुबर २४ मा युरोपको सबैभन्दा पिछडिएको देश रुसमा भएको थियो । तर त्यो क्रान्ति सम्पन्न भईसकेपछि त्यो देश दुनियाँको सबैभन्दा शक्तिशाली र सबैभन्दा सम्पन्न मानिने देश अमेरिकासँग प्रतिस्पर्धा गर्न सक्ने मात्र होइन त्यसले रणनीतिक रुपमा सन्तुलनमा ल्याउन सक्ने एउटा महाशक्ति बन्न सफल भएको थियो । त्यसको कारण के थियो भने त्यो क्रान्तिले विगतका सम्पूर्ण सडे-गलेका मूल्य मान्यताहरुलाई सम्पूर्ण प्रतिकृयावादी तत्वहरुलाई र सम्पूर्ण विसंगति पूर्ण व्यवस्थाहरुलाई समाप्त पारेर एउटा उच्च स्तरको प्रगतिशील र जनवादी सामाजिक व्यवस्थाको स्थापना गरेको थियो । जसमा मानवले स्वतन्त्रपूर्वक आफ्नो क्षमताको उपयोग गरेर प्रगती गर्न सक्थ्यो सोभियतसंघको अभूतपूर्व प्रगति त्यसैको परीणाम थियो ।

अक्टोबर समाजवादी क्रान्तिको वैचारिक आधार मार्क्सवाद-लेलिनवाद थियो । माक्सवाद उन्नाइसौ शताब्दीसम्म मानवजातिले आर्जन गरेको सम्पूर्ण ज्ञानराशिको तार्किक संश्लेषनबाट बनेको दर्शन थियो, र लेलिनवाद नयाँ परिवेश अनुसार मार्क्सवादको थप विकास थियो जुनबेला अक्टुबर क्रान्तिको तयारी हुँदै थियो त्यसबेला उन्नाइसौ शताब्दीसम्मको मानव समाजको संश्लेषण मात्र पर्याप्त थिएन ।

बीसौं शताब्दीको आरम्भ सँगै नयाँ परिवेशको सिर्जना भएको थियो । त्यो नयाँ परिवेश थियो । एकाधिकारी पुँजिवाद त्यसको संश्लेषण गरेर लेनिनवादले समाजवादी क्रान्तिको लागी मार्गदर्शन गरेको थियो । अहिले पुन: नयाँ परिवेशको सृजना भएको छ । जसको संश्लेषनबिना समाजवादी क्रान्तिको तयारी गर्न सम्भव छैन, त्यो नयाँ परिवेश हो । विज्ञान प्रविधिको -विकास, बिज्ञान-प्रबिधि उच्च विकास आधुनिक युगको एउटा प्रमुख घटना हो । यसबाट मानव समाजको ईतिहासमा ठुलो परिवर्तन भएको छ, यसको वर्तमान चरण वैज्ञानिक प्राविधिक क्रान्ति हो ।

बीसौं शताब्दीको मध्यबाट विज्ञान र प्रविधिको विकास तिनीहरूको आपसी सम्बन्ध, उत्पादनसँग विज्ञान प्रविधिको सम्बन्ध र उत्पादन शक्तिहरूको सम्पूर्ण प्रणालीको विकासमा गुणात्मक परिवर्तन देखिन थाल्यो । जसलाई वैज्ञानिक प्राविधिक क्रान्तिको भनिन्छ । यो क्रान्ति हाम्रो शताब्दिको लागि एउटा महानतम परिघटना हो र यसको महत्व निरन्तर बढिरहेको छ । मानवजातिको ईतिहासमा विज्ञान, प्रविधि र समाजका उत्पादक शक्तिहरुको विकास यति उच्चस्तरमा कहिल्यै पुगेको थिएन संसारको बारेमा जरा गाडेर बसेका मान्यताहरूको खण्डन गर्दै वैज्ञानिक-प्राविधिक क्रान्तिले मानवजातिको प्रगतिलाई अत्यन्तै तीव्र बनाइदिएको छ ।

वैज्ञानिक-प्राविधिक क्रान्तिले मानवसमाजको सामु प्रकृतिको रुपान्तरणको लागि विशाल भौतिक सम्पदाको सृष्टिको लागि र मानवका सिर्जनात्मक योग्यताहरु बढाउनको लागि अद्भुतपूर्व सम्भावनाहरु सृजना गरेको छ । यसको प्रभाव समकालीन मानवको क्रियाकलापका सबै क्षेत्रहरुमा परेको छ ।

वैज्ञानिक-प्राविधिक क्रान्तिको अर्थ उत्पादक शक्तिहरूको समुच्च प्रणालीमा आमुल गुणात्मक परिवर्तन हो, जुन विज्ञान, प्रविधि र उत्पादनको विकासको एकीकृत प्रक्रियाको परीणाम हो । यसको आरम्भ सुरुमा स्वचालित यन्त्र, प्रमाणु र नाभिकीय उपकरणहरु तथा कम्प्युटरको निर्माण कृतिम भू-उपग्रहको प्रक्षेपण पूर्वनिदिर्ष्ट गुणहरू भएका पदार्थहरूको रासायनिक सश्लेषण, सूक्ष्म ईलेक्ट्रोनिक्सको खोजजस्ता अद्वितीय उपलब्धिहरुबाट भयो । आफ्नो विकासको क्रममा यसले उत्पादनको प्राविधिक आधारमा श्रमका औजारहरु र वस्तुहरूमा तिनीहरूको रुप र सारमा आमूल परिवर्तनलाई ल्याको छ ।

वर्तमान वैज्ञानिक प्राविधिक क्रान्ति कुनै अलग-अलग वैज्ञानीक खोजहरु अथवा प्राविधिक उपलब्धिहरूसँग सम्बन्धित छैन । यो क्रान्ति भौतिक उत्पादनका आवश्यकताहरुबाट उत्प्रेरित सम्पूर्ण ज्ञानभण्डारको चौतर्फी विकाससँग विज्ञानको प्रत्यक्ष उत्पादक शक्तिमा रुपान्तरणसंग तथा प्रविधि उत्पादन र समुच्च समाजको प्रगतिमा त्यसको बढ्दो भूमिकासँग सम्बन्धित छ ।

वैज्ञानिक प्राविधिक क्रान्ति उत्पादक शक्तिहरु विज्ञान र प्रविधिको विकासको प्राकृतिक तथा ऐतिहासिक प्रक्रियाको अनिवार्य र नियमसंगत चरण हो । यसको आरम्भ यान्त्रिक उत्पादनको सार्विक प्रगतिको कारणले भएको थियो त्यो त्यसको थप विकासको एउटा चरण हो ।

यो यान्त्रीक उत्पादनबाट स्वाचलित उत्पादनमा संक्रमणको सुचक हो । यसको तयारीमा सैद्धान्तिक ज्ञानको बिकसको महत्वपूर्ण स्थान छ । उन्नाइसौं शताब्दीको अन्त्य र बिसौ औं शताब्दीको आरम्भमा भएको प्रकृतिविज्ञानको क्रान्तिले यसको विराट प्राकृतिक तथा वैज्ञानिक पूर्वाधारको काम गरेको थियो । जुन सुक्ष्म जगतको खोजसँग र पदार्थको बारेमा पुरानो धारणाको खण्डन तथा प्रमाणुको संरचनासम्बन्धी नयाँ सैद्धान्तिक बिचारसँग सम्बन्धित थियो । त्यसैगरी गणित, रसायनविज्ञान ,जीवविज्ञान आदि विभिन्न विज्ञापनहरुमा प्राप्त गरिएका सफलताहरु पनि वैज्ञानिक प्राविधिक-क्रान्तिको लागि धेरै उपयोगी भए । वास्तब्मा प्राकृतिक विज्ञानहरूको विकासको उच्चस्तर नै तोय तत्व थियो, जसबाट विज्ञान-प्रविधिमा नयाँ छलाङ सम्भव भयो ।

उन्नाइसौं शताब्दीको अन्त्य र बिसौ शताब्दीको आरम्भमा विज्ञानमा एउटा क्रान्ति सम्पन्न भयो जुन ईलेक्ट्रोनको खोज एउटा तत्वको परमाणु अर्को तत्वको परमाणुमा रुपान्तरण तथा पदार्थ र शक्ति परस्पर सम्बन्धको उद्घाटनसँग सम्बन्धित थियो । फलस्वरूप बीसौं शताब्दीको मध्यमा भएको औद्योगिक क्रान्ति वैज्ञानिक तथा प्राविधिक क्रान्तिमा बदलीयो । यस अवधिमा प्राविधिक विकास केवल वैज्ञानिक आधारमा मात्र भयो र यसले उत्पादनका सबै शाखाहरुलाई तथा श्रमका सबै क्षेत्रहरुलाई समेट्यो । यो क्रान्तिले स्वयं विज्ञानलाई ज्ञानको उद्योग बनाइदियो । वैज्ञानिक-प्राविधिक क्रान्तीको प्रक्रियामा एउटा विकसित समाजवादी समाजको आधार निर्माण भयो ।

वैज्ञानिक प्राविधिक क्रान्तिकार परीणामहरु बिसौ शताब्दीको अन्तिम दशकमा प्रकट हुन लागेका थिए । आज यसका प्रत्यक्ष परिणामहरु यसप्रकार छन :-इलेक्ट्रोनिक्सको आधारमा उत्पादन प्रक्रिया र जीवनका सबै पक्षहरूको प्राविधिक प्रणालीहरूमा स्वचालनको प्रसार भएको छ । जसले तिनीहरूलाई एउटा स्वचलित प्रक्रिया बनाइदिएको छ । इलेक्ट्रोनिक्स र सञ्चारका नया साधनहरुले सूचनाहरूको विष्फोटको स्थिती सिर्जना गरिएका छन् र सूचनाहरूको प्रवाह अधिकारीक विश्वव्यापी हुँदै गइरहेको छ । जैवप्रविधि र जिन-ईन्जिनियरिङले जैविक प्रणालीहरूको उत्पादकत्वलाई अत्याधिक बढाइदिएका छन् । यो क्रान्ति परिणामस्वरुप निजी स्वामित्वका परिस्थितिहरूमा श्रमजीवीहरूको विशाल समुदाय श्रमका साधनहरुबाट अलग हुनु एउटा यथार्थ तथ्य बन्नगएको छ ।

त्यसैगरी प्राविधिक दृष्टिले विकसित देशहरु र अविकसित देशहरूको बीचको खाडल गहिरो हुँदै गइरहेको छ । त्यसकारण अब सामाजिक सम्बन्धहरुमा परिवर्तन आवश्यक भएको छ । वैज्ञानिक-प्राविधिक क्रान्तिका भौतिक आधार र परिणामहरूको समाजीकरण र तिनीहरूको सचेत नियमन आवश्यक भएको छ । वैज्ञानिक-प्राविधिक क्रान्तीको युगमा उत्पादक शक्तिहरूको विकासले गुणात्मक रुपमा नयाँ विशेषताहरु प्राप्त गरेको छ । (१)सबै प्रकारका उत्पादनहरुमा यन्त्रद्वारा क्रमश मानवश्रमको प्रतिस्थापन (२) विज्ञानको आधारमा प्रविधिको विकास तीर संक्रमण र (३) विज्ञान-प्रबिधि पत्यक्ष उत्पादक शक्तिमा रुपान्तरण वैज्ञानिक-प्राविधिक क्रान्ति त्यसबेला भयो जब प्रविधि-वैज्ञानिक ज्ञानको मुर्तरुप बन्यो र विज्ञानको विकासले प्राविधिक क्षेत्रबाट सहयोग प्राप्त गर्यो । फलस्वरुप बिज्ञान र प्रविधिको संयोजन एउटा सामान्य व्यवहार बन्नगयो । बिसौ शताब्दीको वैज्ञानिक-प्राविधिक क्रान्तिले विज्ञानको आधारमा प्रविधिको विकासलाई जन्म दियो ।

वैज्ञानिक-प्राविधिक क्रान्तिले त्यस युगलाई जन्म दियो । जसमा पदार्थको गतिका अधिक जटिल तथा सुक्ष्म रूपहरूको सचेत र वैज्ञानिक उपयोग प्रारम्भ भयो । ज्ञानका सबै क्षेत्रहरूको एकता, जसले उच्चस्तरमा विभिन्न प्रकारका ज्ञानहरुलाई नजिक ल्याउँदछ यो प्रक्रियाको अनिबार्य भाग बनेको छ वैज्ञानिक ज्ञानको सश्लेषणले वस्तुगत विश्वको वास्तविक द्वन्द्वात्मक एकतालाई अभिव्यक्त गर्दछ । जस्तो कि फ्रेडेरिक एङ्गेल्सले भनेका थिए ‘द्वन्द्वावाद्को प्रमाण प्रकृति हो।’

वैज्ञानिक प्राविधिक क्रान्तीको एउटा प्रमुख लक्षण के हो भने विज्ञान उत्पादक शक्तिको एउटा विशिष्ट अङ्ग बनेको छ र अत्यन्त उच्चदरमा विकास गर्न लागेको छ । एउटा लामो यात्रापछि धार्मिक अथवा सास्कृतिक तत्वहरुबाट अलग भएर बिज्ञान वर्तमान वैज्ञानिक प्राविधिक क्रान्तिको युगमा ज्ञानको उद्योगको रुपमा रुपान्तरित भएको छ र अर्थव्यवस्थाको सर्बाधिक ठुलो र सर्बाधिक गतिशील शाखा बनेको छ । जसको आफ्नो विशिष्ट उपयोग मूल्य छ र आफ्ना श्रमका उपरणहरु र साधनहरू छन् आज विज्ञानमा गरिने ब्यय समाजद्धारा मान्ने अनिबार्य एव विवेकपूर्ण ब्यय मानिन्छ ।

वैज्ञानिक प्राविधिक क्रान्तिबाट विज्ञान-प्रविधि विस्तारित पुनरुत्पादनको प्रमुख स्रोतको रूपमा रूपान्तरणले यस्तो अवस्था सिर्जना गरिदिएको छ । जसमा आर्थिक वृद्धिको दर तथा उत्पादनको मात्रा बिज्ञान-प्रबिधि विकासको स्तरमाथि निर्भर हुँदै गइरहेको छ । आज आर्थिक प्रगतिको सामर्थ्य बिज्ञान-प्रबिधिलाइ बढाउने सामर्थ्यको समरूप बन्नगएको छ ।

वैज्ञानिक प्रविधिको क्रान्तीको अर्को प्रमुख लक्षण के हो भने यो क्रान्तिद्वारा श्रम तथा प्राकृतिक साधनहरूको बचत यती ठूलो परिणाममा भएको छ कि त्यो विस्तारित पुनरुत्पादनको स्रोत बन्न गएको छ । वैज्ञानिक ज्ञानको मूर्तिकरण विस्तारित पुनरुत्पादनको प्रमुख आधार भएपछि पुनरुत्पादनको प्रक्रियामा दुईगुना गुणात्मक वृद्धि भएको छ । किनभने प्रथमत श्रमको बचतको मात्राले उत्पादनको वृद्धिको उच्च दरलाई सुनिश्चित गरिदिएको छ र दोस्रो बौद्धिक श्रमको विशाल मात्रामा बचतको प्रारम्भ भएको छ वास्तवमा स्वचालनद्वारा बौद्धिक श्रमको प्रतिस्थापनले विज्ञान र प्रविधिको विकासलाई बढी गतिशील बनाइदिएको छ।

वैज्ञानिक प्राविधिक क्रान्तिबाट विज्ञान-प्रविधि विस्तारित पुनरुत्पादनको प्रमुख स्रोतको रूपमा रूपान्तरणले यस्तो अवस्था सिर्जना गरिदिएको छ । जसमा आर्थिक वृद्धिको दर तथा उत्पादनको मात्रा बिज्ञान-प्रबिधि विकासको स्तरमाथि निर्भर हुँदै गइरहेको छ । आज आर्थिक प्रगतिको सामर्थ्य बिज्ञान-प्रबिधिलाइ बढाउने सामर्थ्यको समरूप बन्नगएको छ । आज वैज्ञानिक विश्वदृष्टिकोण सामाजिक चेतनाको निर्धारक तत्व बनेको छ, विचारका तार्किक विधिहरु प्रधान हुन गएका छन् र वैज्ञानिक सत्यहरुलाई सामान्य अवधारणाहरुका तत्त्वहरूको रुपमा स्वीकार गरिएको छ, फलस्वरूप वैज्ञानिक आधारमा सामाजिक परिघटनाको बारेमा जनधारणाको पुननिर्माण भइरहेको छ अब वैज्ञानिक दृष्टिकोण सम्पूर्ण उत्पीडित वर्गहरूको विशाल समुदायको विश्वदृष्टिकोण बन्दैगइरहेको छ । बिज्ञान-प्रबिधिको निर्णायक विकास भएपछि विश्वमा ठूलो परिवर्तन आएको छ । यो परिवर्तनलाई यसप्रकारको वर्णन गर्न सकिन्छ :
(१) नयाँ उत्पादक शक्ति आगमन,
(२) क्रांतिको नयाँ विधिको आवश्यकता र
(३) समाजवादको निकटता ।

(१) नयाँ उत्पादक शक्ति आगमन- मार्क्सवादको मूलकुरा इतिहासको भौतिकवादी धारणा हो । यो धारणअनुसार मानव समाजको आधार भौतिक तत्व हो, मानसिक तत्व होइन । यो भौतिक तत्वको अर्थ उत्पादक शक्ति हो । यो धारणाले मार्क्सवादलाईइ अन्य सम्पूर्ण दर्शनहरुबाट अलग गर्दछ । त्यसैगरी मार्क्सवादको उत्कृष्टता र वैज्ञानिक पनि यस्मै अन्तर्निहित छ । हरेक समाजिक व्यवस्थाको आफ्नै उत्पादक शक्ति हुन्छ । अलग्-अलग उत्पादक शक्तिबाट अलग्-अलग सामाजीक ब्यवस्थाको निर्माण हुन्छ । त्यसकारण उत्पादक शक्ती बदलिए पछी सामाजीक ब्यवस्था पनि बदलिन्छ नयाँ उत्पादक शक्तिले नयाँँ सामाजीक ब्यवस्थाको निर्माण गर्दछ। उत्पादक शक्तिको विकास अनुसार मानव समाजमा विभिन्न परिवर्तनहरु भएका छन् । प्राचीनकालदेखि वर्तमानकाल सम्म चारवटा सामाजिक व्यवस्थाहरु आइसकेका छन् । आदिम साम्यवादमा प्रकृति उत्पादक शक्ति थियो, दास व्यवस्थामा मानव- श्रम उत्पादक शक्ति थियो, साम्यवादमा जमिन उत्पादक शक्ति थियो र पुँजिबादमा पुँजी उत्पादक शक्ति थियो । अहिले नयाँ उत्पादक शक्तिको रुपमा बिज्ञान-प्रबिधि आएको छ र यसले नयाँ सामाजिक व्यवस्थाको निर्माण गर्न लागेको छ, जुन समाजवाद हो । नयाँँ उत्पादक शक्तिको रुपमा आएको विज्ञान प्रविधि र वर्तमान सामाजिक व्यवस्थाको रुपमा रहेको पूँजीवादको बीचमा अन्तरविरोध शुरु भएको छ । बिज्ञान-प्रबिधि पुँजीवादसँग मेल खाँदैन । यसले मानव-श्रमलाई विस्थापन गरेर अधिकांश मानिसहरूलाई दरिद्र बनाएको छ र थोरै मानिसहरूको हातमा सम्पूर्ण सम्पत्ति केन्द्रित गरेको छ । अहिले विश्वमा १० प्रतिशत मानिसहरुसँग ९० प्रतिशत मानिसहरूको भन्दा बढी सम्पत्ती छ । तर यो समस्याको कारण स्वयम विज्ञान- प्रविधिका विकास होइन बरु यसको कारण त निजी स्वामित्वमा आधारित पुँजीवाद हो । त्यसकारण यसको समाधान असिमित क्षमता भएको बिज्ञान-प्रबिधिलाई निजी स्वामित्वबाट मुक्त गरेर सम्पूर्ण समाजको स्वामित्वमा ल्याउनु हो । यसकालागि सामाजवादी क्रान्तिको आवश्यकता पर्दछ । बिज्ञान-प्रबिधिको लागि उपयुक्त सामाजिक व्यवस्था समाजवाद हो । किनभने समाजवादमा निजी स्वामित्व हुँदैन र उत्पादन नाफाको लागि नभएर उपभोगको लागि हुन्छ त्यसकारण बिज्ञान-प्रबिधि असीमित क्षमताबाट समाजका सबै मानिसहरु लाभान्वित हुन्छन् ।

(२) क्रांतिको नयाँ विधीको आवश्यकता-  उत्पादक शक्तिमा आएको परिवर्तनको परीणाम स्वरुप अब वर्गसंघर्ष वा क्रान्तिको विधि पनि परिवर्तन गर्न आवश्यक भएको छ । अहिलेसम्म समाजवादको निर्माण कार्य क्रान्ति सम्पन्न भएपछि मात्र गर्ने नीति अवलम्बन गरिएको थियो तर यसलाई अब बदल्नु आवश्यक भएको छ समाजवादको निर्माण कार्य क्रान्तिपुर्व नै गर्नु अनिवार्य भएको छ । जसबाट क्रान्तिका लागि सहज अवस्था सिर्जना होस किनभने पुरानो व्यवस्थाको समानान्तरणमा नयाँ व्यवस्थाको निर्माण भएपछि पुरानो व्यवस्था कमजोर हुँदै जान्छ र नयाँ व्यवस्था समृद्धि र बलियो बन्दै जान्छ फलस्वरुप एउटा सामाजिक क्रान्तिको माध्यमबाट पुरानो व्यवस्थाको अन्त्य र नयाँ व्यवस्थाको स्थापना हुन्छ ।

उत्पादक शक्तिको रुपमा विज्ञान प्रविधिको विकास भएपछि श्रमिकहरु उत्पादन क्षेत्रबाट विस्थापित भएका छन् । त्यसकारण अब पुँजिवाद व्यवस्था भित्र रहेर त्यसको विरुद्ध संघर्ष गर्न सम्भव छैन त्यसभन्दा बाहिर समानान्तरमा समाजवादको निर्माण गरेर मात्र त्यसलाई ढाल्न सकिन्छ । वर्तमान सामाजिक व्यवस्था पुँजिवादको विरुद्धमा नयाँ उत्पादक शक्ति विज्ञान-प्रविधिमा आधारित सामाजिक व्यवस्था समाजवादको निर्माण गर्नु वर्तमान युगको अनिवार्य ऐतिहासिक आवश्यकता हो । जब पुँजिबादको बिरुद्ध समानान्तर रुपमा समाजवाद अस्तित्वमा आउँछ तब तिनीहरूको बीचमा संघर्ष हुन्छ । यो संघर्षको कारण पुँजीवाद क्रमश दुर्बल तथा विघटित हुँदैजान्छ र समाजवाद सबल तथा संगठित हुँदैजान्छ । परिणामस्वरूप अन्त्यमा एउटा महान सामाजिक क्रान्ति (समाजवादी क्रान्ति) को माध्यमबाट पुँजीवादको पराजय र समाजवादको विजय हुनेछ ।

नयाँ सामाजिक व्यवस्थाको निर्माण नयाँ उत्पादक शक्तिहरुलाई नयाँ उत्पादन सम्बन्धमा संगठित गरेर आरम्भ हुन्छ । यस क्रममा पुरानो सामाजिक व्यवस्थामा विकसित नयाँ उत्पादक शक्तिलाई नयाँ उत्पादन सम्बन्धमा संगठित गरेर नयाँ सामाजिक व्यवस्था अन्तर्गत लाइन्छ । त्यसकारण नयाँँ सामाजिक व्यवस्था समाजवादको निर्माण नयाँ उत्पादक शक्ति बिज्ञान-प्रबिधिलाई समाजवादी उत्पादन सम्बन्धमा संगठित गरेर आरम्भ गर्नु पर्दछ यो कार्यभार सर्वहारा वर्गको हो र सर्वहारा वर्गलाई यस कार्यमा मागदर्शन गर्नु सम्पूर्ण कम्युनिस्टहरूको कार्यभार हो ।

(३) समाजवादको निकटता- उत्पादक शक्तिको रुपमा विज्ञान प्रविधिको विकासका वर्तमान युगको प्रमुख घटना हो यसले समाजवादको आधारलाई बदलिएको छ र नयाँ आधारमा समाजवादलाई अझ निकट तथा सम्भव बनाइदिएको छ । समाजवादको पुराना आधार मानवश्रम थियो यसको नयाँ आधार बिज्ञान-प्रबिधि हो, जुन मानवश्रमको तुलनामा धेरै क्षमतावान छ फलस्वरुप अब समाजवाद अति निकट भएको छ । समाजवादको पहिलो शर्त निजी स्वामित्वको अन्त्य हो ,विज्ञान प्रविधिले उत्पादन क्षेत्रबाट मानव श्रमलाई विस्तापित गरेर यो शर्तलाई पुरा गरेको छ निजी स्वामित्वको आधार मानवश्रम हो त्यसकारण उत्पादन क्षेत्रबाट मानवश्रम विस्थापित भएपछि निजी स्वामित्वको अन्त्य हुन्छ ।

समाजवादको दोस्रो सर्त मानवीय आवश्यकता पूरा गर्ने साधनहरूको प्रचुरता हो, आज बिज्ञान-प्रबिधिको असिमित तथा विशाल क्षमताबाट यो शर्त पूरा भएको छ । विगतमा मानवश्रमबाट यो असम्भव थियो फलस्वरूप विगतमा समाजवाद साकार हुन सकेन अब मानिसको लागि आवश्यक पर्ने गाँस बास र कपासको अतिरिक्त अन्य धेरै वस्तुहरू तथा साधनहरूको प्रचुरता सम्भव छ ।

त्यसैगरी समाजवादको तेस्रो शर्त समानता हो । मानव समाजमा श्रम- विभाजनको परिणामस्वरुप वर्गहरूको उदय भएको थियो वर्गहरूको उदयपछि मानिसहरूको बीचमा असमान्ताको सुरुवात भएको थियो विज्ञान प्रविधिले अब सबै कार्यहरुलाई सरल र समान बनाइदिएको छ, विशिष्टतालाई सार्विक बनाइदिएको छ र मानवको भूमिकालाई घटाइ दिएको छ । परिणामस्वरुप अब समाजमा भूमिकाको आधारमा मानिसहरूको बीचमा भेत रहेको छैन लिङ्ग, जाति, वर्ण, क्षमता, परम्परा, आदि निर्णायक रहेका छैनन् । सबै मानिसहरुको बीचमा समानताको अवस्था सिर्जना भएको छ । त्यसकारण अब वैज्ञानिक प्राविधिक क्रान्तिको आधारमा मार्क्सवादको सिर्जनात्मक विकास गर्न आवश्यक भएको छ । यसरी विकसित मार्क्सवाद नै आजको मार्क्सवाद हुनेछ, जसले वर्तमान विश्वमा समाजवादी क्रान्तिकोलागि शन्तिपूर्ण उत्पीडित वर्गलाई सही मार्गदर्शन गर्नेछ ।

Key Alternative Media

Best selling an amazon. Buy now ! good for you

प्रतिक्रिया दिनुहोस्