काठमाडौंमा प्रदेश १ को भेला गर्दै प्रचण्ड-नेपाल पक्ष
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रदेश-१ को पार्टी भेला आयोजना गरेका छन्।त्यसका लागि प्रचण्ड र नेपाल पक्षले प्रदेश-१ का आफू निकट जिल्ला अध्यक्ष र सचिवहरुलाई काठमाडौं बोलाएका छन्।
प्रदेश १ बाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यलाईसमेत भेलामा बोलाइएको छ। पार्टीको अवस्था र अहिलेको परिस्थितिबारे जानकारी गराउन भेला आयोजना गरिएको प्रदेश १ का पार्टी सचिव सुरेश राईले बताए।
‘अरूले विभिन्न फाउण्डेशनका नाममा भेला गरिरहेका छन्। हामीले पार्टीगत रूपमै आयोजना गरेको हो। ‘राईले भने, ‘हामीले मुख्यगरि पार्टीभित्रकै सवालहरुका बारेमा छलफल गर्ने हो। कस्तो अवस्था छ, हामीले के भूमिका खेल्ने हो भनेर नेताहरुले ओरिन्टेसन गर्ने कार्यक्रम छ।’
अपरान्ह १ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा हुने भेलालाई पार्टी अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेश गौतम र नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम छ।
यसअघि बागमती प्रदेशका जिल्ला अध्यक्ष र सचिवहरुको भर्चुअल भेला समेत प्रचण्ड-माधव नेपाल पक्षले गरिसकेको छ। पछिल्लो समयमा नेकपाभित्र गुटका भेला र बैठकहरु चलिरहेका छन् । प्रचण्ड–माधव नेपाल पक्षले विद्यार्थीको भेला समेत बिभिन्न प्रदेशमा गरिसकेको छ ।
संवैधानिक परिषद्सम्बन्धी सरकारले पछिल्लोपटक ल्याएको अध्यादेशसँगै नेकपा विवादले नयाँ मोड लिएको थियो। दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्षादेश फिर्ता लिने र संसदको विशेष अधिवेशन बोलाउन गरिएको सांसदहरूको हस्ताक्षर फिर्ता लिने प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालबीच सहमति भएको थियो।